यी देश, जो चिनियाँ ऋणमा चुर्लुम्मै डुबेका छन्, नेपाल पनि यसरी नै डुब्ने त होइन ?



काठमाण्डौ । चीन भ्रमण गरेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले एयरपोर्टमा पत्रकार सम्मेलन गरेर अब नेपाल सम्मृद्धिको युगमा प्रवेस गरेको सुनाए । प्रधानमन्त्री ओलीले केही परियोजनाहरुमा चिनियाँ लगानी भित्र्याउने सम्झौतासमेत गरेर नेपाल फर्किएका थिए ।

ओलीले आफ्नो चीन भ्रमणको मूख्य उपलब्धि केरुङदेखि रसुवागढी हुँदै काठमाडौंसम्म रेल ल्याउने सम्झौतालाई ठानेका छन् । चिनियाँ लगानीमा उक्त रेल बन्नेछ । लगानीको मोडेल के हुन्छ भन्नेबारे अहिले प्रष्टसँग उल्लेख गरिएको त छैन । यद्यपि चीनको ऋण लगानीमा रेल बन्ने कुरा स्वयं प्रधानमन्त्रीले संकेत गरेका छन् ।

चीनबाट खर्बौं ऋण ल्याएर रेल बनाउँदा भावी दिनमा त्यसको कस्तो असर पर्ला ? भनेर सत्तामा रहेका राजनीतिक नेतृत्वहरुले विश्लेषण गरेको देखिएन । त्यसैले हामीले चिनियाँ लगानी भएका देशहरुको अवस्था कस्तो छ भनेर जानकारी दिने उद्देश्यले यो आलेख तयार पारेका हौं ।
चीनको सरकारी बैंकले आफ्ना नागरिकलाई भन्दा धेरै ऋण विदेशलाई दिएको छ । चिनियाँ बैंकको यस्तो कदम त्यहाँको सरकारको रणनीति अन्तर्गत भएको हो ।

चिनियाँ राष्ट्रपति शि जिन पिङले वान बेल्ट वान रोड परियोजना अन्र्तगत कयौैं देशमा विकास परियोजनाका लागि ऋण उपलब्ध गराएका छन् । चीन वान बेल्ट वान रोडका लागि विश्वभरका धेरै देशमा लगानी गरिहरहेको छ ।

वाल स्ट्रिट जनरलका अनुुसार सन् २०१६ मा पहिलोपटक चीनले आफ्ना ४ सरकारी बैंकलाई कर्पोरेट ऋण भन्दा विदेशी ऋणमा धेरै केन्द्रित हुन आग्रह गरेको थियो । सन् २०१६ मा चीनले ३ देशलाई ऋण दिएको थियो ।

दक्षिण एसियाका ३ देश पाकिस्तान, श्रीलंका र माल्दिभ्समा चीनको सबैभन्दा धेरै ऋण रहेको छ । चीनको अत्याधिक ऋण तिर्न नसकेका कारण श्रीलंकाले गत बर्ष हम्बन टोटा पोर्ट चीनलाई हस्तान्तरण गरेको थियो ।

यस बाहेक पाकिस्तानपनि चिनियाँ ऋणमा डुबेको छ । पछिल्लो पटक पाकिस्तानमा देखा परेको आर्थिक संकटबाट पनि चीनले नै मुक्त गराएको थियो ।

माल्दिभ्समा पनि चीनले धेरै विकास परियोजनामा काम गरिरहेको छ । भारतले बनाउने भनेका परियोजना पनि त्यहाँको सरकारले चीनलाई हस्तान्तरण गरेको छ ।

मालदिभ्समा ५११ अर्ब डलरमा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्का पनि चीनको हातमा पुगेको छ ।

एक रिर्पोटका अनुसार चाईना कन्स्ट्रक्सन कम्पनीले दिने अन्तर्राष्ट्रिय ऋणमा ३१ प्रतिशतले बृद्धि भएको छ । विदेशी ऋण दर अन्य देशमा भने १.५ प्रतिशतले बृद्धि भएको छ ।

यसका अलावा सन् २०१७ मा अघिल्लो वर्षको तुलनामा बैंक अफ चाईनाले प्रदान गर्ने विदेशी ऋणमा पनि १०.६ प्रतिशतले बृद्धि भएको छ ।

वान बेल्ट वान रोड

पहिलो चरणमा ३ खर्ब अमेरीकी डलर लागत रहेको यो परियोजनाले चीनलाई सेन्ट्रल एसिया, दक्षिण पूर्वी एसिया र मध्यपूर्व एसियामा जोड्ने छ । यो परियोजनामा धेरै देश सामेल भएका छन्, तर यसमा धेरैजसो चिनियाँ लगानी रहेको छ ।

चीन एसियामा मात्रै होइन अफ्रिकी देशमा पनि विकास गर्न लागि परेको छ । अफ्रिकन देश जिबुतीमा अमेरिकन सैनिकको ठूलो अखडा रहेको छ । यही देशले चीनलाई एउटा महत्पूर्ण पोर्ट दिएको छ ।

गत वर्ष मार्च ६ मा तत्कालीन अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले गरिब देशलाई आफुमाथि निर्भर बनाउने कार्यमा लागेको आरोप लगाएका थिए ।

द सेन्टर फर ग्लोबल डेभलपमेन्टका अनुसार वान बेल्ट वान रोडमा सहभागी हुन लागेका ८ देश चिनियाँ ऋणमा डुबेका छन् । साउथ चाईना मर्निङ पोष्टका अनुसार पाकिस्तान चीनको आर्थिक उपनिवेश बन्ने खतरा बढेको छ । पाकिस्तानको ग्वादरमा चीनले ४० वर्षका लागि सम्झौता गरेको छ भने त्याँबाट संकलन हुने राजश्वको ९१ प्रतिशत चीनले लिने सम्झौता भएको छ ।

चीनको एक्जिम बैंकले इथोपिया, अंगोला, केन्या, सुडान, क्यामरुन, डेमोक्रेटिक रिपक्लिक अफ कंगोमा वृहद तथा विशेष लगानी गरेको छ । यस्तै इजिप्ट, नाइजेरिया, अल्जेरिया, दक्षिण अफ्रिका, मोजाम्बिक, नाइजर, जाम्बिया र मोरक्कोमा समेत पछिल्लो १४ वर्षमा ३०० प्रतिशत बढीले लगानी बढाएको छ ।

गरिबी, भोक, रोग र शोकमा रहेको अफ्रिकी देशहरुमा चीनले गरेको लगानीको प्रयोजन के हो त रु ती देशहरुमा नै प्रश्न उठन थालेको छ ।

चीनले अंगोला र नाइजेरियाबाट इन्धन र सुडानबाट तामा, जाम्बिया र कंगोबाट तामा र नामिबयिाबाट यूरेनियम लिएको छ । लगानी योग्य रकमको अभावमा रहेका विशाल र भीमकाय खानी अहिले चीनको कब्जामा पुगेको छ ।

यस्तै कंगोको विशाल माइन खानी समेत चीनको स्वामित्वमा पुगेको छ । पूराना रुख तथा काठ, सुन समेत करिब करिब अवैध रुपमा नै चिनियाँ व्यापारीको कब्जामा पुगेको छ । यस्तै रणनीतिक महत्वका व्यापारिक क्षेत्र तथा जग्गा समेत चिनियाँ व्यापारीले लिएका छन् ।

अनुसन्धनकर्ता जोन्स होप्किनकाअनुसार सुडानको तेल खानी चीनले लिएको छ भने मिनरलमा धनी रहेको कंगोको अधिकांश हिस्सा समेत चीनको पोल्टामा पुगेको छ । विगतमा अमेरिकी कम्पनीको प्रभूत्व रहने त्यस्ता खानी पछिल्ला दिनमा चीनले लिएको छ ।

समाजबादी शासनब्यवस्था अंगालेको भेनेजुएलाको अवस्था पनि उस्तै छ ।

यी हुन् चिनियाँ ऋणमा डुबेका देशहरु

पाकिस्तान

चीनको ऋणमा सबैभन्दा नराम्रोसंग फसेको देश हो पकिस्तान । पाकिस्तानमा ६२ अर्ब डलर बराबरका परियोजना सञ्चालित छन् । जसमा चीनको ८० प्रतिशत भन्दा धेरै हिस्सा रहेको छ । चीनले पाकिस्तानलाई उच्च ब्याज दरमा पनि कर्जा दिएको छ ।

जिबुती

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार गएका दुई वर्षमा उसको कूल ग्राहस्थ उत्पादमा विदेशी ऋणको योगदान ५० प्रतिशतबाट बढेर ८० प्रतिशत पुगेको छ । जिबुतीमा सबैभन्दा धेरै कर्जा चीनको एक्जिम बैंकको रहेको छ ।

माल्दिभ्स

मालदिभ्समा चीनले अहिले ८ सय ३० करोड डलर लगानीमा विमान स्थल निर्माणको काम सुरु गरेको छ । विमानस्थल नजिकै अर्को पुलपनि बन्दै छ, जसको लागत ४ सय करोड डलर रहेको छ । विश्व बैंकका अनुसार माल्दिभ्समा चिनियाँ कर्जाको लागत निकै ठूलो रहेको छ । माल्दिभ्सको विग्रदो राजनीतिक अवस्थाको फाईदा चीनले उठाएको छ ।

लाओस

दक्षिण पूर्वी एसियामा लाओस गरिब देशको सूचिमा पर्छ । लाओसमा चीनको वान बेल्ट वान रोड परियोजना अन्र्तगत रेल निर्माणको काम चलिरहेको छ । जसको लागत ६.७ अर्ब डलर रहेको छ । यो रकम भनेको लाओसको आधा जीडीपी हो । अन्तर्राष्ट्रिय मुद्रा कोषले लाओसले यही गतिमा विदेशी ऋण लिएमा उसलाई विदेशी ऋण प्राप्त गर्ने देशको सूचिबाट हटाउने बताएको छ ।

मङ्गोलिया

चीनको एक्जिम बैंकले सन् २०१७ को सुरुवातमा मात्रै १ अर्ब अमेरिकी डलर रकम लगानी गरेको थियो । वान बेल्ट वान रोड परियोजना अन्र्तगत यहाँ ३० अर्ब डलर लगानी भएको छ ।

मोन्टेनेग्रो

विश्व बैंकका अनुसार यहाँको कूल जीडीपीमा वैदेशिक ऋणको योगदान ८३ प्रतिशत रहेको छ । यहाँ सञ्चालन भएका ठूला परियोजनामा चीनले १ अर्ब डलर रकम लगानी गरेको छ । यो रकम पहिलो चरणमा मात्रै लगानी भएको हो ।

किर्गिस्तान

चीनको वान बेल्ट वान रोडमा जोडिएको किर्गिस्तानमा चीनले १.५ अर्ब डलर लगानी गरेको छ । कीर्गिस्तानमा भएको कूल वैदेशिक लगानीमा चीनको हिस्सा ४० प्रतिशत रहेको छ ।

ताजकिस्तान

ताजकिस्तान एशियाको गरिब देशमा पर्छ । ताजकिस्तानमा भएको कूल विदेशी ऋणमा चीनको हिस्सा ८० प्रतिशत रहेको छ ।

र, अन्त्यमा यो यथार्थ बुझेका नेपालीहरुको मन कतै नेपाल पनि यी देशहरुजस्तै चिनियाँ ऋणमा चुर्लुम्म डुब्ने त होइन ? भन्ने त्रासले हुँडलिरहेको छ । (बीबीसी हिन्दी सेवाको सहयोगमा)


पुष्प दुलाल