‘नारायणगढ-मुग्लिन सडक अझै ५ देखि १० वर्ष पहिरोको जोखिममा’



फाइल

काठमाडौं । सरकारले करिब ४ अर्ब रुपैयाँ खर्चमा विस्तार गरेको नारायणगढ-मुग्लिन सडक अझै ५ देखि १० वर्षसम्म असुरक्षित रहने देखिएको छ ।

सडक विस्तारको काम सकिएलगतै सडक दुईतर्फी रुपमा सञ्चालन भएपनि दिनौं गइरहेको पहिरोका कारण सडकको यात्रा सास्ती पूर्ण छ ।

सडक विस्तारसुरु भएसँगै अहिलेसम्म दुई दर्जन भन्दा बढीले यी सडक खन्डमा यात्रा गर्दा ज्यान गुमाइसकेका छन् । किन सडकमा बारम्बार पहिरो गइरहेको छ ? सडकको अवस्था के हो ? सडक विस्तारमा के कमजोरी भयो ? भन्ने लगायतका विषयमा क्लिकमान्डुले इन्जिनियर, भुर्गभविद् तथा पहिरो व्यवस्थापनको विषयमा पीएचडी गरेका डाक्टर कृष्ण देवकोटासँग गरेको कुराकानीमा आधारितः

नेपाल हिमालयको देश हो । भौर्गभिक हिसाबले हेर्ने हो भने पनि नेपालका हिमालहरु कमजोर अवस्थाका छन् । नारायणगढ–मुग्लिन सडक खण्डको सडक पनि कमजोर भौर्गभिक वनोटमा निर्माण भएको सडक हो ।

हामीले सडक विस्तार गर्दा जुन रुपमा भौर्गभिक अध्ययन गर्नु पथ्यो । त्यो अध्ययन भएन् । आवश्यक अध्ययनबिना सडक विस्तार गरिएको छ । तर, अध्ययन नै नभएको भन्दा पनि पर्याप्त मात्रामा अध्ययन हुन सकेन् ।

पूर्णइन्जिनियरिङ अध्ययनबिना सडक विस्तारको काम भएको छ । जसका कारण सानो पानी पर्नासाथ पनि पहिरो खसिरहेको छ । जसको कारण यो सडकमा अझै ५ देखि १० वर्षसम्म यस्तै अवस्था रहनसक्छ ।

मुख्य त यो सडकको गाईघाट–दासढुंगा खण्डमा ठुलो दरार छ । पहाड चिरा परेको अवस्थामा छ । यसैगरी तल्लो ठुलो दरार चुरेर र महाभारतको पनि यहीँ पर्छ । यहाँ ठुला-ठुला दरार छ ।

डा. देवकोटा

ठुला दरारसँग स-साना स्थानीय दरार पनि छन् । यस्तो अवस्थाको हिमालयमा बिनाअध्ययन सडक विभागले सामान्य अध्ययनको भरमा सडक विस्तार गर्दा समस्या आएको हो । यसका लागि विस्तृत अध्ययन आवश्यक पथ्र्यो । तर, त्यो हुन सकेन ।

यसकारण सानो पानी पर्नसाथ पनि पहिरो खसिरहेको । सडक निर्माणसँगै आउने समस्या र पहिरो नियन्त्रणका लागि आवश्यक उपायको विषयमा पनि खासै अध्ययन हुन सकेन । सडक विस्तार गर्दा सडक भन्दा ५०-६० मिटर माथिसम्मको मात्रै अध्ययन भएको छ । यो आवश्यक भन्दा अतिनै कमी हो ।

सडक विस्तारसँगै पहाड खन्दा पछि आउने सक्ने पहिरोको जोखिम नियन्त्रणका लागि करिब ५ सय मिटरसम्मको अध्ययन गर्दै समाधानको उपाय खोज्नु पथ्र्यों । यी सबैको समस्याको प्रमुख कारण बिनाअध्ययन गरिएको सडक विस्तारको काम हो । अब यसलाई फेरि पहिलेको अवस्थामा नै फर्काउ नसकिने भने होइन । पहिलेकै अवस्थामा फर्काउन फेरि इन्जिनियर अध्ययन आवश्यक पर्छ । यसका लागि ठुलै धनराशी खर्च हुन्छ ।

अब खर्च गर्ने किन वा नगर्ने कुरा मात्रै हो । कि सडकलाई एकतर्फी बनाउने अथवा विकल्पको रुपमा अर्को सडक खोज्ने त्यसका भर पर्छ । सडकमा दिनौं ठुलो सवारी गुडिरहेका छन् । ठुला सवारीले सडक हल्लाइरहेका छन् ।

जसको कारण समान्य पानीमा पनि पहिरो झरिरहेको छ । यात्रा गर्नेले पनि सचेत हुन आवश्यक छ । पानी परेको अवस्था र पानी रोकिन साथ यात्रा नगर्नु नै उचित हुन्छ । स्थानीय प्रशासन र सडक विभागको सूचनाको आधारमा यात्रा गर्नु उचित हुन्छ ।


पुष्प दुलाल