सहयोगबाट लगानीमा फैलदै चीन, नेपालमा यसरी बढ्दै छ चिनियाँ लगानी



काठमाडौं ।  पछिल्ला केही वर्ष यता नेपालमा चिनियाँ प्रत्यक्ष वैदेशिक लागनीको मात्रा बढिरहेको छ ।

चिनियाँ लगानी नेपालमा मात्रै होइन विश्वभरका अन्य देशमा पनि बढीरहेको छ । चीनले आफ्नो महत्वंकाक्षी परियोजना वान बेल्ट वान रोड(ओबीओर) संञ्चालन गर्ने योजना बनाएपछि चिनियाँ लगानीमा अत्याधिक बृद्धि भएको छ ।

ओबीओआर कुनैबेला चीनले घोषणा गरेको रेशमी मार्ग (सिल्क रोड) को परिमार्जित स्वरुप हो । सडक, यातायात, रेल र ऊर्जाका माध्यमबाट व्यापार विस्तार गर्ने सोचका साथ सुरु गरियको यो परियोजनाले प्रत्यक्ष छुने ६४ वटा देशमा चीनको लगानी केन्द्रीत रहेको छ ।

चीनले ओबीओर अन्र्तगतका देशमा पूर्वाधार निर्माणका लागि मात्रै एक सय ६० बिलियन डलर खर्च गर्ने बताएको छ ।

वि.स २०७२ नेपालमा संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दी पश्चात नेपाल आफै चीनसँग नजिकिन गएपछि नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता थप उत्साहित भएका थिए ।

चीनबाट २०७४ साउन १ गते देखि २०७५ बैशाख २८ गतेसम्म मात्रै ९४ वटा परियोजनाका लागि ४३ अर्ब रुपैयाँ प्रत्यक्ष लगानीको प्रस्ताव भएको उद्योग विभागको तथ्यांकले देखाएको छ । विभागको तथ्यांक अनुसार गत वर्षको साउन यता ४१ वटा देशबाट प्रत्यक्ष वैदेशिक लगानी स्वरुप करिब ५० खर्ब रुपैयाँ लगानी प्रस्ताव भएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा नेपालमा कुल ६ अर्ब ३६ करोड ७० लाँख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी स्वरुप भित्रिएको थियो । २०७२/७३ मा सबै देशको लगानीमा कमी भईरहँदा चिनियाँ लगानीमा भने बृद्धि भएको देखिन्छ ।

नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा भारत पनि निकै अग्रसर रहेको भएपनि ०६९/७० देखि भने भारतलाई उछिन्दै चिनियाँ वैदेशिक लगानीको मात्रा नेपालमा बढेको पाईन्छ । ०६९÷७० मा चीनले नेपालको कुल प्रत्यक्ष वैदेशिक लगानीको २९ प्रतिशत हिस्सा ओगटेको थियो । यो संख्या बढेर ०७०/७१ मा हङकङ बाहेक मुख्य भूमि चीन एक्लैको हिस्सा ३७ प्रतिशत पुग्यो भने हङकङसहित जोड्ने हो भने चीनको कुल लगानी ४० प्रतिशत हुन आउँछ ।

२०७०/७१ मा ४९ वटा देशले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता गरेका थिए । जसमा चीनले सबैभन्दा धेरै ६ सय ९५ वटा परियोजनामा करिब १८ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको थिए ।

आर्थिक वर्ष ०७३/७४ मा पुग्दा चिनियाँ लगानी उल्लेख्य मात्रामा बृद्धि हुन पुग्यो । गत आर्थिक वर्ष चीन मुख्यभूमिको ४९ प्रतिशत र हङकङसहित झन्डै ६८ प्रतिशत पुगेको देखिन्छ ।

२०४९ पछि नै नेपालले बाह्य लगानीका लागि सीमित क्षेत्रहरूमा बाहेक प्रायः सबै क्षेत्र खुला गरिसकेको छ ।

नेपालमा चिनियाँ लगानी धेरै हुने क्षेत्र मध्ये होटल तथा रेष्टुरेण्ट मूख्य क्षेत्र हो । गत वर्ष मात्रै चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको विकासका लागि १३ अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।

त्यस्तै, जलविद्युत लगानीका लागि १ अर्ब ६० करोड अमेरिकी डलर चीनले नेपालमा लगानी गर्ने पनि बताएको थियो । १ सय २८ मिलियन रकम चीनले नेपाललाई अनुदानको रुपमा दिने बताएको थियो गत वर्ष ।

त्यसो त नेपालमा सिरिया, इजरायल र उत्तर कोरिया जस्ता देशबाट पनि प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

सेवा तथा पर्यटन उद्योगमा चिनियाँ लगानी भित्रिरहदा पर्यटन व्यवासायी भने त्यति खुसि देखिदैनन् । नेपाल टुर एण्ड ट्राभल एजेण्टस अध्यक्ष सिएन पाण्डे भने चिनियाँ लगानीलाई पुरै सकारात्मक तरिकाले हेरिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् ।

चिनियाँ पर्यटकको संख्यामा बृद्धि भएको देखिएपनि चिनियाँ पर्यटकले बास बस्नको लागि चिनियाँ होटल र खानको लागि चिनिया खाना नै खोज्ने प्रवृति पनि उत्तिकै बढेको उनले बताए ।

‘उपत्यका तथा उपत्यका बाहिरका पर्यटकीय क्षेत्रमा चिनियाँ लगानीको होटल खुलेसँगै चिनियाँ पर्यटक अन्य होटल तथा रेष्टुरेण्टमा जान छाडेका छन्’,उनले भने । पाण्डेका अनुसार चिनियाँ पर्यटकको यस्तो व्यवहारले संख्यात्मक रुपमा पर्यटक बढाएको तर नेपाली पर्यटन व्यवसायीलाई भने त्यसको धेरै लाभ नभएको बताउँछन् ।

सहयोगबाट लगानीतर्फ मोडिदै

समृद्ध चीनका योजनाकार मानिने देङ सियाओ पिङ सन् १९७८ मा नेपाल आएका थिए । उनी त्यतिखेर चीनका उपप्रधानमन्त्री समेत रहेका थिए । पिङले नेपाल आउँदा राखेको लगानी साझेदारी प्रस्ताव नेपालले अस्वीकार गरेको थियो ।

त्यसपछि चीनले नेपालमा लगानी भन्दा सहयोग गर्न सुरु गरेको थियो । तर, पछिल्ला वर्षमा चीन सहयोगभन्दा लगानीमा धेरै रुची देखाउन थालेको छ ।
नेपालमा चिनियाँ लगानीका १ हजार ६० उद्योग भन्दा धेरै व्यवसाय दर्ता भएका छन् ।

पहिलो चिनियाँ लगानी

नेपालमा चिनियाँ लगानी आउन थालेको तीन दशक भयो । २०५४ साल पौष २१ मा तत्कालिन लाल दरबारमा चिनियाँ लगानीमा ‘कुल बिजुली पंखा’ स्थापना भएको थियो । यो उद्योगमा चाइना सिचुवान कर्पोरेसनले लगानी गरेको थियो । कुल बिजुली पंखा उद्योगले वार्षिक ४० हजार पंखा बनाउँथ्यो ।

चीनले सन् १९९० मै ‘गो ग्लोबल’ नारा मार्फत आफ्ना लगानीकर्ता र व्यापारीलाई विश्वभर फैलिन प्रोत्साहन दिएको थियो । चीन सरकारको गो ग्लोबल नारा सहित हिडेका लगानीकर्ता अहिले विश्वभर फैलिएका छन् ।

सन् २०१६ मा मात्रै चीनले विश्वभर १ खर्ब ४५ अर्ब ६७ करोड अमेरिकी डलर लगानी गरिसकेको छ ।

सन् १९९० पछि पहिलो चरणमा चिनियाँ कम्पनीहरूले मलेसिया, म्यानमार, इन्डोनेसिया, थाइल्यान्डलगायत एसियाली मुलुकमा लगानी गर्न सुरु गरेका थिए ।


क्लिकमान्डु