पुँजी बृद्धिमा धक्का लागेपछि बीमा समितिले किन खोज्यो प्रमोटर र आफन्तको विवरण ?




काठमाडौं । चालु आर्थिक बर्ष सकिन अब ३ कार्यालय दिन बाँकी छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले गरेको कानुनी ब्यवस्था अनुसार अबको ३ दिन भित्रमा जीबन बीमा ब्यवसाय गरेका कम्पनीको चुक्ता पुँजी कम्तिमा २ अर्ब र निर्जीबन बीमा कम्पनीको चुक्ता पुँजी कम्तिमा १ अर्ब रुपैयाँ पुग्नुपर्छ ।

तोकिएक अनुसारको चुक्ता पुँजी तोकिएकै समयमा पुग्छ त ? अहिलेको अबस्था हेर्दा पुग्ने देखिदैन । पूराना कम्पनीमध्ये जीबन बीमा कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ पुगिसकेको छ । जुन नियामकले तोकेको भन्दा दोब्बर हो ।

बाँकी कम्पनीहरुमा राष्ट्रिय बीमा संस्थानको १ अर्ब ८१ करोड, नेसनल लाइफको १ अर्ब ६५ करोड, एलआइसी नेपालको १ अर्ब ३३ करोड, एसिएन लाइफको ८० करोड ५५ लाख, सूर्या लाइफको ७२ करोड १८ लाख, गुराँस लाइफको ५९ करोड ४० र प्राइम लाइफको ६१ करोड रुपैयाँ चुक्ता पुँजी छ । मेट लाइफ विदेशी बीमा कम्पनीको शाखा भएकोले यो ब्यवस्था आकर्षित हुदैन ।

अहिले संचालनमा रहेका पूराना जीबन बीमा कम्पनीहरुको चुक्ता पुँजी तोकिए अनुसार पुग्ने सम्भावना कम देखिएको छ । चुक्ता पुँजीको यो तथ्यांक चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणका आधारमा लिइएको हो ।

तर, बीमा समितिले कम्पनीहरुलाई अर्काे सुविधा पनि दिएको छ । त्यो सुविधा भनेको चालु आर्थिक बर्षको नाफाबाट बोनस सेयर दिएर पनि पुँजी पुर्याउन सक्ने सुविधा हो । यसो गर्दा चालु आर्थिक बर्षको बार्षिक साधारणसभा गरेपछि बीमा कम्पनीहरुले आफ्नो चुक्ता पुँजी बाध्न पाउँछन् । यो भनेको अरु थप ६ महिना समय हो । किनकि आर्थिक बर्ष सकिएको ६ महिनाभित्रमा बार्षिक साधारणसभा गरे हुने सुविधा कम्पनी ऐनले दिएको छ ।

यो सुविधा प्रयोग गर्दा पनि केही कम्पनीहरुको चुक्ता पुँजी तोकिए अनुसार नपुग्ने देखिएको छ । एसियन लाइफले ६० प्रतिशत हकप्रद जारी गरिसकेकोले उसको पुँजी २ अर्ब १ करोड रुपैयाँ पुग्ने देखिन्छ ।

गुराँस लाइफले ५० प्रतिशत हकप्रद जारी गरेर चुक्ता पुँजी ८९ करोड १० लाख रुपैयाँ पुर्याएको छ । उसलाई तोकिए अनुसार चुक्ता पुँजी पुर्याउन अझै निकै कठिन देखिन्छ ।

एलआइसी नेपालले बोनस सेयरबाटै चुक्ता पुँजी २ अर्ब रुपैयाँ नघाउने भनेको छ । गत आर्थिक बर्षको नाफाबाट ४० प्रतिशत र चालु आर्थिक बर्षको नाफाबाट साढे २९ प्रतिशत बोनस सेयर दिएपछि आफ्नो चुक्ता पुँजी २ अर्ब २ करोड रुपैयाँ हुने एलआइसी नेपालको भनाइ छ ।

नेसनल लाइफले ६० प्रतिशत हकप्रद सेयर विक्री गरेर नाफा २ अर्ब ६४ करोड रुपैयाँ नघाउँछु भनेको छ । अहिले उसको हकप्रद विक्री भइरहेको छ ।

प्राइम लाइफले १६० प्रतिशत हकप्रद विक्री गर्छु भनेको छ । उसको हकप्रद विक्रीको प्रक्रिया अझै सुरु भएको छैन ।

सूर्या लाइफले ४० प्रतिशत हकप्रद विक्री गरिसकेको छ । गत बर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर दिएपछि थप ७० प्रतिशत हकप्रद जारी गर्ने सूर्याको योजना छ । त्यसो गर्दा पनि उसको चुक्ता पुँजी १ अर्ब ९२ करोड रुपैयाँ मात्रै पुग्नेछ ।

निर्जीबन बीमा कम्पनीको अबस्था
निर्जीबन बीमा कम्पनीहरुमा नेपाल इन्स्योरेन्सको ३० करोड १९ लाख, युनाइटेडको ३० करोड २४ लाख, प्रिमियरको ५८ करोड ४० लाख, सगरमाथाको ५३ करोड ८२ लाख, प्रभुको ६८ करोड ८४ लाख, आइएमइको ५४ करोड, प्रुडेन्सियलको ६४ करोड १५ लाख, लुम्बिनीको ८८ करोड, एनएलजीको ६४ करोड, सिद्धार्थको ६४ करोड १४ लाख, राष्ट्रिय बीमा कम्पनीको २६ करोड ६६ लाख र हिमालयन जनरलको ३२ करोड रुपैयाँ चुक्ता पुँजी छ । ओरियन्टल र नेसनल इन्स्योरेन्स कम्पनी विदेशी कम्पनीका शाखा भएकोले यो ब्यवस्था आकर्षित हुदैन ।

यी कम्पनीमध्ये नेपाल इन्स्योरेन्सले थप ६५ प्रतिशत हकप्रदा निकाल्ने भनेको छ । युनाइटेडले बीमा समितिमा कुनै योजना नै पेश गरेको छैन । प्रिमियरले थोरै मात्रामा हकप्रद निकाल्नु परेपनि बोनस सेयरबाटै चुक्ता पुँजी पुर्याउछु भनेको छ ।

सगरमाथाले ९ करोड १५ लाख रुपैयाँ बराबरको हकप्रद निकाल्छु भनेको छ । बाँकी पुँजी बोनस सेयरबाटै पुग्ने उसको भनाइ छ ।

प्रभुले ४६ प्रतिशत हकप्रद निकाल्यो । उसको हकप्रद विक्री पनि भइसकेकोले चुत्ता पुँजी पुर्याउन प्रभु इन्स्योरेन्सलाई कुनै समस्या भएन ।

आइएमइ जनरलले ८० प्रतिशत हकप्रद निकाल्ने भनेको छ । प्रुडेन्सियलले २५ करोड ६६ लाख रुपैयाँ बराबरको हकप्रद निकाल्नै बाँकी छ । लुम्बिनी जनरलले चालु आर्थिक बर्षको नाफाबाट १२ करोड ७० लाख रुपैयाँ बराबरको बोनस सेयर दिएर चुक्ता पुँजी १ अर्ब नघाउँछु भनेको छ ।

एनएलजी इन्स्योरेन्सले २९ करोड ५१ लाख रुपैयाँ बराबरको हकप्रद निकाल्नै बाँकी छ । सिद्धार्थले ३५ प्रतिशत हकप्रद विक्री गरिरहेको र चालु आर्थिक बर्षको नाफाबाट १३ करोड ५३ लाख रुपैयाँ बराबरको बोनस सेयर दिन्छु भनेकोले उसको चुक्ता पुँजी तोकिए अनुसार पुग्ने देखिन्छ ।

राष्ट्रिय बीमा कम्पनी सरकारी स्वामित्वको कम्पनी हो । यसका आफ्नै ढर्रा छन् । हिमालयन जनरलले ६४ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद निकाल्छु भनेकोमा सो कार्य गर्न बाँकी छ ।

सेयर बजारको पहिरोले पुँजी बृद्धिमा अड्चन
पछिल्लो केही महिनायता सेयर बजार घटिरहेको छ । दोस्रो बजारमा लगानीकर्ता निरास बनेको समयमा हकप्रद वा एफपीओ विक्रीमा पनि समस्या उत्पन्न हुने गरेको छ । पुँजी बृद्धिको लागि बीमा कम्पनीहरुले एफपीओ जारी गर्ने योजना नबनाएका भएपनि हकप्रद निष्कासनमा भने धक्का लागेको छ ।

बजार घटिरहेकोले यस्तो बेलामा साधारण सेयरधनी वा सानो मात्रामा संस्थापक सेयर हुनेले मात्रै होइन, ठूलो संख्यामा सेयर हुने संस्थापक पनि हकप्रदमा लगानी गर्न हिच्किचाएका बताइएको छ । यही समस्याले कम्पनीहरु हकप्रद निष्कासनमा डराएका र त्यस्तो डरले नियामकले तोके अनुसारको चुक्ता पुँजी कायम गराउने कार्यमा नै बाधा उत्पन्न भएको छ ।

साहूको विवरण संकलन गर्दै बीमा समिति
तोकिएको समयमा तोकिए अनुसार चुक्ता पुँजी नपुग्ने देखिएपछि बीमा समिति नैतिक संकटमा छ । सार्बजनिक खपतका लागि समितिका केही पदाधिकारीले तोकिएको समयमा चुक्ता पुँजी नपुर्याउने कम्पनीलाई मर्जरमा जान दबाब दिने भनेपनि यसो गर्न समितिसँग अहिले नैतिक बल छैन ।

गत आर्थिक बर्षको अन्त्यतिर बीमा समितिले लाइसेन्स दिएका बीमा कम्पनीहरुले चालु आर्थिक बर्षदेखि कारोबार सुरु गरेका छन् । कम्पनीको संख्या कम भयो भन्दै लाइसेन्स दिएको अर्काे बर्षदेखि नै संख्या बढी भएकोले तिमीहरु मर्जर वा एक्विजिसनमा जाउ भन्न सक्ने नैतिक बल समितिसँग छैन ।

तर, समितिले मर्जर वा एक्विजिनसको विकल्पको बारेमा गृहकार्य भने गरिरहेको छ । पुरानो कम्पनीमा प्रमोटर भएको ब्यक्ति वा कर्पाेरेट हाउस समितिले पछिल्लो पटक लाइसेन्स दिएका नयाँ कम्पनीको पनि प्रमोटर भएको अनुमान गर्दै बीमा समिति यस्ता ग्रुप र कम्पनी पहिचानमा लागेको छ ।

एउटै ब्यक्ति वा ग्रुप तथा नजिकका ब्यक्ति वा ग्रुपको लगानीमा सञ्चालिन कम्पनीलाई मर्जरमा लैजान सकिन्छ भन्ने बुझाइका साथ समितिले यस्तो तथ्यांक संकलन गरेर आन्तरिक छलफल गरिरहेको हो ।

नयाँ कम्पनी नै मर्जरको तयारीमा ?
पुराना कम्पनीलाई चुक्ता पुँजी पुर्याउन समस्या भएपछि नयाँ र पुराना कम्पनीबीच मर्जरको प्रयास पनि भएको छ । यस्तो प्रयास एउटै ब्यवसायिक घरानाको लगानी भएका कम्पनीबीच भएको बताइएको छ ।


क्लिकमान्डु