माथिल्लो तामाकोशीको सेयरमा किन भइरहेको छ लफडा ?




काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित दोलखाबासीलाई साधारण सेयर बिक्री गर्ने तयारी गरिरहेको बेला सेयर बिक्री गर्न हुने र नहुने भन्दै विवाद सुरु भएको छ ।

आयोजनाले यही असार २० गते एक सार्वजनिक आह्वान पत्र जारी गरी सेयर खरिदका लागि स्थानीय प्रभावितलाई आग्रह गरेको छ । कम्पनीको कार्यतालिकाअनुसार यही असार २४ गतेदेखि आगामी साउन ९ गतेसम्म सो आयोजनाको सेयर बिक्री गरिनेछ ।

तर स्थानीयले भने वर्षाको समयमा स्थानीयबासी खेती किसानीमा हुने र सो अवधिमा सबैले सेयरमा आवेदन दिन नसक्ने अवस्था आएको भन्दै आवेदनको समय पर सार्न आग्रह गरेका छन् ।

दोलखाका नागरिक समाज र स्थानीय प्रतिनिधिले पनि बर्षाकालमा सबैले सेयरमा आवेदन दिने अवस्था नभएको भन्ने स्थानीयको माग जायज भएको बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निर्माण गरिरहेको ४५६ मेगावाट क्षमताको सो आयोजनाको हाल ९४ प्रतिशत निर्माण सकिएको छ ।

स्थानीयले शेयर आवेदन प्रक्रिया समेत वैज्ञानिक नभएको भन्दै गुनासो गरिरहेका छन् । उनीहरुले अति प्रभावित, प्रभावित र कम प्रभावितको श्रेणीमा आफूलाई विभक्त गरिएकोमा समेत गुनासो गरेका छन् ।

दोलखाबासी सबैलाई समान तवरले शेयर दिनुपर्ने उनीहरुको माग छ । तर कम्पनीले तयार पारेको व्यवस्थाअनुसार दोलखाबासीले न्यूनतम ३० कित्ता र अधिकतम ३०० कित्तासम्म सेयर पाउने छन् ।

स्थानीयले सेयर बिक्री प्रक्रिया पर सार्न गरेको आग्रह स्थानीयको आँखाबाट हेर्दा जायज देखिएपनि कानुनी रुपमा भने मिल्ने अवस्था छैन । नेपाल धितोपत्र बोर्डले दुई महिना भित्र शेयर बिक्री गरी त्यसको बाँडफाँड गर्न समेत भनेको छ । बोर्डले गत जेठ २३ गते माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई शेयर निस्काशनको अनुमति दिएको हो ।

सो मितिका आधारमा आगामी साउन २२ गते भित्र सबै काम सक्नुपर्ने हुन्छ । तर केही समय बढाएर भएपनि समस्याको समाधान खोज्ने पक्षमा कम्पनी रहेको छ । तर स्थानीयले आयोजनाको कुनै पनि माग सुन्ने अवस्था नरहेको बताउँदै आएका छन् ।

सेयर आवेदन प्रक्रियामा सहभागी हुने कि नहुने भन्दा पनि बर्षाको समयमा नै किन सेयर बिक्री गरियो भन्ने स्थानीयको भनाइ छ ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले स्थानीयले सेयर आवेदन दिने समय पर सार्न आग्रह गरेको बताएका छन् । उनले स्थानीयको माग जायज भएको भएपनि नियम र कानुनका कारण समस्या पर्न सक्ने बताए ।

तर बोर्डको नियमा ३५ दिन भित्र सेयर संकलन गर्न सकिने भन्ने व्यवस्था भएका कारण सोही अवधिलाई मानेर नयाँ निर्णय हुन सक्ने पनि देखिएको छ ।

स्थानीयबासीलाई सेयर बिक्री गरेपछि आयोजनाले सर्वसाधारणका लागि सेयर बिक्री गर्ने तयारी गरेको छ । स्थानीयबासीलाई १ अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको छ ।


क्लिकमान्डु