वार्षिक २५ अर्बको चामल आयात, २ वर्षमा धानमा आत्मनिर्भर बन्ने लक्ष्य,के भन्छन् कृषि विज्ञ ?



फाइल

काठमाडौं । आज आसार १५ गते अर्थात राष्ट्रिय धान दिवस । प्रत्येक वर्षको असार १५ गते सरकारी स्तरबाटै धान दिवस मनाउने चल रहिआएको छ ।

खाद्यान्न बालीहरु मध्ये धान नेपालको प्रमुख बाली हो । नेपाली समाज अनुसार हरेक सामाजिक एवम् सांस्कृतिक कार्यहरुमा पनि धान र त्यसबाट उत्पादन हुने चामललाई आवश्यकताको वस्तु मानिन्छ ।

नेपालको राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन तथा रोजगारीको क्षेत्रका रुपमा समेत धान खेतिलाई प्रमुख मानिन्छ । नेपालमा वार्षिक १.५ अर्ब रुपैयाँ बराबरको धान तथा त्यसका उपउत्पादनहरु प्राप्त हुने गर्दछ ।

कृषिबाट प्राप्त हुने कूल ग्रार्हस्थ उत्पादन (जीडीपी) मा धानको योगदान करिब २० प्रतिशत रहेको छ । नेपालमा खेती गरिने कूल क्षेत्रफल मध्ये ४७.५ प्रतिशत जमिनमा धान खेती गरिन्छ । जसमध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशत भन्दा बढी रहेको छ ।

नेपालमा वर्षेनी २४ अर्ब बढीको चामल भारतबाट आयात हुने गरेको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय लगायतका कृषिसँग सम्बन्धित संस्थाहरुले असार १५ गतेलाई धान दिवसका रुपमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।

यस्तै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले ५ वर्षभित्र नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने अभिव्यक्ति दिंदै आएका छन् । कृषि मन्त्रालयले ३ वर्षमा ३ करोड नेपाली जनतालाई आवश्यक पर्ने धान उत्पादन गर्ने कुरा बारम्बार नबताएको पनि हैन । मन्त्रालयले यसो भन्न शुरु गरेको १ वर्ष बिति सक्यो, अब २ वर्षको समय बाँकी छ ।

के भन्छ मन्त्रालय ?

यही धान दिवसको अवसरलाई लिएर हामीले कृषि मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीसँग पनि कुरा गरेका छौँ । उनले असार १५ गते धान दिवसका दिन १५ लाख हेक्टरमा रोपाईँ गर्न लागिएको बताए ।

मन्त्रालयले काठमाडौं, मोरङ, सुनसरी, बाँके, बर्दिया, कैलाली लगायतका सबै स्थानमा एक साथ धान रोपाईँ सुरु गर्न लागेको कार्कीले जानकारी दिए । यस्तै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री खनालले आजै कपिलवस्तुमा सूनको हलोबाट धान रोप्ने कार्यक्रम तय गरिएको समेत उनले जानकारी गराए ।

हाल नेपालमा २२ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ भने अबको २ वर्षमा धानको उत्पादन ५८ लाख मेट्रिक टन पुर्याउने लक्ष रहेको कार्कीले बताए ।

५८ लाख मेट्रिक टन धान उत्पादन नेपालको ३ करोड जनसंख्याका लागि पर्याप्त हुने उनको भनाई छ ।

‘हामी कति धान तथा चामल नेपाल आयात भए भन्ने तथ्याङ्क राख्छाँै, तर कति नेपाली धान तथा चामल भारत गए भन्ने कुरा तथ्याङ्क छैन, अब हामी त्यसलाई पनि ध्यानमा राख्ने छौँ,’ कार्कीले भने ।

‘नेपालभर ५ देखि १० हेक्टर जमिन बाँझो छन्, त्यसलाई कसरी कृषिमा उपयोग गर्ने र धानको उत्पादन कसरी बढाउने भनेर विशेष छलफल गरिरहेका छाँै,’ कार्कीले भने ।

के भन्छन् कृषि विज्ञ ?

यस्तै, नेपाल सरकारका पूर्व सचिव तथा कृषिविज्ञ डा. हरि दाहालले नेपालमा उत्पादित धान नेपाली जनतालाई कमी भइरहेको बेला सरकारले धान निर्यातको कुरा गरिरहेको बताए ।

विभाग तथा मन्त्रालयले धानको उत्पादन बढीरहेको देखाएपनि फिल्डमा भने धानको उत्पादन नबढेको उनले जानकारी दिए । ३६ प्रतिशत क्षेत्रमा सिंचाई १२ महिना हुने भएपनि ५० प्रतिशत जमिन अझैपनि आकाशे पानीको भरमा कृषि गर्नु पर्ने अवस्था रहेको डा. दाहालले बताए ।

‘जलबायु परिवर्तनका कारण असार आउनु अघि नै पानी पर्यो, असारमा पानी परेको छैन, सिचाईँ भएका ठाउँमा धान रोप्न सुरु भएपनि प्रबिधि, श्रम र बिऊको अभावका कारण धान रोप्ने अवस्था देखिदैन, यस्तो अवस्थामा कसरी धानको उत्पादन ३ वर्षमा नेपालीलाई पुग्ने र निर्यात हुन सक्छ,’ डा. दाहालले भने ।

३ वर्षमा नेपालमा उपभोगका लागि पर्याप्त धान उत्पादनका लागि शुरुमा सरकारले ८० प्रतिशत जमिन आफ्नो स्वामित्वमा लिएर धान लगाउनु पर्ने उनले बताए ।

धान लगाउनु मात्र पर्याप्त नभएकाले धानको लगानी उठ्ने गरी भाउ पनि आउन आवश्यक हुनुपर्ने र उपभोक्ताले पनि सहज रुपमा किनेर उपभोग गर्न सक्नुपर्ने उनले बताए ।

‘पछिल्लो समय धेरै जसो उर्बर जमिनमा बस्ती, सडक तथा उद्योगहरु निर्माण भइरहेका छन्, जसले गर्दा बचेका केही जमिनमा खेती गर्दा त्यसमा काम गर्ने कोही नहुँदा जमिन बाँझो राख्नु पर्ने अवस्था रहेको छ,’ डा. दाहालले भने ।

यस्तै, अर्का कृषिविज्ञ डा. कुष्ण पौडेलका अनुसार नेपालमा २५ देखि ३० प्रतिशत मध्ये पश्चिममा रहेका जमिन बाँझो रहेका छन् । तराई क्षेत्रमा रहेका मध्ये २५ प्रतिशत जमिन अझै बाँझो नै छन् ।

उनले धान खेतीमा कति कमी आएको छ भन्ने कुरा ठ्याक्कै भन्न नसकिने भएपनि किसानहरुले उत्पादन बढाउने तरिकाले कृषि गर्न छाडेकाले धानको उत्पादन धेरै नहुने बताए ।

उनले नेपालमा ९ देखि ११ मेट्रिक टन धान उत्पादन हुने गरेको जानकारी दिए । असार १५ मा पानी भएका ठाउँमा मात्र धान रोपिने गरेको र अन्य खेतहरु बाँझो नै रहने गरेको उनले बताए ।

‘विगतका समयमा नेपालमा धान आयात गरिदैन थियो, त्यसैले भात खान अनिवार्य धान रोप्नु पथ्र्यो, अब चामल भारतबाट आउँछ, आफुले उत्पादन गर्दा लाग्ने खर्चको भन्दा कम मूल्यमा चामल किन्दा पाइन्छ भने किन धान रोप्नु त नेपालीले,’ डा. पौडेलले भने ।

उनले कृषि मन्त्री सूनको हलो जोत्न लुम्बिनी जान लागेको कुरालाई व्यङ्ग्य गर्दै भने ‘सूनको हलो जोतेर फलाएको मुरी धानले सधै पुग्ने हैन, संस्कृतिलाई प्राथमिकता दिनुपर्छ, त्यो सकारात्मक कुरा हो, तर देखावटी कुरा गरेर हुन्न ।’

उनले कृषि पेशालाई सम्मानको पेसा बनाउन नसक्नाले निरन्तर उत्पादन ओरालो लागेको बताए ।

‘हामी भारत र चाइनाले जस्तो खेती गर्ने भन्दै प्रतिष्पर्र्धामा उत्रिने भनेर उत्पादन बढ्दैन, नेपालमा धानको खेती गर्ने हो भने स्थानीय, रैथाने जस्ता विशिष्ठ धानहरु छन्, नेपालको जस्तो गुणस्तरको धान अन्य देशहरुमा फल्दापनि फल्दैन, यसलाई ठाउँ दिन सक्यो भने कुनै प्रतिष्पर्धाको आवश्यक पर्दैन, बरु अलि बढी पैसा लागोस्, तर नेपाली चामल उपभोग गर्ने बानी बसाल्न आवश्यक छ,’ उनले भने ।

उनले भारतमा खाद्य सुरक्षा भण्डारणको व्यवस्था भएको र प्रत्येक २ वर्षमा गरिब जनतालाई न्यून मूल्यमा खाद्य वितरण गर्ने गरेको कुरालाई जोड्दै कुषि उत्पादनमा सरकारले ५० प्रतिशतसम्म अनुदान दिनु पर्नेमा जोड दिए ।

‘हामी आफ्नो राम्रो उत्पादन भारत पठाउँछौँ, अनि भारतको मोटो सडेको चामल किनेर खान्छौँ, यस्तो प्रबृत्तिलाई रोक्नु पर्छ, त्यसको लागि सरकार आफैले नेपाली धान किनेर त्यसको प्रवद्र्धन गर्नु पर्यो, उत्पादन बढे मात्र उत्पादनको लागत बढ्न सक्छ,’ डा. पौडेलले भने ।


क्लिकमान्डु