तपाईँको भान्छाको फोहर अब बिजुली र कम्पोस्ट मल !



काठमाडौं । एक सातादेखि राजधानीको फोहोर संकलन हुन सकेको छैन् । फोहोर संकलन हुन नसक्दा राजधानीका सडक किनारमा थुप्रिएको फोहोरले राजधानी दुर्गन्धित बनेको छ ।

सडक किनारामा थुप्रिएको फोहोरले सरुवा रोग फैलिने खतरा बढाएको छ ।
उपत्यकाको फोहोर व्यवस्थापन गर्ने स्थान ओखरपौवाको सडक वर्खाको पानीले विग्रिएपछि फोहोर संकलनमा अप्ठेरो भएको छ ।

निजी क्षेत्रका फोहोर संकलक तथा काठमाडौं महानगरले बाटोको कारण बताउँदै हप्ता दिन यता फोहोर संकलन गरेका छैनन् ।

फोहोर संकलक घरमा आउन छाडेपछि राजधानीवासीले आफ्नो घरमा थुप्रिएको फोहोर सडक किनारामा थुपार्न थालेका छन् ।

सडक किनारमा थुप्रिएको फोहोरले पैदलयात्रु, सवारीसाधन तथा स्थानीयवासीलाई समेत अप्ठेरो भएको छ ।

राजधानीको फोहोर व्यवस्थापनमा समय समयमा देखा पर्ने समस्या अब समाधान हुने भएको छ । राजधानीको फोहार संकलन र व्यवस्थापन लामो समयदेखि चुनौतिको रुपमा रहेको थियो ।

काठमाडौं महानगरले सन् २००७ मा तीन वर्षका लागि लिएको ओखरपौवा क्षेत्रको क्षमताभन्दा धेरै फोहोर त्यहाँ जम्मा भईसक्दापनि नयाँ विकल्प खोज्न सकिएको थिएन ।

उपत्यकाका नगरपालिका र महानगरले निजी क्षेत्रसंगको अनौपचारिक सहयकार्यमा फोहोर संकलन गर्दै आएका छन् ।

राजधानीको फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउने भन्दै सरकारले सन् २०१२ देखि लगानी बोर्डमार्फत पहल गरेको थियो । आईतबार बसेको लगानी बोर्डको बैठकले राजधानीको फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने तय गरेको छ ।

बोर्डले ५ अर्बको लागत सहित निजी क्षेत्रको नेपवेस्ट कम्पनीलाई राजधानीको फोहोर व्यवस्थापनको जिम्मा दिने भएको छ । बैठकले परियोजना विकास सम्झौता स्वीकृत गरेको हो ।

सन् २०१२ देखि तयारी थालिएको काठमाडौं उपत्यका एकीकृत फोहोरमैला व्यवस्थापन परियोजनाको एक चरण सकिएको छ । प्राईभेट–पब्लिक मोडलको यो परियोजनाले हाल भईरहेको फोहोर संकलन तथा व्यवस्थापन भन्दा फरक तरिकाले काम गर्ने बताईएको छ ।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार परियोजनामा सम्झौता भईसकेपछि परियोजना व्यवस्थापनको जिम्मेवारी उपत्यकाका महानगर तथा नगरपालिकाले नै लिने छन् ।

उनका अनुसार उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको समस्याका कारण उपत्यकावासीले भोग्नु परेको समस्या अब भोग्नुपर्ने छैन ।

अहिले उपत्यकाबाट संकलन हुने फोहोरमा ७० प्रतिशत भन्दा धेरै फोहार पुनः प्रयोगयोग्य हुन्छ । तर, त्यो सबै फोहोर लगेर ल्याण्डफिल साईटमा फाल्ने गरिन्छ । यस बाहेक अहिले फोहोर व्यवस्थापन गर्दा फोहोर वर्गिकरण नगरिकनै व्यवस्थापन गर्ने गरिन्छ ।

२० वर्षका लागि अब नेपवेस्टले राजधानीको फोहोर संकलन र व्यवस्थापन गर्ने छ । एकीकृत फोहोरमैला व्यवस्थापन परियोजनाले अहिले उपत्यकामा फोहार संकलन गरिरहेका निजी क्षेत्र र महानगर र नगरपालिकासंग सहकार्य गरेर फोहरमैला व्यवस्थापनको काम थाल्नेछ ।

स्वीकृत भएको परियोजना विकास सम्झौता अनुसार परियोजना सम्झौता भएको तीन महिनाभित्र नेपवेस्सटले उपत्यकाका फोहोर संकलक, महानगर तथा नगरपालिकासंग सहकार्य गरिसक्ने बताएको छ ।

दुई वर्षभित्र फोहोर व्यवस्थापन गर्ने ल्याण्डफिल साईट र फोहोर रि–साईकल प्लान्ट जस्ता आवश्यक संरचना निर्माण गरिने छ । २० वर्षपछि यी सबै संरचनाहरु नेपाल सरकारलाई हस्तान्तरण गरिने छ ।

के के हुनेछ अब राजधानीको फोहोर संकलनमा ?

यसबाहेक नेपवेस्टले फोहोर संकलनको लागि प्रतिघर २ सय १९ रुपैयाँ शुल्क उठाउने छ । फोहोर संकलन तथा व्यवस्थानमा कुनै समस्या देखिएमा २४ घण्टा भित्र समस्या समाधान गर्नेछ । सम्झौता अनुसार काम भएमा अहिलेजस्तो हप्तौंसम्म सडकमा फोहोर थुप्रिने छैन ।

नेपवेस्टले उपत्यकाबाट संकलन गरेको फोहोरबाट ४ देखि ५ मेगावाट विद्युत उत्पादन गर्नेछ । यसबाहेक फोहोरबाट कम्पोष्ट मल, इन्धन तथा प्राकृतिक ग्याँस समेत उत्पादन गर्नेछ ।

नेपवेस्टले सडक, मन्दिर तथा अन्य सार्वजनिक स्थलको फोहोरपनि संकलन गर्नेछ । यसबाहेक उपत्यकाका नदी किनार र नदीपनि सफा गर्ने छ ।

नेपवेस्टले विद्युतीय फोहोर, मेडिकल फोहोर व्यवस्थापनका लागि छुट्टै संयन्त्र परिचालन गर्नेछ ।

उपत्यकाबाट संकलन भएको ८० प्रतिशत फोहोर पुनः प्रयोग गरिने छ, भने ल्याण्डफिल साईटमा २० प्रतिशत फोहोर मात्रै व्यवस्थापन गरिनेछ ।


क्लिकमान्डु