कोलिर्फम भएको र नूनिलो दुध खान हुन्छ कि हुँदैन ? यसो भन्छन् विज्ञ



काठमाडौं । केही समययता दुधमा कोलिफर्म भेटाइएको सूचना र सामाचारहरु पत्रपत्रिका, टिभी तथा अनलाइनहरुमा छ्यापछ्याप्ती आए । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले राजधानीका दुई दर्जन बढी डेरीको अनुगमनका क्रममा कोलिफर्मयुक्त दूध भएको तथ्य पत्ता लगाएको थियो ।

यस्ता सूचना तथा सामाचारहरु सार्वजानिक भएपछि दुध तथा दुधजन्य पदार्थको कारोबार करिब ३० प्रतिशतले घटेको व्यवसायीहरुको गुनासो छ ।

दुधमा कोलिफर्म भेटिएको विषयलाई लिएर नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ (नेफोष्टा) ले पत्रकार सम्मेलन नै गर्यो सम्मेलनमा विभिन्न खाद्य तथा दुग्ध विज्ञहरुले आफ्ना प्रस्तुति दिएका थिए ।

दुग्ध विज्ञ डा देवभक्त शाक्सले नेपाल सरकारले कति कोलिफर्म हुनु पर्छ या यति भन्दा कम हुनुपर्छ भन्ने स्पष्ट नीति नबनाएका कारण नेपालको दुग्ध व्यवसाय र उत्पादनमा बेलाबेलामा यस्तो समस्याहरु उठिरहेको बताए ।

छिमेकी मुलुक भारतमा पनि वितगमा कोलिफर्मलाई लिएर ठूलो विवादपछि यसको मापदण्ड राखिएको उदाहरण दिँदै शाक्यले नेपालमा पनि तत्काल यस्तो ब्यवस्था हुनुपर्ने माग गरे ।

यस्तो समस्याको समाधान गर्न कोलिफर्मको लागि एउटा मापदण्ड तोकिनु पर्ने, त्यसपछि अनुगमनको राम्रो व्यवस्था मिलाईनुपर्ने र गोठदेखि नै दुध निकाल्दा र चिस्यान केन्द्रबाट उपभोक्ता समक्षण् दुध पुर्याउँदासम्मको भागलाई सुधार गर्नु पर्नेमा जोड दिए ।

डिडिसीका पूर्वमहा प्रवन्धक टेक बहादुर थापाले स्वच्छ दुध उत्पादनलाई उचित रुपमा अघि बढाउन सुरुमा नियमनकारी पक्षपाती हुन नहुने र एउटालाई अनुगमन गर्ने अर्कोलाई वास्तै नगर्ने प्रवृत्ति तत्काल अन्त्य गर्नुपर्ने बताए ।

थापाले हरेक डेरीमा तालिमप्राप्त जनशक्तिको प्रयोग हुनु पर्ने यदि तालिम नभएको खण्डमा उसलाई डेरी उत्पादन तथा विक्रीको लाइसेन्स नदिने व्यवस्था गर्नुपर्ने बताए ।

‘हामीसँग प्रष्ट आचारसंहिता छैन, विदेशमा उत्पादित दुध ४ घण्टाभन्दा कम समयको भए डेरीले लिँदैन, तर हामीसँग २ घण्टा भन्दा धेरै समयको दुध जाच्ने प्रवृधिनै छैन,’ थापाले भने ।

खाद्य प्रविधिका शिक्षक गंगा खरेलले गलत अभ्यासमा जानु नहुने र उद्योग डुब्ने डरमा कप्रमाइजमा जानु नहुने बताए । उनले कोलिफर्म स्वास्थ्यका लागि गतल नै भएको खण्डमा यसलाई मापदण्ड बनाएरभन्दा त्यसलाई नियन्त्रण गरेर लानु पर्नेमा जोड दिए ।

‘कोलिफर्म दिशापिसाबमा मात्र नभई यो माटोमा पनि पाइन्छ, गाई तथा गाइले खाने घाँसमा पनि पाइने हुँदा यसलाई सीधै गलत भनेर पत्रकारहरुले पनि लेखिदिनु भएन,’ खरेलले भने ।

कुनै डेरीमा कोलिफर्म भेटिएमा पनि त्यसलाई पहिला सुधारका लागि निर्देशन दिने अनि त्यसपछि पनि भनेको नमान्नेलाई मात्र बन्द गर्ने व्यवस्था हुनु पर्ने उनले बताए ।

दुधको व्यवसायमा असर नै पर्ने जरी एकै चोटीमा बन्द गर्दा किसानबाट आउने दुधमा पनि असर पर्न जाने हुनाले धेरैमा बेरोजगारीको समस्या निम्त्याउने गरी सरकारले बेलाबेलामा डेरी बन्द गर्ने गरेको उनले बताए ।

यस्तै खाद्य प्रविधि तथा पियपदार्थ क्षेत्रका दिलिप शुब्बाले सरकारले अहिलेसम्म दुधको असल उत्पादनलाई जोड दिनु पर्ने बताए । उनले दुध उत्पादनलाई कानुन र शिक्षणमा पनि ल्याउन आवश्यक भएको बताए ।

किन दुधमा नून पाइन्छ ?

दुध बिग्रने क्रममा एक प्रकारको एसिड उत्पन्न हुन्छ । त्यो एसिड उत्पन्न नहोस् भनेर दुधमा सोडा प्रयोग गरिन्छ । सोडाकै स्वाद पछि दुधमा नुनिलो भएको आउँछ ।

अहिलेसम्म सरकारले कुनै नीतिमा दुधमा सोडा हालन पाउने कि नपाउने भनेर नतोकेको शुब्बाले बताए ।

‘दुधमा सोडा हाल्न दिने कि नदिने यो प्रश्ननै बनेको छ, सोडा नहाले दुध बिग्रिनबाट कसरी जोगाउने त्यो पनि जवाफ आउनु पर्छ, नत्र सोडा हाल्न पाइँदैन भनेर मात्र भने केही हुनेवाला छैन,’ शुब्बाले भने ।

उनले दुध जन्य वस्तुमा कोलिफर्म भेटिनुको भनेको निरिक्षण अनुगमन गर्ने निकायमा स्रोत नहुनु, साधनको अभाव, प्राबिधिक कर्मचारीको न्यून उपस्थिति, प्रयोगशाला र आवस्यक उपकरणको अभाव पनि अर्को कारण भएको बताए ।

२०७० असारमा पनि थुप्रै निजी तथा सरकारी डेरीका उत्पादनमा कोलिफर्म जीवाणु फेला परेको थियो र सोही कारणले दुध तथा दुग्ध जन्य पदार्थहरुको उपभोगमा गिरावट आएको थियो ।

के हो कोलिफर्म ?

कोलिफर्म जीवाणुहरूको प्रत्यक्ष सम्बन्ध खाद्यपदार्थ उत्पादन तथा प्रशोधन गर्ने वातावरणको स्वच्छता तथा सरसफाइसँग रहने भएकाले यस जीवाणुको उपस्थितिलाई गोठ तथा उद्योग सरसफाइको सूचक मानिन्छ । त्यसैगरि दुधमा रसायनहरुको उपस्थिति एक जटिल समस्याका रुपमा रहेको छ । वास्तवमा कोलिफर्म एक प्रकारको जीवाणुहरुको समूह हो । जसमा धेरै प्रकारका जिवाणुहरु पर्दछन् ।

दुधमा कोलिफर्म हुनु भनेको दुधको उत्पादन तथा प्रशोधन प्रविधि सहीतवरबाट सम्पन्न नभएको तथ्य जानकारी गराउँछ । कोलिफर्म पाश्चराइजेसन पश्चात् पनि दुधमा संक्रमण हुनसक्छ । हाम्रो वातावरण (पानी, माटो र अन्य स्रोत)बाट पनि सर्न सक्छ । उचित सरसफाईको अभावमा पनि देखिन सक्छ ।

हामीले उत्पादन गर्ने कच्चा दूध पनि स्वच्छ दुध उत्पादन पद्दति अनुरुपको छैन । सो कारण दुध दुहुँदा गाईको थुन र कल्चौंडामा टाँसिएको मलमूत्रबाट शुरुमा नै कच्चादुधमा कोलिफर्मको संक्रमण हुनसक्छ । दुध दुहुन, ओसार प्रसार गर्न र राख्नप्रयोग गरिने सामग्री समेतबाट कोलिफर्मको संक्रमण हुन सक्छ ।

कसरी हटाउने कोलिफर्म ?

कोलिफम बाट संक्रमित दुध सही तवरबाट पाश्चराइजेसन गर्नु पर्ने हुन्छ । पाश्चराइजेन गर्नु भनेको ६३ डिग्री सेल्सियस तापक्रममा ३० मिनेट वा ७२ डिग्री सेल्सियस तापक्रममा १५ सेकेण्ड प्रशोधन गर्नु हो । यसरी प्रशोधन गरेमा कोलिफर्म जीवाणुहरु मर्ने र खानको लागि स्वच्छ मानिन्छ ।

यस पश्चात् पनि सुरक्षित एवं स्वच्छ वातावरणमा उपयुक्त तवरबाट प्याकेजिङ्ग गरेको अवस्थामा डेरीहरुले राज्यले तोकेको मापदण्ड पूरा गर्न सकिने अवस्थामा आउन सक्छन् ।

नेफोष्टाले सरकारसँग दुध चिस्यान केन्द्र तथा प्रशोधन उद्योगको मापदण्ड वनाई सो अनुरुप भए नभएको निरिक्षण अनुगमन गरिर्न अनुरोध गरेको छ ।


पुष्प दुलाल