सेतो हात्ती बनेको चिनियाँ जहाजः प्रधानमन्त्रीको भ्रमण एजेण्डामा किन परेन ?




काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली असारको पहिलो साता चीनको भ्रमणमा जान लागेका छन् । उनले विभिन्न विकास निर्माणका परियोजनालाई आफ्नो भ्रमणको प्रमुख कार्यसूची बनाएको बताएका छन् ।

भ्रमणको तयारीका लागि समेत सम्बन्धित मन्त्रालयहरुले आवश्यक तयारी पनि गरिरहेका छन् । ओलीको कार्यकारी प्रमुखको हैसियतामा चीनको यो दोस्रो भ्रमण हो ।

विकास निर्माणका धेरै परियोजना बोकेर उनी छिमेकी शक्तिशाली राष्ट्रको भ्रमणमा निस्कन लागेका छन् । तर विगतमा चीन सरकारबाट भएका प्रतिवद्धता कार्यान्वयन नभएको, चिनियाँ ठेकेदारले नेपालमा काम नगरेको अवस्थामा प्रधानमन्त्रीको भ्रमणले के कस्तो प्रभाव पार्ला र के कसरी उनका प्रस्ताव कार्यान्वयनमा जालान् भन्ने आशंका पनि कायम रहेको छ ।

तर यो सामग्रीमा अन्य विषय भन्दा पनि हवाई तथा उड्डयन क्षेत्रको विषयमा उल्लेख गर्न खोजिएको हो ।

नेपालको उड्डयन क्षेत्रलाई थप प्रभावकारी र निजी क्षेत्रसँग प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ चीन सरकारले ६ वटा जहाज नेपालाई उपलब्ध गराउने निर्णय गर्यो ।

ती मध्ये २ वटा जहाज अनुदानमा दिइएको चिनियाँ दावी छ । यस्तै ४ वटा जहाजको भने न्यून व्याजदरको ऋणमा नेपालले खरिद गरेको हो । ती जहाज कहिले चालकको अभावमा उड्न सकेको छैनन् भने कहिले पाटपूर्जाको अभावमा मर्मत सम्भार समेत हुन सकेको छैन ।

चिनियाँ जहाज नेपालका लागि सेतो हात्ती भन्दा बढ्ता हुन सकेको छैन । मर्मत सम्भार गर्न क्याटलग नबुझिने, प्रशिक्षक चालक समेत नभएको, आएका चालक समेत अनेकन निहुँ खोजेर भाग्ने गरेको अवस्थामा चिनियाँ जहाजले नेपालाई फाइदा भन्दा बढ्ता बेफाइदा मात्रै गरेको छ ।

बजार मूल्य भन्दा बढी मूल्य तिरेर ल्याइएका ती जहाज नेपाललाई सहज रुपमा प्रयोग गर्न दिने वातावरण बनाउन प्रधानमन्त्री ओलीले भ्रमणको क्रममा आवश्यक विचार विमर्श वा तयारी गरेका छन् त ? सरोकार भएका निकायले प्रश्न उठाएका छन् ।

पर्यटन आगमन बढाउने सरकारको नीतिलाई आधार मानेर सो विषय समावेश गरिएको भएपनि चिनियाँ जहाजको बारेमा कुरा नगरिनुले नेपालले कहिलेसम्म सेतो हात्ती पाल्नुपर्ने हो त्यसको कुनै निक्र्योल समेत हुन नसक्ने भएको छ ।

चीनका ५ एयरलाइन्सले चीनका विभिन्न सहरबाट काठमाडौंको उडान गर्दै आएका छन् । त्यसमा चाइना इस्र्टन, एयर चाइना, चाइना साउर्दन एयरलाइन्स, तिब्बत एयरलाइन्सले काठमाडौँमा दैनिक उडान गर्ने गरेका छन् ।

चनियाँ जहाज एमए ६० को बीमा शुल्क चार गुणा बढी रहेको छ ।

बीमा शुल्क जहाजको कुल मूल्यको ४ दशमलव ७ प्रतिशत रहेको छ । यो हिसाबले दैनिक २ लाख ४८ हजार रुपैयाँ बीमा मात्रै तिर्नु पर्दछ ।

वार्षिक रुपमा मात्रै बीमा शुल्क ९ करोड ५ लाख २० हजार रहेको छ ।

चिनियाँ जहाजको उडान क्षमता पनि कम्पनीले जनाएको भन्दा कम रहेको छ ।

चिनियाँ जहाज पटक पटक ग्राउण्डेड भएका छन् । स्पेयर पाट्र्स असाध्यै महँगो पर्ने, ल्याउन समेत समस्या हुने, पाइलट, इन्जिनियर, क्याबिन क्रुको तालिममा बोइङ ७५७ को भन्दा बढी खर्च हुने गरेको छ ।

बीमा रकम पनि एयरबस वा बोइङका ठूला जहाजका तुलनामा चार गुणा बढी रहेको पाइएको छ ।

जहाज आउनुअघि भनिएको भारवहन क्षमता पनि जहाजमा रहेको छैन ।

काठमाडौंबाट ५६ सिट क्षमताको एमए–६० उड्दा ५४ जना यात्रु मात्र उडाउन सकन्छि ।

काठमाडौं फर्किदा यो जहाजले भद्रपुरबाट ३६ जना र धनगढीबाट बढीमा ४८ जना मात्रै ल्याउन सकिन्छ । यो समस्या वाई १२ जहाजमा पनि रहेको छ । तर प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा यो विषय भने समावेश गरिएको छैन ।

उच्च राजनीतिक तहमा सहमति भएको खण्डमा मात्रै नेपाल वायु सेवा निगमले र अन्ततः सरकारले भोग्दै आएको यो समस्या समाधान हुन सक्छ । अन्यथा निगमका लागि चिनियाँ जहाज सेतो हात्ती भन्दा बढी अरु हुने वाला छैन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा हवाइ उडानको रुटलाई पनि आफ्नो कार्यसूचीमा राखेको जनाएको छ ।

मन्त्रालयले तयार पारेर परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएको भनिएको एजेण्डामा चीनको बेइजिङ गोन्जाओ, सांघाईलगायतका गन्तव्यमा नेपाली जहाजको उडान सम्झौताको विषय समावेश गरिएको छ । तर चीबाट आयात भएको जहाजको विवषयमा भने एजेण्डा मौन जस्तै रहेको छ ।


क्लिकमान्डु