भ्यालुएटरको प्रतिवेदन: लक्ष्मीको भन्दा एभरेष्ट बैंकको सेयर मूल्य ६० रुपैयाँ बढी, बिबाद बढ्यो



काठमाडौं । एभरेष्ट बैंक र लक्ष्मी बैंकको सम्पत्ति मूल्यांकन गर्नका लागि नियुक्त गरिएको भारतीय कम्पनीले बुझाएको छ ।

भ्यालुएटरले प्रारम्भिक प्रतिबेदन बुझाएसँगै दुई बैंकका सञ्चालकहरुबीच बिबाद बढेको छ ।

भ्यालुएटर कम्पनी इएनवाईले गत बिहीबार एभरेष्ट र लक्ष्मी बैंकका सञ्चालकलाई ड्राफ्ट रिपोर्ट बुझाएको हो ।

इएनवाइले बुझाएको प्रतिवेदनमा सेयर आदान प्रादन अनुपात (स्वाप रेसियो)को प्रारम्भिक खाका प्रस्तुत गरिएको एभरेष्ट बैंकका एक सञ्चालकले जानकारी दिए ।

उनका अनुसार राष्ट्र बैंकले तोकेको मापदण्ड अनुसार दुबै बैंकको गत आर्थिक वर्षको सम्पत्ति तथा दायित्वलाई आधार मानेर मूल्यांकन गर्दा एभरेष्ट बैंकको एक कित्ता सेयरको मूल्य १६० रुपैयाँ र लक्ष्मी बैंकको एक कित्ता सेयरको मूल्य १०० रुपैयाँ मात्रै भएको रिपोर्ट बुझाएको हो ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार मूल्यांकन गर्दा भने रिपोर्ट केही फरक आएको छ ।

‘अन्तर्राष्ट्रिय मापदण्ड अनुसार मूल्यांकन गर्दा नेपाल राष्ट्र बैंकको मापदण्ड अनुसार गरिएको मूल्यांकन भन्दा लक्ष्मीको तुलनामा एभरेष्ट बैंक थप केही बलियो देखिन्छ,’ एभरेष्ट बैंकका ती सञ्चालकले भने ।

प्रदिवेदनको मास्यौदामा अन्तर्राष्ट्रिय र राष्ट्र बैंकको मापदण्ड दुबै अनुसार गर्दा यस्तो हुन्छ भनेर देखाइएको मात्रै छैन, कुन मापदण्ड अनुसार स्वाप रेसियो निर्धारण गर्ने भनेर सहमति गर्न दुबै बैंकका लगानीकर्तालाई आग्रह पनि गरिएको छ ।

तर, दुबैं बैंकका सञ्चालकहरुले आआफ्नै अडान राखेपछि सहमति हुन सकेको छैन ।

‘कुन मापदण्डमा स्वाप रेसियो निर्धारण गर्ने भन्ने विषयमा दुबै बैंकका सञ्चालकको सहमतिपछि मात्रै स्वाप रेसियो निर्धारण गरिने छ,’ प्रतिवेदनको मस्यौदामा भनिएको छ ।

एभरेष्ट बैंकले थप्यो नयाँ २ शर्त

भ्यालुएटरले यस्तो प्रारम्भिक मस्यौदा बुझाएपछि पनि लक्ष्मी बैंकका सञ्चालकहरु चाँडै मर्जरमा जाने सहमति गर्न सहमत छन् ।

असार मसान्तअघि नै स्वाप रेसियोमा सहमति गरेर साउन पहिलो सातासम्ममा मर्जरमा जानका लागि सार्वजानिक रुपमै सैद्दान्तिक सहमति गर्न आफूहरु सहमत भएको लक्ष्मी बैंकका एक सञ्चालकले बताए ।

तर, एभरेष्ट बैंकले भने किचलो निकालेको छ । एभरेष्ट बैंकका सञ्चालकहरुले केही दिनमै चालू आर्थिक वर्षको वित्तीय विवरण आउने भएकाले यो वित्तीय विवरणलाई समेटेर भ्यालुएसन गरी स्वाप रेसियो निकाल्नु पर्ने नयाँ शर्त राखेका छन् ।

यसो गर्दा मर्जरमा जाने नै भए पनि यी दुई बैंकबीचको मर्जरमा जाने सैद्दान्तिक सहमति हुन थप एक÷डेढ महिना पर्खिनु पर्ने हुन्छ । नत्र भने एक साताभित्रै मर्जरमा जाने सैद्दान्तिक सहमति गर्न सक्छन् ।

त्यतिमात्रै होइन, एभरेष्ट बैंकका सञ्चालकहरुले राष्ट्र बैंकको मापदण्डलाई छाडेर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भ्यालुएसन गराउनु पर्ने शर्त राखेको छ ।

‘एभरेष्ट बैंकमा भारतको पञ्जाब नेशनल बैंकको पनि लगानी छ, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार मूल्यांकन नगरे उ मान्दैन, त्यसैले हामीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार मूल्यांकन गरौं भन्ने प्रस्ताब गरेका छौं,’ एभरेष्ट बैंकका सञ्चालकले भने, ‘तर, लक्ष्मी बैंकका सञ्चालकहरु मानिरहनु भएको छैन ।’

यसअघि एभरेष्ट बैंकका सञ्चालकहरुले राखेको शर्त आफूहरुले मानेकाले अब आफूहरुको शर्त एभरेष्ट बैंकका सञ्चालकहरुले मान्नुपर्ने लक्ष्मी बैंकका सञ्चालकले बताए ।

‘एभरेष्ट बैंकले भारतीय कम्पनीलाई मूल्यांकन गराउन दिनुपर्छ भन्यो हामीले मान्यौं, अरु शर्त राख्यो हामीले मान्यौं,’ लक्ष्मी बैंकका सञ्चालकले भने, ‘अब फेरि ०७५ असार मसान्तसम्म्को वित्तीय विवरणलाई आधार मानेर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भ्यालुएसन गर्नुपर्ने शर्त राखेको छ ।’

यसरी एभरेष्ट बैंकका सञ्चालकहरुले एकपछि अर्को गर्दै शर्तमाति शर्त थप्दै जाने हो भने मर्ज हुन कठिन हुने ती सञ्चालकले बताए ।

‘नेपालभित्र काम गर्ने भएपछि राष्ट्र बैंकको मापदण्ड अनुसार काम गर्नुपर्छ मान्नुपर्छ भन्ने हाम्रो अडान हो,’ उनले भने, ‘अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गर्ने कि नेपाल राष्ट्र बैंकको मापदण्ड अनुसार गर्ने भन्ने विषयमा विबाद बढेको छ ।’

मर्जरमा एभरेष्ट बैंकको असफल इतिहास

नेपालमा मर्जरसम्बन्धी नीति आउनुभन्दा पहिला एभरेष्ट र इन्भेष्टमेन्ट बैंकबीच मर्ज हुने विषयमा केही छलफल चलेको थियो । तर, इन्भेष्टमेन्ट बैंकका कर्मचारीले मर्जरमा जान नहुने भन्दै विरोध गरेपछि त्यो प्रयास तुहिएको थियो ।

त्यसपछि राष्ट्र बैंकबाट मर्जरको नीति आयो । मर्जरको नीति आएपछि एभरेष्टले तत्कालीन किष्ट बैंकसँग मर्जरको छलफल गर्यो । तर प्रारम्भिक छलफलमै स्वाप रेसियोमा कुरा नमिलेपछि थप प्रक्रिया नै अघि बढेन ।

किष्टपछि एभरेष्टले कुमारी बैंकसँग मर्जरको छलफल गर्यो । त्यो पनि सफल भएन । अहिले लक्ष्मीसँग मर्जरको छलफल भइरहेको छ । यो सफल हुन्छ वा हुँदैन त्यो भने हेर्न बाँकी नै छ ।


पुष्प दुलाल