महत्वाकांक्षी योजना बोकेर अघि बढ्दै ऐतिहासिक विराटनगर महानगर




काठमाण्डौ । देशभरका स्थानीय तहमा के कसरी काम भइराखेको छ ? के गर्दैछन् जनप्रतिनिधिहरु ? नयाँ आर्थिक वर्ष २०७५/०७६ को शुरुवातबाट क्लिकमाण्डुले नयाँ स्तम्भ स्थानीय तह शुरु गरेको छ ।

स्थानीय तह स्तम्भमा आज ऐतिहासिक नगर बिराटनगर महानगरको हालखबर के छ त ? यहीबारेमा विशेष सामाग्री पस्केका छौं ।

विराटनगर प्रदेश नम्बर १ को एक मात्र महानगर हो । महानगरका मेयर हुन् भीम पराजुली, त्यसैगरी उपमेयरको पदमा छिन् इन्दिरा कार्की । मेयर पराजुलीको टिम महानगरमा आएको १ वर्ष पूरा भइसकेको छ ।

के–के भए त एक वर्षमा ?
विराटनगर महानगरका मेयर भीम पराजुलीका अनुसार सुशासन र समृद्धिको आधार भ्रष्टाचारमुक्त विराटनगर भन्ने मूल नारा सहित काम अघि बढिरहेको छ । मेयर पराजुलीको एउटै संकल्प छ–म आफूपनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न ।

मेयर निर्वाचिन भएर आइसकेपछि १०० दिनको कार्यक्रम अघि सारेको बताउँदै मेयर पराजुली भन्छन्– अस्तव्यस्त र खाल्डाखुल्डी भएको विराटनगर क्षेत्रको सडक पुर्ने राम्रो पार्ने काम गरें । आँखाको मोतीबिन्दुको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाएँ ।

छोरी पढाउ, छोरी बचाउँ अभियान चलाएर पहिलो सन्तान छोरी हुनेलाई ३ हजार प्रोत्साहन भत्ता उपलब्ध गराएको मेयर पराजुली बताउँछन् ।

आफूहरु निर्वाचित भएको १०० दिन भित्र अशक्त र ८४ वर्ष पुगेका बृद्धबृद्धालाई घरघरमा गएर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइएको पराजुली बताउँछन् । विराटनगरलाई प्रदेश नम्बर १ को अस्थायी राजधानी घोषणा गराउन महानगरका तर्फबाट विशेष पहल भएको मेयर पराजुलीको भनाई छ ।

विराटनगरमा सञ्चालित एडीबीको परियोजनालाई छिटो काम सक्नका लागि पहल गरेँ–मेयर पराजुली भन्छन् । ९ करोड लागत रहेको विराटनगरको बस टर्मिनलको काम गुणस्तरीय गराएको दाबी गर्दै उनले भने–यो काम गुणस्तरीय भयो भनेर संघीय सरकारबाट पुरस्कार पनि पाएका छौं ।

यही बीचमा विराटनगरलाई कसरी समृद्धशाली बनाउन सकिन्छ भन्ने सवालमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम अघि बढेको छ । मेयर पराजुली भन्छन्– राजनीतिलाई पेशा होइन, सेवाको क्षेत्र बनाउने प्रयासमा लागेको छु, म राजनीतिलाई पेशा बनाउँदिन, किनकि मेरो आफ्नो छुट्टै पेशा छ ।

आगामी योजना के के छन् त ?
विगत लामो समयदेखि हुन नसकेको कामलाई अघि बढाइदै छ । भारतीय दूताबासको सहयोग रहने शुशीला कोइराला नाटक घरको काम अब अघि बढेको छ । यो काम ४ करोडको लागतमा सम्पन्न हुनेछ ।

त्यसैगरी १९ करोडको लागतमा तारणीप्रसाद कोइराला आधुनिक सञ्चारग्रामको काम पनि अघि बढेको छ । विराटनगर क्षेत्रका ५ विद्यालयलाई नमूना बिद्यालयको रुपमा विकास गर्न ५०–५० लाख बजेट बिनियोजन गरिएको छ । उत्तर, दक्षिण र मध्ये क्षेत्रका १–१ विद्यालय गरी ३ वटा, संस्कृत विद्यालय १ र मदरसा विद्यालय १ लाई नमूना बिद्यालय बनाइनेछ ।

नगर प्रमुख पराजुली

मेयर पराजुलीका अनुसार पूर्वाञ्चल विश्वविद्यालयसँग मिलेर इञ्जिनियरिङ पढाईका थप कार्यक्रम सञ्चालन भएको छ । त्यस्तै विभिन्न स्थानका रहेका स्वास्थ्य चौकीको स्तर बृद्धि गरी अस्पतालका रुपमा विकास गरिएको छ । विराटनगरमा मेडिकल शिक्षाको सरकारी कलेज स्थापना गर्ने योजना बनिरहेको उनले सुनाए ।

के–के छन् गौरबका आयोजना
विराटनगरमा अन्तराष्ट्रियस्तरको सभागृह बनाउने योजना छ । २५ सय मानिस अट्ने सो सभागृहका लागि ३५ करोड बजेट बिनियोजन समेत भइसकेको छ । अहिले रहेको वीरेन्द्र सभागृहलाई मर्मत संहार गर्नका लागि ७ करोड बजेट बिनियोजन गरिएको मेयर पराजुलीले बताए ।

ऐतिहासिक र पौराणिक महत्वको विराट राजाको दरबारलाई जिर्णोद्धार गर्नका लागि डीपीआर बनाउन १ करोड बजेट बिनियोजन गरिएको छ । गोल्छा अर्गनाइजेशनका सुरेन्द्र गोल्छासँग सहकार्य गरी १ अर्बको परियोजना तयार गरिंदैछ ।

यसैगरी, विराटनगरमा भ्यूटावर निर्माणका लागि १ विगाह ७ कट्ठा जग्गाको व्यवस्थापन भइसकेको छ । संघीय र प्रदेश सरकार समेतको सहकार्यमा यो काम सम्पन्न गर्ने योजना रहेको मेयर पराजुली बताउँछन् ।

५ विगाह ७ कट्ठा क्षेत्रफलमा मेगासिटी पार्क निर्माण गर्ने योजना छ । निजी क्षेत्रसँगको साझेदारीमा निर्माण हुने सो रमणीय पार्कले पर्यटक भित्र्याउन सहयोग पुग्ने उनले बताए ।

प्रादेशिक वसपार्क निर्माणका लागि महानगरसँगै जोडिएको बुढीगंगा गाउँ पालिकामा २० विगाह जग्गाको व्यवस्था भइसकेको र विराटनगर क्षेत्रमा विगत २० वर्षदेखि रोकिएको रिङ रोड छिट्टै सञ्चालनका लागि पहल भइरहेको मेयर पराजुलीले बताए ।

रातीको समयमा पनि खेलकुद प्रतियोगिता सञ्चालन गर्न सकिने कभर्ड हल सहितको रंगशाला बनाउने, सहिद मैदान रंगशालालाई थप व्यवस्थित गर्ने, स्वरोजगार सिर्जनाको लागि तालिम केन्द्र सञ्चालन गर्ने योजना छ ।

विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने, प्रादेशिक र माउण्टेन उडान सञ्चालन गर्ने तथा भारत, बंगलादेश र भूटान उडानको व्यवस्था मिलाउन बिमानस्थल बिस्तारको काम भइरहेको समेत मेयर पराजुलीले बताए । रन वे बिस्तारको लागि जग्गा अधिग्रहण गरिएको र संघीय सरकारबाट प्राप्त ६८ करोड रकम बितरणको काम भइरहेको समेत उनले बताए ।

अबको ४ बर्षमा कस्तो बनाउने बिराटनगर ?
आफूहरु निर्वाचित भएर आएको १ वर्ष पुगेको छ, अब ४ वर्ष बाँकी छ । अबको ४ वर्षपछि विराटनगर राष्ट्रले गौरब गर्ने नगरका रुपमा विकसित हुने मेयर पराजुलीको विश्वास छ । उनका अनुसार स्वच्छ, शान्त, ऐतिहासिक, शिक्षा र स्वास्थ्यको पूर्ण सुबिधा सम्पन्न र भ्रष्टाचारमुक्त शहर बन्नेछ विराटनगर । पर्यटकलाई भित्र्याउने संरचना तयार हुनेछन्, थप औद्योगिक बाताबरण सिर्जना गरी उद्योग धन्दाहरु आकर्षित गराउन महानगरले विशेष पहल गर्ने मेयर पराजुलीको भनाई छ ।

काम गर्न के छन् अप्ठ्यारा ?
महानगरमा कर्मचारी पर्याप्त मात्रामा नभएर समस्या भइरहेको मेयर पराजुली बताउँछन् । संघीय सरकारको केन्द्रिकृत मानसिकता अझैपनि छ । संघीय सरकारले स्थानीय तहलाई स्थानीय सरकारको रुपमा काम गर्न दिनुपर्छ । मेयर पराजुली भन्छन्–संघीय, प्रदेश र स्थानीय सरकार मिलेर जानु पर्छ, कोही कसैको मातहतको निकाय होइन ।

विराटनगर महानगरपालिकाको संक्षिप्त विवरण
विराटनगर महानगरपालिका नेपालका ७ प्रदेश मध्ये प्रदेश नं. १ को मोरङ जिल्लामा छ । मोरङ जिल्लाको दक्षिण पश्चिम सिमानामा रहेर भारतको जोगवनी नाकासँग जोडिएको यो नगर देशकै दोस्रो ठूलो शहर तथा पूर्वाञ्चलको औद्योगिक, व्यापारिक तथा प्रशासनिक केन्द्रको रुपमा समेत परिचित छ ।

पूर्वमा कटहरी र जहदा गाउँपालिका, पश्चिममा केशलिया खोला, उत्तरमा वुढीगङ्गा र ग्रामथान गाउँपालिका तथा दक्षिणमा भारतको सिमानासँग जोडिएको यो नगर समतल भू—भागमा फैलिएको छ । स्थानीय नगरवासीहरुलाई सर्वसुलभ ढंगबाट सेवा सुविधा उपलब्ध गर्न गराउन भौगोलिक रुपमा जम्मा १९ वटा वडाहरुमा विभाजन गरिएको छ । २०६८ सालको जनगणना अनुसार विराटनगर महानगरको जनसंख्या २ लाख ५४ हजार छ ।

सम्पूर्ण मोरङ जिल्लाको कूल जनसंख्यामध्ये १९.७७ प्रतिशत मानिसहरुको बसोवास रहेको यस नगर औद्योगिक, व्यापारिक, शैक्षिक, स्वास्थ्य लगायतका नागरिकहरुलाई पुयार्उन पर्ने अत्यावश्यक सेवा प्रवाहको क्षेत्रहरुमा पूर्वाञ्चलकै अग्रणी शहरको भूमिका निर्वाह गर्दै आईरहेको छ ।


क्लिकमान्डु