धितोपत्र बोर्डका अध्यक्षको क्लिकले सफ्टवयर कम्पनीलाई ३५ लाख आम्दानी, हरायो सेमी अनलाइन



काठमाडौं । सरकारका सम्बन्धित निकायका पदाधिकारीसँगको मिलेमतोमा हुने अदृश्य ब्यापार र कारोबारको एउटा गतिलो उदाहरण सेयरको सेमी अनलाइन कारोबारमा देखिएको छ ।

पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले सफ्टवयर निर्माता र आपूर्तिकर्ता कम्पनीलाई एक बर्षमै ३५ लाख रुपैयाँ आम्दानी बढाइ दिएका छन् ।

गत बैशाख २ गतेदेखि सुरु भएको भनिएको अब्यवहारिक र प्रयोगमै आउन नसकेको सेमी अनलाइन प्रणालीले सेयर ब्रोकरको ब्याकअफिसमा प्रयोग हुने मण्डेला र ब्रोकर अफिस सपोर्ट सिष्टम (बोस) सफ्टवयर निर्माता र आपूर्तिकर्ता कम्पनीको आम्दानी मात्रै बढाइ दिएको हो ।

गत बैशाख २ गते बोर्डका अध्यक्ष डा. कार्कीले धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीको ब्रोकर अफिसमा आएर सेमी अनलाइन कारोबारको उद्घाटन गरेका थिए ।

‘उद्घाटन समारोहमा खासै मान्छेपनि थिएनन्, बोर्डका अध्यक्षले हतार हतार आएर उद्घाटन गर्नुभयो, सेमी अनलाइन कारोबारको लागि चाहिने फिचरहरु सफ्टवयर निर्माताले बनाइ सकेको पनि रहेछ, अध्यक्षले ल्यापटपमा एक क्लिक गर्नुभयो, उहाँले क्लिक गरेपछि सेमी अनलाइन कारोबारको समुद्घाटन लेखिएको देखियो, भएको यत्ति हो,’ ती लगानीकर्ताले भने ।

कसरी झ्वाम भयो ३५ लाख ?
सेयर कारोबारमा ब्रोकरले पहिलादेखि नै मण्डेला सफ्टवयर प्रयोग गर्थे । यो सफ्टवयर आपूर्तिकर्ता कम्पनीले प्रत्येक ब्रोकरसँग बार्षिम मर्मत सम्भार शुल्क (एएमसी) १० हजार रुपैयाँ लिन्थ्यो ।

तर, मण्डेलाले राम्रोसँग काम गर्न नसकेको र आवश्यक फिचर पनि नभएको भन्दै केही बर्ष अगाडि नेप्सेका केही उच्च अधिकारीहरुले ब्रोकरलाई बोस सफ्टवयर जडान गर्न दबाब दिए । सो समयमा नेप्सको प्रमुख कार्यकारी अधिकृत सिताराम थपलिया थिए । बोस सफ्टवयर नेप्सेका तत्कालिन प्रमुख कार्यकारी थपलिया र उच्च तहका कर्मचारी शम्भु पन्तको पनि लगानी भएको भनिएको सोर्स कोड कम्पनीले बनाएको थियो ।

नेप्सेको अनौपचारिक दबाबको कारण केही ब्रोकरले बोस सफ्टवयर जडान गरेका थिए । सो सफ्टवयर जडानको लागि ब्रोकरले प्रतिब्रोकर १ लाख रुपैयाँका दरले शुल्क पनि तिरेका थिए ।

तर, बोर्डका अध्यक्ष डा. कार्कीले ब्रोकर अफिसमा बोस सफ्टवयर प्रयोग भएको थाहा पाएपछि ती ब्रोकरलाई कारबाही गरिदिए र बोस सफ्टवयरमा डेटा सुरक्षा नभएको जस्ता अन्य केही कारण देखाएर प्रयोग गर्नै रोकिदिए ।

यो बेलासम्म आइपुग्दा नेप्सेका प्रमुख कार्यकारी अधिकृत थपलिया र बोर्ड अध्यक्ष डा. कार्कीबीच बोलचाल नै बन्द भइसकेको थियो । बोर्डमा डा. कार्की र नेप्सेमा थपलियालाई नियुक्त गर्ने अर्थमन्त्री डा. रामशरण महतले दुबै जनालाई मिलाउन पहल गरेका भएपनि त्यसले सार्थक परिणाम दिइरहेको थिएन ।

यस्तै अबस्थामा कुनै विशेष कारणले परिस्थिति परिवर्तन भयो । बोर्ड अध्यक्ष डा. कार्की बोस सफ्टवयरको प्रवक्ता जस्तै बने । उनले सो सफ्टवयर प्रयोगको लागि स्वीकृति दिए । र, उनले गत बैशाख २ गते सुरु गरेको भनिएको सेमी अनलाइन प्रणाली सोही बोस कम्पनीको पक्षपोषण गर्न भएको लगानीकर्ताहरुको भनाइ छ ।

बैशाख २ गते सुरु गरिएको भनिएको सेमी अनलाइनमा फिचर थपेर त्यसैलाई अनलाइन ट्रेडिङको सफ्टवयर बनाउने डा. कार्कीको भनाइ थियो । डा. कार्कीको यही भूमिकाको बीचमा आफूहरुबीच प्रतिस्पर्धा गरिरहेका मण्डेला र बोस सफ्टवयर निर्माता कम्पनी एक भए । उनीहरुले दुबै सफ्टवयरको फिचर एउटै बनाए ।

दुबै कम्पनी मर्ज भएपछि गत साउन १ गतेदेखि लागू हुने गरी ब्रोकरलाई एमबोस सफ्टवयर दिने भनिएको छ । मण्डेलाको एम थपेर एमबोस बनाइएको हो । बोर्ड अध्यक्ष डा. कार्कीले बोसलाई स्वीकृति दिएपछि सो कम्पनीले ब्रोकरसँग एएमसी वापत बार्षिक २५ हजार रुपैयाँ लिन्थ्यो । तर बोस सफ्टवयर प्रयोग गर्ने ब्रोकरको संख्या अझै पनि नगन्य नै छ ।

यी दुबै कम्पनी एक भएपछि बार्षिक एएमसी प्रतिब्रोकर ८० हजार रुपैयाँ बनाइएको छ । पहिला बोस वा मण्डेलामध्ये एउटा सफ्टवयर प्रयोग गर्न पाउने ब्रोकरले अहिले एउटै सफ्टवयर निर्विकल्प रुपमा प्रयोग गर्नुपरेको छ ।

मण्डेलाको प्रतिब्रोकर १० हजार रुपैयाँको दरले एएमसी तिर्दा ५० वटै ब्रोकरले सो सफ्टवयर प्रयोग गरे बार्षिक ५ लाख रुपैयाँ आपूर्तिकर्ता कम्पनीले पाउथ्यो । तर मण्डेला र बोस एक भएपछि प्रतिब्रोकर ८० हजार रुपैयाँ एएमसी तिर्नु पर्ने भएको छ । यसरी तिर्दा सबै ब्रोकरले गरेर एक बर्षमा ४० लाख रुपैयाँ सफ्टवयर निर्माता र आपूर्तिकर्ता कम्पनीले पाउने भएको छ ।

यता डा. कार्कीले उद्घाटन गरेको सेमी अनलाइनमा अहिलेसम्म ५ सय लगानीकर्ता पनि सहभागी नभएको बताइएको छ ।

‘अध्यक्षज्यूले सेमी अनलाइनको उद्घाटन भनेर क्लिक गर्नुभएको थियो, उहाँले भनेको सेमी अनलाइन त देखिएन, तर उहाँको एक क्लिकले सफ्टवयर निर्माता र आपूर्तिकर्तालाई यो बर्ष नै ३५ लाख आम्दानी बढाइ दिएको छ, अर्काे बर्षदेखि त झन् बढ्दै जाने नै होला नि,’ एक लगानीकर्ताले भने ।


क्लिकमान्डु