सिंगापूरमा यति चाढै कसरी आयो बेहिसाब सम्पत्ति ?




नेपाली समय अनुसार जेठ २९ गते विहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरकोरियाली नेता किम जोङ उनबीच वार्ता सम्पन्न भएको छ । सिंगापूरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा भएको वार्ता सकारात्मक र फलदायी भएको दुबै देशका नेताले प्रतिक्रिया दिएका छन् ।

दशकौंदेखि तित्ततापूर्ण सम्बन्ध रहिआएको अमेरिका र उत्तर कोरियाबीचको वार्ता एशियाली देश सिंगापूरमा भएको छ । यो वार्ता एक्काइसौं शताब्दी एशियाली शताब्दी हो भन्ने तर्कलाई थप बल दिन सहयोगी भएको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र एशियाली देश चीनको छ । जापान, दक्षिण कोरिया, खाडी मुलुक मात्र होइन, उदयमान शक्तिका रुपमा अगाडि आइरहेको भारत जस्ता देशले अवको विश्व एशियाली मुलुकले नेतृत्व गर्दैछन् भन्ने प्रमाण दिइरहेका छन् ।

अमेरिका र उत्तर कोरियाबीचको वार्ताले विश्व बजारमा सकारात्मक प्रभाव पारेको छ । एशियाली प्रमुख सेयर बजारमा बृद्धि भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

दुई नेताबीच वार्ता चलिरहदा जापानको पुँजी बजार मापक नेक्की, दक्षिण कोरियाको कोस्पी, अष्ट्रेलियाको एसएण्डपी, हंगकंगको हंगसेङ इन्डेक्स बढेका सीएनबीसीडटकमले उल्लेख गरेको छ ।

यसै प्रसंगामा बीबीसी हिन्दीले सिंगापूरमा यति चाढै कसरी आयो बेहिसाब सम्पत्ति ? शिर्षकमा एउटा विश्लेषण पस्केको छ । जसमा यस्तो लेखिएको छः

सिंगापूर, एक यस्तो देश, जो क्षेत्रफलको हिसाबले भारतको राजधानी दिल्ली र पाकिस्तानको राजधानी इस्लामाबाद भन्दा पनि सानो छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इन्डोनेसिया गएका छन् । र, लगत्तै सिंगापूर पुग्दैछन् ।

भारतीय प्रधानमन्त्री मोदी हरेक समस्याको समाधान विकास हो भनिरहेका छन् । र, सिंगापूरले सारा संसारमै एकदमै छोटो समयमा विकासको अतुलनीय गाथा लेखेको छ ।

जुनबेला सिंगापूर स्वतन्त्र भएको थियो, त्यो बेला ऊसँग सायदै यस्तो कुनै चिज थियो, जसको उपयोग गरेर सो देश गरीबीबाट मुक्त हुन सक्थ्यो ।

सिंगापूरसँग न त खेतीयोग्य जमिन थियो, न त खनिज सम्पदा नै । अधिक जनसंख्या झुपडबस्तीमा बास बसिरहेको थियो ।

तर, आज यो देशको सम्पन्नताको कुरा गर्ने हो भने सिंगापूर यस्तो देश हो, जहाँका नागरिकको औषत तलब संसारभरमा तेस्रो नम्बरमा छ ।

परामर्श दातृ संस्था जुनीपर रिसर्चका अनुसार मोबिलिटी, स्वास्थ्य, सुरक्षा र उत्पादकत्वको सन्दर्भमा सिंगापूर संसारभर सबैभन्दा अगाडि छ ।

यति मात्रै होइन, द इकोनोमिष्ट म्यागाजिनको र्यांकिङमा सिंगापूर गएको ५ बर्षदेखि संसारभरको सबैभन्दा महंगो सहरको रुपमा रह्यो ।

तर, सिंगापूरको कहानी सधै यस्तो थिएन । एक सयम यस्तो पनि थियो कि भारत, अष्ट्रेलिया र म्यानमार जस्तै गरी सिंगापूर पनि बेलायती उपनिवेश बनेको थियो ।

जब सिंगापूर माथि बम बर्सियो
यो कुरा दोस्रो विश्व युद्ध ताकाको हो । सिंगापूरलाई ‘जब्राल्टर अफ दि इष्ट’ पनि भनिन्थ्यो । किनकि सिंगापूरमा बेलायती सेनाको उपस्थिति असाध्यै ठूलो थियो ।

तर, सन् १९४२ मा जापानले बेलायतलाई लज्जास्पद पराजय भोग्न बाध्य पारिदियो ।

त्यसपछि बेलायती तत्कालिन प्रधानमन्त्री विष्टन चर्चिलले सो हारलाई ‘बेलायती इतिहासकै सबैभन्दा ठूलो नोक्सानी र सबैभन्दा ठूलो आत्मासमर्पण’ भने ।

तर, सन् १९४४-४५ मा अमेरिकी विमानले जापानको कब्जामा रहेको सिंगापूरमाथि धावा बोल्यो ।

यो आक्रमणमा सिंगापूरमाथि ब्यापक बम बर्षा भयो । जसको कारण सिंगापूरका बन्दरगाह ध्वस्त भए ।

तर, यसपछि सिंगापूरले आफ्नो नयाँ इतिहास लेख्न सुरु गरिदियो ।

जब सिंगापूरले आफ्नो हिरो ‘ह्यारी लि’ भेट्यो
जापानको नियन्त्रणमा रहेका बेला सिंगापूरका जनताले यावत् प्रताडनाको सामना गर्नुपर्यो ।

सन् १९२३ को सेप्टेम्बर १६ मा जन्मेका लि क्वान यी एक चिनिया आप्रवाशी परिवारको तेस्रो पुस्ताका छोरा थिए ।

सिंगापूरको अग्रेजी माध्यममा पढाइ हुने एक विद्यालयमा पढ्दै गरेका लि क्वान यीको हाउभाउ पनि बेलायती नागरिकको जस्तै थियो । त्यसैले उनलाई बच्चा बेलामा ‘ह्यारी लि’ भनेर बोलाइन्थ्यो ।

सिंगापूरमाथि जापानी नियन्त्रणको बेलामा लिको पढाइ अति प्रभावित भयो । तर, जब युद्ध समाप्त भयो, तब उनले लण्डन स्कूल अफ इकोनोमिक्स र क्याम्ब्रिज विश्वविद्यालयमा पढे ।

विद्यार्थीकालदेखि नै प्रतिबद्ध समाजबादी बनेका लि सिंगापूर फर्केर एक प्रमुख ट्रेड युनियन वकिल बने ।

सिंगापूरलाई स्वतन्त्र बनाए
सन् १९५४ मा लिले पिपुल्स एक्सन पार्टी (पीएपी) स्थापना गरे ।

यसपछि उनी पार्टीको महासचिब बने र ४० बर्षसम्म उनी यही पदमा रहे ।

सन् १९५९ को चुनाबमा पीएपीले बहुमत प्राप्त गर्यो ।

यसरी सिंगापूर बेलायती नियन्त्रणबाट पूर्ण रुपमा मुक्त भएर एक स्वशासित मुलुक बन्यो ।

लिले सिंगापूरलाई सन् १९६३ मा बिलय गराए । तर अनेकन कारणहरुले गर्दा यो गठबन्धन धेरै दिन चलेन ।

यसपछि सन् १९६५ मा बैचारिक रस्साकस्सी तथा जातीय समुहबीचको हिंश्रक संघर्ष पछि सिंगापूर सो संघबाट निस्केर स्वतन्त्र देश बन्यो ।

लिका लागि यो एक कठिन कदम थियो । जुन सिंगापूरलाई मलेशियाको औपनिवेशिक अतितबाट सधैका लागि टाढा राख्ने प्रयास थियो । लिले यसलाई एक खराब अभियान भनेका थिए ।

सिंगापूरलाई फेरि बनाउने प्रक्रियाको शुरुआत
बर्षाैं पहिलाको बेलायती राज, जापानी नियन्त्रण र पुन मलेशियाको प्रभुत्वबाट मुक्त भएर सिंगापूर एक स्वतन्त्र देशको रुपमा सास लिइरहेको थियो ।

तर, यो देशसँग कुनै यस्तो बस्तु थिएन, जसले सिंगापूरलाई विकासको बाटोमा इन्धन भर्ने काम गर्न सकोस् ।

बहुसंख्यक जनता कच्चा झुपडी जस्ता सामान्य घरमा बस्न बाध्य थिए ।

विश्व बैंकको एक प्रतिबेदन अनुसार सन् १९६५ मा सिंगापूरको प्रतिब्यक्ति जीडीपी ५१६ अमेरिकी डलर थियो र करिब आधा जनसंख्या अशिक्षित थियो ।

तर यी तमाम समस्याकाबीच पनि सिंगापूरले सन् १९६० देखि सन् १९८० को बीचमा प्रतिब्यक्ति कूल राष्ट्रिय उत्पादनमा १५ गुणा बृद्धि गर्ने जस्तो ऐतिहासिक किर्तिमान बनायो ।

सिंगापूरका पूर्वप्रधानमन्त्री लि क्यान यीको सोच थियो कि इजरायलको जस्तै गरी सिंगापूरले पनि छलाङ मारेर आफ्ना छिमेकी देशलाई पछाडि छोड्ने र बहुराष्ट्रिय कम्पनीलाई आकर्षित गर्ने ।

हुन त एक बर्बाद र सानो देशबाट जाज्वल्यमान भवनहरुको देश बन्ने प्रक्रियामा सिंगापूरे जनताले एउटा ठूलो मूल्य पनि चुकाए ।

सिंगापूर सरकारले जनसंख्या नियन्त्रणको लागि दुईभन्दा बढी बच्चा जन्माउने ब्यक्तिमाथि कर लगाउन पनि सुरु गर्यो ।

यति मात्रै होइन, भ्रष्टाचारको समस्या नियन्त्रण गर्न सिंगापूरले यस्तो कडा कानुन बनायो, जसको कारण भ्रष्टाचारमा कमी देखियो ।

सिंगापूरले शानदार सडक र हाइवे बनाउन बढी जोड दियो, जसले गर्दा आधारभूत ढाँचामा विकास गर्न सकियोस् ।

सिंगापूरले कसरी गर्यो यति विध्न कमाइ ?
सिंगापूरको अनुहार बदल्नमा यसको भौगोलिक अवस्थितिको पनि एउटा ठूलो योगदान छ ।

यो देश मलक्का जलडमरुको मुहानमा छ, जहाँबाट संसारभरको ४० प्रतिशत सामुन्द्री ब्यापार हुन्छ । यही ब्यापारबाट सिंगापूरले प्रसस्त कमाइ पनि गर्ने गरेको छ ।

यसको १९० किलोमिटर लामो तटीय रेखामा गहिरो पानी भएका धेरै बन्दरगाह पनि छन् ।

यति मात्रै होइन, लि क्वान यीको सरकारले सुरुदेखि नै सिंगापूरमा बस्ने मिश्रित जनतालाई शिक्षित गर्ने र मानव संसाधनमा पैसा खर्च गर्न थाल्यो ।

अहिले सिंगापूरलाई संसारभरकै आर्थिक अड्डा मानिन्छ । किनकि सिंगापूरका बैंकले विश्वस्तरीय सेवा दिन सकेका छन् ।

सन् २०१७ को ग्लोबल फाइनान्स सेन्टर इन्डेक्समा सिंगापूरलाई लण्डन र न्यूयोर्कपछिको तेस्रो सबैभन्दा प्रतिस्पर्धी आर्थिक केन्द्रको स्थान दिइयो ।

सिंगापूर सरकारका अनुसार सन् २०१७ मा १ करोड ७४ लाख अन्तराष्ट्रिय पर्यटकले सिंगापूरको भ्रमण गरे, जुन सिंगापूरको जनसंख्याको ३ गुणा बढी हो ।

सर्बसाधारणको लागि कस्तो छ सिंगापूर ?
सिंगापूरमा बस्ने बहुसंख्यक आप्रवासी सो देशको महंगीको स्तरबाट आफूलाई खासै प्रभावित नगरेको बताउँछन् । किनकि सिंगापूरमा सर्बसाधारणको आम्दानी अन्य देशको तुलनामा राम्रो छ ।

सिंगापूर सरकारका अनुसार ९०.७ प्रतिशत जनतासँग आफ्नै घर छ ।

जब सिंगापूरको सफलताको कुरा हुन्छ, तब पूर्वप्रधानमन्त्री लि क्वान यीको एउटा भनाइ याद आउँछ ।

लिले एक पटक भनेका थिए, ‘आखिर मैले के पाएँ ? एक सफल सिंगापूर । बदलामा मैले के दिएँ ? मेरो जिबन ।’

भ्रष्टाचारको अन्त्य
लिले अरबी मुलुकले घेरिएको इजरायललाई मानक माने । उनको भनाइ थियो कि इजरायलको जस्तै हामीले पनि छलाङ मारेर छिमेकी देशलाई पछाडि छोड्नु पर्छ र बहुराष्ट्रिय कम्पनीहरुलाई भित्र्याउनु पर्छ । उनी चीनसँगको असल सम्बन्धको महत्व बुझ्थे । चिनिया नेता देङ जियाओपिङसँगको मित्रवत सम्बन्धले उनलाई सहयोग पनि प्राप्त भयो ।

देङले सन् १९७८ मा सिंगापूरको भ्रमण गरे । र, लिको आर्थिक नीतिको प्रसंशा पनि गरे । लि पनि देङले चीनमा गरको सुधारबाट प्रभावित थिए ।

सिंगापूरमा फैलिएको भ्रष्टाचार अन्त्य गर्न लिले नयाँ उपाय निकाले । र, रोजगारी उपलब्ध गराउनेको लागि कम लागतका आवाश र औद्योगीकरणका कार्यक्रमको सुरुआत गरे ।

उनले सिंगापूरलाई बहुसंस्कृतिबादको आधारमा एक बेग्लै पहिचान दिलाउने प्रयास गरे । यसको लागि उनले विभिन्न जातीय समुहलाई एक अर्कासँग जोडे ।

अनि नेपाल ?
नेपालले परचक्री पाउँ पुज्न परेन । तर, स्वजनकै १०३ बर्षे तानाशाही जहानिया राणा शासन र त्यसको एक दशक नबित्दै फेरि ३० बर्षे पन्चायती निरंकुशता भोग्यो । २०४६ सालमा पुनस्थापना भएको प्रजातन्त्रको पटांगिनीमा १० बर्षे ‘ससस्त्र जनयुद्ध’ चल्यो ।

२०६२÷०६३ को जनआन्दोलनले राजाको तानाशाही शासन ब्यवस्था र ‘ससस्त्र जनयुद्ध’को अन्त्य गर्यो । तर, संविधान बन्न १० बर्ष समय फेरि पनि खेर गयो ।

संघीय गणतन्त्रात्मक संविधान कार्यान्वयनमा छ । गाउँस्तरदेखि केन्द्रसम्म निर्वाचित प्रतिनिधि आएका छन् । आर्थिक विकास र समृद्धिको पुस्तौंदेखिको नेपाली तिर्खा मेटिने आशा गरिएपनि यसको धुमिल आकृति पनि देखिएको छैन ।

प्राकृर्तिक स्रोत र साधानले भरिपूर्ण नेपाल सिंगापूर जस्तो आन्तरिक उत्पादनको सम्भावना नभएको देश होइन । सिंगापूरसँग विश्वको सामुन्द्रिक ब्यापारको ४० प्रतिशत हिस्सा ओघट्ने बन्दरगाहा छ, हामीसँग विश्वको आधा जनसंख्या उत्तर र दक्षिणमा जोडिएको छ । भीमकाय अर्थतन्त्र भएका चीन र भारत हामीसँग जोडिएका देश छन् ।

विश्व महाशक्ति राष्ट्र अमेरिकका राष्ट्रपति र आणविक उत्पादनले विश्वलाई नै हल्लाइरहेको उत्तर कोरियाल त्यही सानो मुलुक, विगतमा बेलायती उपनिवेश बनेको र गरीबी तथा अभावबाट केही बर्ष अगाडि मात्रै मुक्त भएको सिंगापूरमा वार्ता गरे ।

तर, गरीब र कमजोर सोचको धनी नेपाल यावत् सम्भावनालाई सिरानी हालेर सुनको कचौरामा कसैले खोटो नोट भएपनि देला कि भन्ने आशामा भौतारिरहेको छ ।


क्लिकमान्डु