मोदी हुन् या मनमोहन, १ सय २० मानिसका लागि ‘अच्छे’ दिन
काठमाण्डौ । भारतमा एक अर्ब डलर भन्दा अधिक सम्पत्ति भएका १ सय २० मानिस छन् । भारतमा अमेरिका र चीनपछि धेरै अर्बपति छन् ।
यी १ सय २० अर्बपति भारतको होइन इन्डियाको ग्रोथ स्टोरीका ब्राण्ड एम्बेस्डर हुन् । यी मानिसको सम्पत्तिको राप र ताप सामान्य भारतीयहरुले टाढै बसेर हेरुन भन्ने कामना गरिन्छ । यी केही सय धनीहरुको सफलतामा आम भारतीय नागरिक रमाउन र खुशी मनाउन भन्ने कामना गरिन्छ ।
केही सयको संख्यामा रहेका यी धनीहरुको बिहेमा बलिउडदेखि हलिउडसम्मका स्टारको नाचगान हुन्छ । त्यही नाचगानलाई सार्वजनिक रुपमा टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिन्छ । ठूला नेताहरु यिनीहरुको बिहे समारोहमा गएर आर्शिवाद दिएर फर्किन्छन् ।
यिनै धनीहरुको सम्पत्तिको चमक देखेर देशका जनता आफुलाई भाग्यमानी ठान्न थाल्छन् । केही सीमित व्यक्तिको सफलतालाई सारा भारतको सफलताको रुपमा लिनु र हेर्नु भारतमा सजिलो छ । केही व्यक्तिको सफलतलाई सारा भारतको सफलता बनाउने परिपाटी भारतमा विकास गरिएको छ ।
अमेरिकामा इन्दिरा नूयी, बेलायमा लक्ष्मी मित्तल या सिलिकन भ्यालीका सत्या नडेलाको सफलतालाई पूरै भारतको सफलताको रुपमा लिने गरिन्छ ।
यी केही मानिसको सफलतामा रम्दै गर्दा हामी २५ करोड गरिब भारत मै रहेको कुरा भने भुल्छौ ।
केही मानिसले गरेको प्रगति र सफलताको आधारमा भारतको प्रगति र सफलता आङ्कलन गरिन्छ ।
अडानी र अम्बानी धनीको सूचिमा कति स्थान माथि उक्ले भनेर जान्न भारतीय उत्सुक हुन्छन् । यिनै केही नामको सफलता देखेर आफुहरुपनि सफल भएको ठान्छन ।
हालैको एक अध्ययनले भारतको अर्थतन्त्र फ्रान्सभन्दा अगाडि गएको देखायो । यो अध्ययनले भारतीय अर्थव्यवस्था विश्वको पाँचौ ठूलो अर्थव्यवस्था बनायो ।
भारतको सफलताको यो कथा ती २५ करोड मानिसलाई कसरी सम्झाउने, जो आजपनि बिहान बेलुका खानाको लागि मरिहत्ते गर्छन् ?
वास्तव मै यो देशको सफलता भन्दापनि पहिलेदेखि नै सफल भएका मानिसले पाएको थप सफलता मात्रै हो ।
विजय माल्या यस्तै एक अति सम्मानित अर्बपति थिए । यतिसम्म कि उनी आफुले चाहेको समयमा सांसद समेत भए । उनी जस्तै कयौँ अरु अर्बपतिपनि भारतीय राज्यसभामा छन् । उनीहरुका लागि पैसा कमाउनु मुस्किल भएपनि संसदमा पुग्नु र आफुले चाहेका मानिसलाई संसद बनाउनु सजिलो छ ।
यसको अर्थ यो होइन कि सबै अर्बपति भ्रष्ट छन् । “किङ अफ गुड टाईम्स” भनिने माल्या जस्तै सबै बिलाएर जानेछन् भन्न सकिदैन । तर, देशमा रहेका १ हजार मानिसले विश्वको पाँचौ ठूलो अर्थव्यवस्थाको हरेक क्षेत्रलाई नियन्त्रित गर्न सक्छन् ।
जसले भारतलाई पाँचौ ठूलो अर्थव्यवस्था बनाए ती मानिस नै हुन् राजनीतिक पार्टीलाई चन्दा दिने ।
कांग्रेस या भाजपा (भारतीय जनता पार्टी) जुनसुकै पार्टी सत्तामा भएपनि यिनीहरु आफ्नो काम सहजै गर्न सक्छन् । सीमित धनीहरु र राजनीतिक नेताबीच हुने यो गुटबन्दीलाई नै “क्रोनी क्यापटालिजम” भनिन्छ । जबसम्म नेता र धनीबीच हुने यो सम्झौता चलिरहन्छ तबसम्म “सबैको साथ सबैको विकास” मात्र उखान हुनेछन ।
रिलायन्सलाई राफेलको ठेक्का दिनु, जियो र पेटिएमलाई सरकारले बढावा दिनु क्रोनी क्यापिटलिजम कै उदाहरण हुन् । भारत सरकारको यस्तो रवैयाप्रति विपक्षी दल विरोधमा छ । तर, विपक्षीपनि चोखो भने छैन अम्बानी, विजय माल्या र सुब्रत राय पनि कांग्रेसको सरकार मै हुर्केका हुन् ।
पूरा विश्वभर अहिले नेता र धनीबीचको यो साँठगाँठ चलिरहेको छ । विषेश गरी भारतमा राजनीतिक नेताहरु धनीहरुको लागि सजिलो वातावरण बनाईरहेका छन् । धनीहरुकै लागि भनेर ऋणमा छुट, सस्तो जग्गा र करमा छुट दिने गरिन्छ । किनकी यो देश यिनीहरु कै अर्थतन्त्रले अगाडि बढाएको हो । देशका हजारौँ मानिसलाई यिनैले रोजगार दिएका छन् । देशलाई विश्वको पाँचौ ठूलो अर्थव्यवस्था पनि यिनिहरुले नै बनाएका हुन् । तसर्थः देशले यिनीहरुको गुनको बदला चुकाउनुपर्छ । देश यिनीहरुप्रति आभारी हुनुपर्छ ।
भारतमा रहेका धनी लगातार धनी भईरहेका छन् । धनीहरुको दबदबा आर्थिक क्षेत्रमा मात्रै छैन् । अन्य क्षेत्रमापनि यिनीहरुको दबदबा बढिरहेको छ । धनी र गरिबबीचको खाडल झन् ठूलो बन्दै छ ।
देशका करोडौँ मानिस र केही अर्बपतिको स्वार्थ र हित एउटै हुन सक्दैन । यी दुई वर्गकोे हितको सँधै टकराव हुन्छ । कहिलेकाही सरकारले धनी र गरिब मध्ये एउटा छान्नुपर्ने हुन्छ । तर, दुर्भाग्य सरकार जहिलेपनि धनिलाई छान्छ । यदि सरकारले जनतालाई छानेको भए धनी र गरिबबीचको खाडल केही कम हुन्थ्यो ।
जाती, धर्म, क्षेत्र र वर्गमा विभाजित भएको छ भारत । समाजमा देखिएको असमानतालाई धेरै मानिस सामान्य रुपमा लिन्छन् । आर्थिक असमानतालाई मानिस सहजै स्वीकार गर्न थालेका छन् ।
कसैले यो व्यवस्थाको विरोमा बोल्यो या प्रश्न गर्यो भने मानिस उसलाई वामपन्थी भन्न थाल्छन् । सरकारपनि मजदुरको तलब दशदेखि बीस रुपैयाँ भन्दा माथि बढाउन इच्छुक देखिदैन । जसको परिणामतः देशमा आर्थिक र सामाजिक असमानताको चुली बढ्दै जान्छ ।
सन् २००४ देखि २०१४ सम्म देशमा विकासका चर्चा र विकासका तथ्याङ्क लगातार मिडियामा छाए । काँग्रेसले १० प्रतिशत ग्रोथ रेटको कुरा गरेको थियो, भाजपाले विदेशी लगानीको कुरा गरेको थियो । तर, यो यही देश हो जहाँ मानिस भोकले मरेको समाचार निरन्तर आईरहन्छ ।
इकोनोमिक्स टाईम्सका अनुसार भारतको कुल अर्थव्यवस्थाको ५५ प्रतिशत हिस्सा १० प्रतिशत मानिसको कब्जामा छ ।
१९९१ मा भारतले उदार अर्थव्यवस्थाको ढोका खोल्ना साथ देशमा रहेका धनीको धनमा अत्याधिक बृद्धि भएको थियो । मध्यम वर्गको आयपनि बृद्धि भयो । करोडांै मानिस गरिबीको रेखाभन्दा माथिपनि आए ।
सन् २०१४ सम्म आईपुग्दा भारतका ३९ करोड गरिब मानिसको आम्दानी एक प्रतिशत धनीको कमाई भन्दा ३३ प्रतिशतले कम भयो । तर, यही अवधिमा एक प्रतिशत धनीहरुको कमाई पाँच गुनादेखि १० गुनाले बृद्धि भयो ।
धनी र गरिबबीचको खाडल पैसामा मात्रै होइन, शिक्षा स्वस्थ्य जस्ता आधारभूत आवश्यकतामा पनि देखिएको छ । यो असमानाता मानवताको विरुद्ध मात्रै छैन यही असमानताले धनी र गरिबबीचको बलियो पर्खालको कामपनि गरेको छ ।
भारत पाँचौँ ठूलो अर्थव्यवस्था बनेपनि १ सय २० करोड मानिसको आय जबसम्म १ सय २० अर्बपतिको समान हैसियतमा पुग्दैन, तबसम्म भारत फ्रान्सजस्तो देखिने छैन । मात्रै तथ्याङ्कमा अगाडि जानेछ ।(बीबीसी हिन्दी सेवाबाट अनुवाद)