महानगरको आर्थिक विधेयक तयार, कस्तो कस्तो कर उठाउँदैछ महानगर ?




काठमाडौ । काठमाडौ महानगरले आगामी साता आर्थिक विधेयक सार्वजनिक गर्ने भएको छ । महानगरले असार १० गते नै आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरिसकेको छ ।

महानगरले असार २७ गते आगामी आर्थिक वर्षका लागि आर्थिक विधेयक सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिएको छ ।

आगामी आर्थिक वर्षका लागि महानगरले १५ वटा अनुसूचि सहितको विधेयक तयार पारेको छ । महानगरले तयार पारेको विधेयकमा अहिले छलफल चलिरहेको छ ।

आर्थिक विधेयकको अनुसूचि १ मा सम्पत्ति करको दर सम्बन्धी व्यवस्था गरिएको छ । महानगरले आगामी आर्थिक वर्षबाट यो शीर्षकमा कर उठाउने छ । यसअघि महानगरले घरजग्गा शीर्षक अन्तरगत कर सङ्कलन गर्ने गरेको थियो । तर, आगामी आर्थिक वर्षबाट घरजग्गा करपनि सम्पत्ति कर मै समावेश हुने बताईएको छ ।

विधेयकको अनुसूचि २ मा घरको मुल्याङ्कन दर राखिएको छ । विधेयकको अनुसूचि ३ मा घरको ह्रास कट्टी प्रतिशत र ह्रास कट्टी गर्ने अवधि सम्बन्धी व्यवस्था गरिएको छ ।

अनुसूचि ४ मा सम्पत्ति कर प्रयोजनका लागि जग्गाको प्रतिआना दर सम्बन्धी व्यवस्था उल्लेख गरिएको छ ।

अनुसूची ५ मा भूमिकरको दर र अनुसूचि ६ मा बहाल करको दर समावेश गरेको छ । बहाल कर उठाउँदा बहालको प्रयोजन, बहाल लगाईएको स्थान र बहाल क्षेत्रफललाई आधार मानिएको छ ।

अनुसूची ७ मा व्यवसाय करको दर तोकिएको छ । अनुसूचि ८ मा जडिबुटी, कवाडी र जीवजन्तु सम्बन्धी शुल्कको व्यवस्था गरिएको छ ।

अनुसूची ९ मा विज्ञापन कर सम्बन्धी व्यवस्था गरिएको छ । त्यसैगरि अनुसूची १० मा बहाल बिटौरी शुल्कको दर रेट तोकिएको छ ।

यस बाहेक अनुसूची ११ मा सवारी पार्किङ्ग शुल्कको दररेट, १२ मा ट्रेकिङ्, ¥याफ्टिङ्, केवलकार शुल्क, १३ मा सेवा शुल्क दस्तुर, १४ मा पर्यटन तथा प्रवेश शुल्कको व्यवस्था गरिएको छ ।

महानगरले अनुसूची १५ मा पटके जरिवाना सम्बन्धी व्यवस्था गरेको छ । पटके जरिवानामा अनधिकृत स्थानमा राखिएका सामान, अनधिकृत स्थानमा पार्किङ गरिएका सवारी साधन तथा कागजात नबोकी हिँड्ने सवारी धनीलाई गरिने जरिवाना सम्बन्धी व्यवस्था गरिएको छ ।


क्लिकमान्डु