यसकारण पो डुबेको रहेछ प्रधानमन्त्री ओलीको गृहजिल्ला भक्तपुर !



बुधबार रातभर परेको पानीले भक्तपुर डुबानमा पर्यो । भक्तपुरको मध्यपुर थिमी नगरपालिका, सूर्यविनायक नगरपालिका र भक्तपुर नगरपालिका क्षेत्रका अधिकांश स्थान डुबानमा परे । भक्तपुरको प्रमुख खोला हनुमन्तेमा पानीको बहाब उच्च भएपछि खोलाबाट बाहिरिएको पानीले भक्तपुर डुबानमा पर्यो ।

हनुमन्ते खोलाबाट बाहिरिएको पानीले बालकोट, कौशलटार, थिमी, राधेराधे, सल्लाघारी, सिर्जनानगर, निकोसेरा, दुवाकोट र जगाती क्षेत्र डुबानमा परे । बाढीमा परेका १ सय बढी मानिसलाई उद्धार नै गर्नु पर्यो । ५ सय घरपरिवार विस्थापित भए ।

तराई तथा पहाडका जिल्लामा बाढी र पहिरो जाँदा उद्धारको पहिलो प्रयास थाल्ने राजधानी नै बिहीबार उद्धारका लागि सहयोग माग्न जुट्यो ।

जापान सरकारको सहयोगमा बनेको ६ लेनको सूर्यविनायक तीनकुने सडखण्डभन्दा ४ फिट अग्लो बस्तीसम्म हनुमन्ते खोलाको बाढी पसेको थियो । बाढीले मध्यपुर अस्पतालको विद्युत अवरुद्ध हुँदा अस्पतालमा रहेका बिरामीपनि अन्यत्रका अस्पतालमा स्थानान्तरण गरिएको थियो ।

राजधानी मै अचानक कसरी यति ठूलो बाढीको समस्या किन भयो ? यो चासोको विषय बनेको छ । बाढी तथा पहिरोमा सुरक्षित मानिने राजधानी डुबानमा परेपछि सहरी संंरचना र विकासको मोडलमा प्रश्न उब्जिएको छ ।

पानीले घर भत्काउँदा भक्तपुरमा ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भक्तपुरको बाढीमा परी ३ जना घाईते पनि भएका छन् । यस बाहेक भक्तपुरमा लाखौँको क्षति भएको छ ।

भक्तपुरमा देखिएको डुबानले हाम्रो सहरी संरचना निमार्णमा त्रुटि देखिएको हो ? सहरी तथा पूर्वाधार विज्ञसँग क्लिकमाण्डुले गरेको कुराकानी:

किशोर थापा, सहरी विज्ञ

असार २८ गते भक्तपुरमा गएको बाढी अप्रत्यासित थियो । राजधानी मै यतिठूलो बाढी जानसक्छ भनेर साधारण मानिसले कल्पनापनि गरेका थिएनन् ।

तर, सहरी संरचना क्षेत्रमा काम गरिरहेका विज्ञले भने राजधानीको नदी अतिक्रमणले कुनैदिन सहर नै डुबानको खतरामा पर्ने अनुमान गरेका थिए । र, जसको परिणाम भक्तपुरमा देखियो पनि ।

हामीले सहर बसाउँदा वा मानव बस्ती बसाउँदा नदी किनार र डुबान क्षेत्रमा पनि बस्ती बसायौँ । पहिलो गल्ती हामीले नदी किनारमा बस्ती बसाएर गर्यौ । होचो तथा बाढी जान सक्ने डोल क्षेत्रमा मानव वस्ती बसाउनु नै गलत काम हो ।

बस्ती बसाएपछि हामीले पानीको निकासको लागि आवश्यक संरचना निर्माण गरेनौं । बस्ती रहेका अधिकांश क्षेत्रमा ढलान गर्यौँ, सडक पिच गर्यौँ ।

ढलान र पिच सडकको कारणले गर्दा बर्खाको पानी जमिनले सोस्न पाएन । बर्खाको पानी जमिनभित्र नगएपछि त्यो पानी सतह मै रहन्छ । यही सतहमा रहेको पानीले निकास नपाएपछी बाढीको खतरा बढ्छ ।

अर्कोतर्फ हामीले नदीको प्राकृतिक बहावलाई रोक्दै, छेक्दै संरचना निर्माण गर्यौँ । कतिपय स्थानमा त नदीलाई छोपेर पनि सडक र संरचना बनायौं । अन्य समयमा नदीमा पानीको बहाव र मात्रा थोरै देखिएपनि बर्खामा हाम्रा नदी तथा खोलामा पानीको अत्याधिक बहाब हुन्छ भन्ने कुराको हेक्का नगरिकनै हामीले संरचना निर्माण गर्यौँ ।

अब बन्ने नयाँ सहरमा हामीले पानीको उचित निकास र नदी अतिक्रमणमा बन्देज नलगाउने हो भने ती शहरपनि डुबानको उच्च जोखिममा रहन्छन् ।

भक्तपुरको हनुमन्ते नदी अत्याधिक अतिक्रमण भएको नदी हो । नदीले आफ्नो प्राकृतिक बहावमा बग्न नपाएपछि स्वभाविक रुपमा नदीबाट बाहिर पानी आउँछ । राजधानीमा वा उपत्यकामा यसअघि बाढी आउँदैन थियो भन्ने होइन । पहिले पनि बाढी आउथ्यो ।

तर मानव वस्तीमा पस्ने गरी आउँदैन थियो । त्यतिखेर नदी अतिक्रम गरिएको थिएन । नदी किनारमा मानव वस्ती थिएन, ठूला र खाली फाँट थिए, जहाँ पानीले प्राकृतिक रुपमा बग्न पाउँथ्यो ।

अहिले यो समस्या भक्तपुरमा देखिएको छ । तर, राजधानीको धेरै नदीको अतिक्रमण गरिएको छ । राजधानीको धेरै क्षेत्र यस्तै बाढीको जोखिममा छन् । सामाखुसी क्षेत्र, विष्णुमती किनार, कपन, चावहिल क्षेत्रपनि बाढीको जोखिममा छ । त्यो क्षेत्रमा अत्याधिक नदी अतिक्रमण गरिएको छ ।

त्यसमाथि राजधानीमा कतैपनि पानी निकासको व्यवस्थित बाटो छैन् । नदी साँघुरिदै गएका छन् । धोविखोला किनारका वस्तीपनि जोखिममा छन् । गोदावरी भएर बग्ने टोड्कु खोला, इमाडोल क्षेत्र र बल्खु क्षेत्रपनि डुबानको खतरामा छ ।

बर्खाको समयमा यी क्षेत्रका बासिन्दाले अब उच्च सतर्कता अपनाउनु पर्छ । सहरी क्षेत्रमा फ्ल्यास फ्लडको खतरा हुन्छ । कहाँ र कहिले बाढी जान्छ अनुमान गर्न सकिदैन् । अव्यस्थित संरचना, पानी निकासको अभाव र अत्याधिक नदी अतिक्रमणले राजधानीका नदी आसपासका धेरै क्षेत्र डुबानको जोखिममा छन् ।

सरकारले अब देशका धेरै स्थानमा नयाँ सहर बसाउने योजना बनाईरहेको छ । सहर बसाउँदा हामीले भक्तपुरबाट धेरै कुरा सिक्नुपर्छ । सकेसम्म नदि किनार र डोल क्षेत्रमा बस्ती नबसाउने । अग्लो क्षेत्रमा बस्ती बसाउने र होचो क्षेत्रलाई सडक, पार्क र कृषिका लागि प्रयोग गर्नुपर्छ । सहर विकास गर्दा पर्याप्त मात्रामा पानीको निकासको व्यवस्था गर्नुपर्छ ।

अब बन्ने नयाँ सहरमा हामीले पानीको उचित निकास र नदी अतिक्रमणमा बन्देज नलगाउने हो भने ती शहरपनि डुबानको उच्च जोखिममा रहन्छन् ।

सूर्यराज आचार्य, पूर्वाधार विज्ञ

पहिलो कुरा हाम्रो देशमा मौसमी बर्षा हुने गर्छ । बर्षभरी पर्ने पानी दुईदेखि तीन महिना मै पर्ने गर्छ । मौसम विज्ञान अनिश्ति विज्ञान हो । तसर्थः सहर बसाउँदा वा बस्ती विकास गर्दा मात्रै होइन कुनैपनि प्रकारका संरचना निर्माण गर्दा निकै होसियारी अपनाउनुपर्छ ।

संरचना निर्माण गर्दा ५० देखि ६० वर्षको बाढीको तथ्याङ्क, पहिरोको तथ्याङ्क, भूकम्पको तथ्याङ्क केलाउनु पर्ने हुन्छ । तर, हामी कहाँ बाढीको तथ्याङ्क पर्याप्त भेटिदैन ।

यस्तो अवस्थामा प्राविधिकले स्थानीय बुढापाका मानिसँग सहयोग लिन सक्छन् । संरचनाहरु निर्माण गर्दा फ्लड साईकलमा ध्यान नदिँदा अप्रत्याशित रुपमा यस्ता घटना घट्ने गर्छन् ।

पूर्वाधार निर्माण र विकासको क्षेत्रमा काम गर्ने सरकारी निकायको पनि कमजोरी यहाँ देखिन्छ । सहरमा धेरै प्रकारको संरचना बनाउनु पर्छ । सहरमा मानिसको प्रवाहपनि धेरै हुन्छ । यी सबैलाई ध्यानमा राखेर सरकारी निकायले विपद्को पूर्वानुमान र पुराना तथ्याङ्क केलाउन नसक्नु कमजोरी हो ।

सहर विकास गरेपनि पानी निकासको बाटो भने निर्माण गर्न हामी चुक्यौ । सहरलाई क्रंक्रिटले मजबुत बनायौं । अनि त्यही क्रंक्रिटले गर्दा बर्खाको पानी जमिनभित्र जान पाएन । पानी प्राकृतिक रुपमा जमिन भित्र जान नसकेपछि डुबान भएको हो ।

अर्कोतर्फ सहरमा मानिसले पौष, माघ वा नदीमा पानी कम हुने समयमा जग्गा खरिद गर्छन् र घर बनाउँछन् । यो सयमा नदीमा पानीको स्तर कम हुन्छ । पानीको स्तर कम देखेर नदी मिचेर संरचना निर्माण गरिन्छ ।

तर, बर्षाको समयमा नदीमा पानीको बहाब बढ्छ । बढेको पानीको लागि निकास भने पर्याप्त नभएपछि डुबानको समस्या देखिन्छ ।

नेपालमा ढल र बर्खाको पानी एउटै निकासबाट पठाउने चलन छ । यो गलत हो । २०४४ सालमा विश्व बैंकको सहयोगमा ढल र बर्खाको पानीको निकास फरक–फरक बनाउने भनेर परियोजनापनि आएको थियो ।

तर पछि बहुदल आएपछि यो विषयमा कुनै सुनुवाई नै भएन् ।

अहिले पनि सरकारसँग बर्खाको पानी निकासका लागि कुनै निकाय छैन । धेरैलाई लाग्छ जल उत्पन्न प्रकोप व्यवस्थापन विभागले यो काम गर्छ । तर, त्यसो होइन उसले नदीमा बाँध बाँध्ने जस्ता मात्रै काम गर्ने हो ।

बाक्लो सहर बसेका स्थानमा नदी अतिक्रमण गरियो । नदीको प्राकृतिक बहाबलाई नियन्त्रण गर्ने प्रयास गरियो । नदीको बहाब क्षेत्रलाई साँघुरो बनाउँदा बर्षाको पानीले नदीमा जलस्तर बढ्दा साँघुरिएको नदीमा सबै पानी नअटाएर वस्तीमा पसेको हो ।

अहिले उपत्यकाका खोला र नदीहरु गाउँको कुलो जस्ता बनाईएका छन् । यिनै खोला र नदीले राजधानीलाई डुबानको जोखिममा पारेका छन् ।

बिहीबार भक्तपुर डुबानमा पर्यो । तर, बाग्मती नदीमा भने बाढी देखिएन ? किन भन्दा पानी धेरै आएको थिएन, मात्रै हनुमन्ते नदीको प्राकृतिक बहाव साँघुरो बनाइएको थियो । खोला फराकिलो हुँदा पानी निरन्तर बग्न पाउँछ, फिँजिएर बग्न पाउँछ । साना नदी तथा खोलमा बर्षामा पानीको गतिपनि तीब्र हुन्छ । तीब्र गतिमा आएको पानी त्यही गतिमा बग्न अवरोध हुँदा भक्तपुरमा डुबानको समस्या देखियो ।

सहर विकास गरेपनि पानी निकासको बाटो भने निर्माण गर्न हामी चुक्यौ । सहरलाई क्रंक्रिटले मजबुत बनायौं । अनि त्यही क्रंक्रिटले गर्दा बर्खाको पानी जमिनभित्र जान पाएन । पानी प्राकृतिक रुपमा जमिन भित्र जान नसकेपछि डुबान भएको हो ।

सडक तथा अन्य ठूलो भौतिक संरचनासँग हामीले पानी निकास हुने बाटो बनाएनौं । अहिले ठूलो पानी पर्दा सडक नै खोला बन्छन् । पानी सडक भएर नै बग्छ । सडक किनारमा पानी निकास हुने बाटो बनाउनु पर्छ । पानी निकासका लागि बनाइएका मार्गपनि हामीले समयमा सुधार गर्न सकेनौं ।

हामीले ठूला सहरमा बर्षाको पानीले ल्याउने जोखिमको अध्ययन नै नगरी नदी किनारमा बस्ती बसाउने अनुमति दियौं । नदी अतिक्रमण गर्ने सुविधा दियांै । जसको परिणाम आज भक्तपुरले भोगेको छ । भोलि ललितपुर र काठमाडौंले त्यही नियति भोग्नेछन् ।

प्रथमतः कुनैपनि नयाँ सहर या बस्ती बसाउँदा नदीको दायाँबायाँ कम्तिमा पनि ३ सय मिटर जमिन खाली राख्नुपर्छ । सहर र ठूला वस्तीमा ढल तथा वर्षाको पानीको निकास छुट्टाछुट्टै बनाउनु पर्छ । अहिले राजधानीका धेरै नदी किनारमा बस्ती छन् । यी बस्तीका वासिन्दाले वर्षाको समयमा आफुलाई सजग राख्नुपर्छ ।

जमिन तथा भौतिक पूर्वाधार विकासंग जोडिएका सरकारी निकायले पनि अब भक्तपुरको उदाहरणबाट सिक्नुपर्छ । सरकारी निकायबाट राजश्व र विकासका नाममा नदी अतिक्रमणको सुविधा दिनुहुन्न ।


पुष्प दुलाल