लाक्पाफुटीलाई कसरी मिल्यो सफलता ?

– रमेश लम्साल र सिबी अधिकारी २०७५ असार २२ गते १७:२० मा प्रकाशित

काठमाडौँ । शुरुवातीको चरणमा धेरै हन्डर खाइयो । उडाउनेहरुको पनि कमी थिएन । असम्भव विषयमा किन हात हालेको भन्दै खिसीटिउरी गर्ने पनि प्रशस्तै थिए । तर जुन असम्भव थियो, त्यसैमा हात हालेँ । आज फर्केर हेर्दा केही सफल भएको जस्तो लाग्छ ।

यो भनाइ हो सफल पर्यटन व्यवसायी लाक्पाफुटी शेर्पाको । पर्वतारोहणका लागि नेपाल संसारभर नै प्रसिद्ध छ । पर्वतारोहणमा इच्छा राख्नेहरु नेपालको हिमाललाई नजिकबाट नियाल्न चाहन्छन् । मान्छेका सोच फरक हुन्छन्, चाहना पनि फरक नै रहन्छन् । त्यस्तै फरक चाहना लाक्पाले राखिन् ।

हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले धेरैलाई हिमालको शिखरमा पु¥याए । धेरैका नाम संसारभर चिनाए । तिनले हिउँसँग मितेरी गाँसे । सफल पनि भए ।

संसारभर नै शेर्पा समुदायको बहादुरी र साहसको प्रशंसा सामान्यरुपमा मात्रै हुने गरेको छ । तर शेर्पाको नाम सधैँ ओझेलमा परेको, दुःख गर्नेहरु कहिल्यै अग्रपंक्तिमा नदेखिने दुःखद अवस्थाले लाक्पालाई नराम्ररी झस्कायो ।

सयौँको नाम राखिदिने, सयौंलाई शिखरमा पुर्याउने शेर्पा समुदायको साहसलाई शैक्षिकरुपमा पनि सबल बनाउने लाक्पाको चाहना थियो । मनको कुनामा रहेको चाहना पूरा गराउन शुरुमा आफ्नै भन्नेले पनि सहयोग गरेनन् । आफन्त नै पाराया भएपछि कसको के लाग्दो रहेछ र ?

सरकारी निकायको ढोका ढक्ढक्याउँदा दर्जनभन्दा बढी जोर चप्पल पुराना भए । कैयौँदिन चर्को घामले पिरोल्यो भने कैयौँ दिन मुसलधारे पानीले चुट्यो । तर सम्पन्न गर्छु भनेर शुरु गरेको काम पूरा नगरीकन थाक्ने भन्ने नै थिएन । रासससँगको भेटमा लाक्पाले आफ्नो विगत सम्झिइन् ।

“नेपालका शेर्पा र पर्वरोहणमा काम गर्न चाहनेलाई शैक्षिक ज्ञान दिनु आवश्यक छ भन्ने चाहना पूरा गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको ढोका चाहर्दाचाहर्दै छ वर्ष बित्यो । करीब करीब हार खाने अवस्थामा पुगेको थिएँ । तर पछि सबैको सहयोग र प्रयासले सफल भएँ” लाक्पाले चलचित्रको दृश्यजस्तै विगत सुनाइन् ।

“मन्त्रालयका कतिपय अधिकारीले शुरुमा असम्भव विषयमा किन लागेको भन्दै सहयोग गरेनन् । जुन विषयलाई असम्भव भनिएको थियो, तर आज आएर सम्भव भएको छ” लाक्पाले भनिन् । लामो मेहनत र प्रयासपछि नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान स्थापना भयो । सो प्रतिष्ठानले गत वर्षदेखि शैक्षिक कार्यक्रम शुरु गरेको छ । पर्वतारोहणका लागि दक्ष जनशक्ति स्थापना गर्ने आफ्नो लक्ष्य पूरा भएकामा खुशी देखिन्छिन लाक्पा ।

पहिलो सेमेष्टर सञ्चालनमा आइसकेको छ । दोस्रोको तयारी भइरहेको छ । हाल प्रतिष्ठानले स्नातक तहको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । छिट्टै स्तातकोत्तर तहको अध्ययन अध्यापनको काम पनि शुरु हुनेछ ।

नेपालमा विदेशी विद्यार्थीका लागि आकर्षण गर्ने कुनै शैक्षिक कार्यक्रम हो भने पर्वतारोहणसम्बन्धी अध्ययन नै हो । धेरै लामो मेहनत र प्रयासले सार्थकता पाउँदा लाक्पालाई संसार जितेभन्दा बढ्ता खुशी मिलेको छ । “हामीले नजानेरै धेरैका भारी बोक्यौँ । अनपढ शेर्पा भन्नेहरु पनि भेटिए । अब भने त्यस्तो हुन्न, हिमाल चढ्नेहरु पनि पढेका, जानेका र बुझेका हुन्छन् भन्ने सत्य स्थापना गर्न सकिएको छ”, लाक्पाका आँखामा उत्साह देखिन्छ ।

शिक्षा मन्त्रालयमा धाउँदा १०३ डिग्रीको ज्वरो आएको थियो । पटकपटक नेपाल बन्द हुन्थ्यो, हिँड्दै त्रिभुवन विश्वविद्यालय पुगेको पनि आजैजस्तो लाग्छ उनलाई ।

“कति दिन भोकै कुदेँ, कति दिन आधा पेट खाएर कुदेँ । किनकी नपढेका शेर्पाले हिमाल चढ्छन्, छोरी चेरीले हिमाल चढ्नु हुन्न, देवता रिसाउँछन् भन्ने आरोप पनि लाग्थ्यो । तर अब नेपालका छोरी चेलीले हिमाल चढ्ने ज्ञान सिक्छन् र जान्छन्”, लाक्पा विगतको पीडा आज खुशीमा परिणत भएको बताउँँछिन् ।

ज्वरो आएका बेला पनि फाइल बोकेर धाएको क्षण मानसपटलमा स्मरणीय रहिरहेको छ । त्रिभुवन विश्वविद्यालयमा बन्दको बेला भोकै बस्नुपरेको तीतो अनुभव छ ।

‘हिमालकी छोरी’ नामक पुस्तकको लेखकसमेत रहनुभएकी लाक्पा हिमाली क्षेत्रका बारेमा राम्रै जानकार छिन् । विदेशीले तिमीहरुकामा हिमाली क्षेत्रको ज्ञान दिने कुनै शैक्षिक संस्था छैन कि के हो ? भनेर गर्ने प्रश्नले हृदयमा घोचेकाले आफू प्रतिष्ठान स्थापनामा लागेको स्मरण गर्छिन् ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको संस्थापक कार्यकारी निर्देशकसमेत रहिसक्नुभएकी लाक्पाफुटी विदेशका विद्यार्थीलाई नेपाल भित्र्याउने पहिलो शैक्षिक कार्यक्रम आफूहरुकै भएकामा गर्र्व गर्छिन ।

“नेपालमा अहिलेसम्म हामी हिमाल हिमाल मात्रै भन्छौँ, तर हिमालमैत्री र पर्वतारोहणमैत्री पनि छैनौँ । हिमालसँग जोडिएका धेरै विषयमा अध्ययन गर्न सकिन्छ । हिमाली क्षेत्रको रहनसहन, रीतिरिवाज, हिमनदी, हिमाली वनस्पति, शेर्पा समुदायको कला र सांस्कृतिक पाटो पनि बुझ्नुपर्छ । शेर्पा र हिमालमात्रै भनेर पनि भएन नि ? उनले आफ्नै जन्मथलो सम्झिन् ।

सोखुखुम्बुको चौँरीखर्कबाट काठमाडौँ छिर्दा उनीसँग बाबाआमाले दिएको नाममात्रै थियो । तर आज उनीसँग के छैन । नाम, दाम दुवै छ । समाजले चिनेको छ, देश विदेशमा उनको नाम छ ।

उनको बाल्यकाल हिमालसँगै बित्यो । शुरुमा पर्यटकको भरिया बन्नुभयो । विगत सहज थिएन । दुखैदुःखमा बितेको थियो ।

विगत ४० वर्षदेखि निरन्तर पर्यटन क्षेत्रमा नै क्रियाशील छिन शेर्पा । पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गर्दा उनको आरोहण दलको सहायकका रुपमा थिइन उनी ।

“करीब आठ हजार मिटरसम्म पुगेको थिएँ । तर पासाङको निधनपछि मैले आरोहण स्थगित गरिदिएँ”, ती दिन सम्झिइन् लाक्पाले । पासाङ ल्हामु शेर्पाको सगरमाथाको चुचुरोमा पुगेर फर्कने क्रममा आठ हजार ७०० मिटरमा रहेको साउथ समिटमा निधन भएको थियो ।

हिमाली प्रकृति शोधार्थी तथा विद्यार्थीका लागि विश्वविद्यालय जत्तिकै छ । त्यसलाई व्यवस्थित गरेर सञ्चालन गर्ने लक्ष्यका साथ शुरु गरिएको काम सफल भएको छ ।

निकै कष्टका साथ पाठ्यक्रम बनाएर अहिले कलेज शुरु भएको छ । विश्वमै नभएको चिज पहिलोपटक शुरु भएको हो चुनौती त धेरै छन् । तर पनि स्थिर सरकार बनेकाले सकारात्मक आशा जागेको छ भन्छिन् लाक्पा ।

‘ब्याचलर इन माउण्टेनरिङ’ मा अहिले २३ जना विद्यार्थी अध्ययनरत छन् । सबै विद्यार्थीले राम्रो नतिजा ल्याएका छन् । विदेशी विद्यार्थीले समेत एकदमै चासो देखाएका छन् । ललितपुरको सातदोबाटोमा कक्षा सञ्चालन भइरहेको छ ।

एड्भेन्चर एण्ड माउण्टेन टुरिजम’ नामक शैक्षिक कार्यक्रमको अनुमतिका लागि त्रिविविलाई अनुरोध गरिसकिएको छ । त्यस्तै, दश जोड दुईका लागि पनि पाठ्यक्रम बनाएर उच्च माध्यमिक शिक्षा परिषद्मा पठाइसकेको बताउछन् प्रतिष्ठानका प्रशासन प्रमुख उत्तमबाबु भट्टराई ।

अहिले नेपाली पढ्दैछन् धेरै विदेशीले चासो देखाएका छन् । आशा छ, एकदिन संसारकै उत्कृष्ट विश्वविद्यालयका रुपमा हिमाली क्षेत्रको अध्ययन अगाडि बढ्नेछ ।

चारवर्षे शैक्षिक कार्यक्रमका लागि हाल रु छ लाख खर्च लाग्छ । सात हजार मिटरको उचाइमा लगेर विद्यार्थीलाई अध्ययन तथा अध्यापन गराइन्छ ।

शैक्षिक कार्यक्रमका लागि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क मुलुकका विद्यार्थीका लागि रु सात लाख र अन्य देशका विद्यार्थीका लागि १२ लाखबराबरको शुल्क लाग्छ ।

नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा हिमाली क्षेत्रको अध्ययन गराउने संस्था चीन, दक्षिण कोरिया र जापान लगायतका मुलुकमा रहेका छन् । प्रकृतिले साथ दिएको आधारमा नेपालको शैक्षिक कार्यक्रम नै उल्लेख्य रहेको उनको भनाइ छ ।

नेपालमा शैक्षिक कार्यक्रम शुरु भएपछि पहिलो कक्षा नै आफूले लिएको बताउँदै शेर्पाले भने, “शैक्षिक कार्यक्रम शुरु भएको छ । यसलाई थप प्रवद्र्धन र व्यवस्थित गर्नु जरुरी छ ।”

स्वदेशी तथा विदेशी विज्ञ ल्याएर यहाँ अध्ययन गराउन सकिए आगामी दिनमा विदेशी विद्यार्थी बढ्ने प्रतिष्ठानका प्रशासन प्रमुख भट्टराईको दाबी छ ।

हाल सार्क, अमेरिका, क्यानाडालगायत देशका विज्ञ र विद्यार्थीले रुची देखाएका छन् । केही पूर्वाधारको व्यवस्था भए नेपालको पर्यटन क्षेत्रलाई विश्वमा चिनाउन थप सफलता मिल्ने प्रमुख भट्टराईको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा डा डिल्लीराज शर्मा नेपालको सन्दर्भमा हिमाल आरोहण सम्बन्धी शैक्षिक कार्यक्रम प्रभावकारी हुने भएकाले अगाडि बढाइएको बताए ।

त्रिविविले सो कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखेको जानकारी दिँदै उनले प्रतिष्ठानको आग्रहबमोजिम स्नातक तहको शैक्षिक कार्यक्रम शुरु भइसकेको र स्नातकोत्तर तहको पढाइ पनि छिट्टै शुरु हुने उल्लेख गरे ।

प्रतिष्ठानले हिमाल आरोहण तथा हिमाली क्षेत्रका बारेमा जानकार जनशक्ति उत्पादन गर्ने र त्यसले नेपालको पर्यटन क्षेत्रलाई समेत माथि उठाउने विश्वास लिएको छ । रासस

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस