लक्ष्य अनुसार राजस्व नउठेपछि कर प्रशासनले उठायो फूल अडिटको अस्त्र




काठमाडौं । सरकारले चालु आर्थिक बर्षमा ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । असार १९ गते मंगलबारसम्ममा ६ खर्ब ६० अर्ब रुपैयाँ राजस्व उठेको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।

चालु आर्थिक बर्ष सकिने अब ११ कार्य दिन बाँकी छ । लक्ष्य अनुसार राजस्व उठाउन थप ७० अर्ब रुपैयाँ राजस्व उठाउनु पर्छ । अर्थात अब कार्यालय खुलेका दिन दैनिक ६ अर्ब ३६ करोड रुपैयाँ राजस्व उठ्यो लक्ष्य अनुसार राजस्व उठ्छ ।

कर अधिकारीहरुले अब हरेस खाइसकेका छन् । लक्ष्य अनुसार राजस्व उठ्नेमा उनीहरुलाई कम विश्वास छ । तर, अर्थमन्त्रालका उच्च अधिकारी तोकिए अनुसार राजस्व ‘जसरी पनि उठाउन’ ताकेता गरिरहेका छन् ।

‘जसरी भए पनि लक्ष्य अनुसारको राजस्व उठाउनु भन्ने दबाब दैनिकजसो नै आइरहेको हुन्छ, बैशाखयता मासिक लक्ष्य अनुसारको राजस्व उठेको छ, तर त्यसअघिको लक्ष्य अनुसार राजस्व नउठ्दा देखिएको कमी पूर्ति गर्ने गरी राजस्व अझै उठिरहेको छैन,’ एक कर कार्यालयका प्रमुख कर अधिकृत भन्छन् ।

‘माथिको दबाब’ अनुसार कर कार्यालयहरु अहिले फूल अडिटमा परेका करदाताको फाइल चाढो चाढो हेरेर कर निर्धारणमा ब्यस्त छन् । फूल अडिट (पूर्ण कर परीक्षण) बाट केही मात्रामा भएपनि राजस्व बढ्ने देखिएपछि कर कार्यालयहरु यता लागेका हुन् ।

आन्तरिक राजस्व विभागले प्रत्येक बर्ष आफू मातहत कार्यालयहरुलाई फूल अडिट गर्नुपर्ने करदाताको नामै तोक्ने गर्छ । यसरी फूल अडिटमा पर्ने करदातामा ७० प्रतिशत विभागबाटै तोकिन्छ भने बाँकी ३० प्रतिशत करदाता विभागले तोकेको मापदण्ड अनुसार कार्यालय आफैले छनोट गर्छन् ।

यसरी छनोट भएका करदाताको ४ आर्थिक बर्षभित्रमा फूल अडिट भइसक्नुपर्ने ब्यवस्था छ । यो ब्यवस्था अनुसार आर्थिक बर्ष २०७०/७१ मा छनोट भएका करदाताको फूल अडिट यो असार मसान्तसम्ममा सकिसक्नु पर्छ । करदाताको पूर्ण कर परीक्षण गर्ने कानुनी ब्यवस्था नै हो ।

‘आर्थिक बर्ष २०७०/७१ मा छनोट भएका करदाताको फूल अडिट यो असार मसान्तसम्ममा सकिसक्नु पर्ने बाध्यता भएपनि त्यसपछिकाको हकमा बाध्यकारी होइन, तर राजस्व असुलीको लक्ष्य नपुग्ने र माथिको दबाब आइरहने गरेकोले जुन जुन फाइल हेर्दा राजस्व बढी उठ्न सक्छ जस्तो लाग्छ र जुन जुन करदाताले तत्काल तिर्नुपर्यो भने पनि तिरिहाल्छ जस्तो लाग्छ, त्यस्ता फाइल र करदाताको फूल अडिटमा बढी ध्यान दिएका छौं,’ अर्काे कर कार्यालयका प्रमुख कर अधिकृतले भने ।

कर कार्यालयहरुले अहिले नगदको बढी कारोबार हुने र कम कर तिर्ने क्षेत्रका करदाताको फूल अडिटलाई केन्द्रमा राखेका बुझिएको छ । कर कार्यालयहरुले ट्राभल एजेन्सी, एयरलाइन्स, अस्पताल, परामर्शदाता संस्था, शैक्षिक परामर्शदाता, मेनपावर ब्यवसायी जस्ता करदाताको फूल अडिटलाई बढी केन्द्रमा राखिएको बताए ।


क्लिकमान्डु