उखरमाउलो गर्मीले संकटमा सौराहको पर्यटन व्यवसाय




भरतपुर, चितवन । चितवन जिल्लाको सौराह पर्यटकीय क्षेत्रका रुपमा चिनिन्छ । तर, सौराहमा अहिले पर्यटकको संख्या अत्यन्त न्यून छ, जसले गर्दा यहाँको पर्यटन व्यवसाय संकटमा रहेको छ ।

चितवनमा बढेको अत्याधिक गर्मीसँग पर्यटन आगमन न्यून छ । जेठदेखि भदौ महिनासम्म सौराहको पर्यटन व्यवसायलाई अफ सिजनका रुपमा लिइन्छ । असोजदेखि चैत बैशाखसम्म भने यहाँको पर्यटन व्यवसाय फस्टाउने गरेको रेष्टुरेन्ट एण्ड बार एशोसियशन नेपाल (रेवान सौराह) का पूर्वअध्यक्ष लालबहादुर भट्ट बताउँछन् ।

अहिले केही भारतीय र चाइनिज पर्यटकहरु मात्र सौराहमा रहेका छन् । आन्तरिक पर्यटक पनि हिजोआज सौराह आएका छैनन् । जसले गर्दा सौराहको पर्यटन व्यवसाय अहिले घाटामा चलिरहेको छ ।

सौराहको पर्यटन व्यवसायमा लगानी कति ?
सौराह क्षेत्रमा २ सय होटल तथा रेष्टुरेन्ट रहेका छन् । यो व्यवसायमा ३ अर्ब माथिको लगानी रहेको छ । जहाँ १५ सय जनाले रोजगारी समेत पाएका छन् । सबै होटल, कटेजमा गरी ४ हजार देखि ५ हजारसम्म पर्यटक धान्न सक्ने क्षमता रहेको छ । एक रातको लागि पाँच सयदेखि ५ हजारसम्मका कोठा सौराहमा पाइन्छ । सौराह क्षेत्रमा अहिले पनि ५ वटा होटल निर्माणधीन रहेका छन् ।

सौराहमा पर्यटक किन आउँछन् ?
पर्यटकहरुका लागि काठमाण्डौ र पोखरापछि तेश्रो गन्तव्यका रुपमा रहेको सौराहमा वन्यजन्तु अवलोकन, हात्ती सफारी, जिप सफारी, थारु कल्चर अवलोकन र वोटिङ गर्न पाइन्छ । सौराह क्षेत्रमा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले ६० वटा र राष्ट्रिय प्रकृति संरक्षण कोषले ६ वटा हात्ती पर्यटकलाई सफारी गराउन परिचालन गर्ने गर्छ ।

हात्ती सफारी बापत नेपालीले १ हजार, सार्क क्षेत्रका पर्यटकले १६ सय र अरु मुलुकका पर्यटकले २१०० रुपैया हात्ती सफारीको शुल्क तिर्नु पर्छ र निकुञ्ज प्रवेशमा थप ११३, ८४८ र १६९५ रुपैया शुल्क तिर्नु पर्छ । २ रात ३ दिनमा सौराह क्षेत्र घुम्न सकिन्छ । डच, युरोपियन, उरुग्वे, चाइनिज पटर्यटहरु सौराहमा बढी मात्रामा आउने गर्छन् । आन्तरिक पर्यटकहरु जाडो महिनाको सिजनमा विशेष गरी सौराह घुम्न आउने गरेका छन् ।

सौराह क्षेत्रका व्यवसायीका पीरमर्का
राप्ती र बुढी राप्ती नदीले पर्यटकीय क्षेत्र सौराह वर्षातको समयमा डुबानमा पर्ने गर्छ । गत वर्ष सौराह क्षेत्र डुबानमा पर्दा व्यवसायीहरुले करीब १ अरब बराबरको नोक्सानी व्यहोर्नु परेको क्षेत्रीय होटल संघ सौराहका अध्यक्ष सुमन घिमिरेले बताउँछन् । नारायणगढ–मुग्लिन सडकको दुरावस्था, सौराह क्षेत्रमा स्तरीय पार्कको अभाव, सूचना केन्द्र नहुनु, भ्यु टावर जस्ता संरचना नहुनु, विगतमा नारायणगढ–पोखरा हवाई उडान नहुनु जस्ता कारणले सौराहको पर्यटन व्यवसाय फस्टाउन नसकेको क्षेत्रीय होटल संघ सौराहका अध्यक्ष घिमिरेको भनाई छ ।

सौराहमा पर्यटन व्यवसाय फस्टाउन के गर्नु पर्ला ?
सौराहको पर्यटन व्यवसायलाई फस्टाउन नदिंने सवालमा ट्राभल्स एण्ड टुर्सले मुख्य भूमिका खेलेको बताउँछन् रेवास सौराहका पूर्व अध्यक्ष भट्ट । काठमाण्डौ र पोखरामा बेड एण्ड ब्रेकफास्ट प्लान लागु भएको छ । तर सौराहका व्यवसायीहरुबीचको अस्वस्थ प्रतिपर्धाका कारण यो बीबी प्लान लागु हुन सकेको छैन । जसले गर्दा ट्राभल एण्ड टुर्सहरुले प्याकेजमा पर्यटन घुमाउन ल्याउँछन्, पर्यटकहरुसँग ट्राभल्स टुर्सले एकमुष्ट रकम बुझ्छन्, तर होटल ब्यवसायीसँग भने रकम बाँकी राख्छन् । यसबाट सौराहका व्यवयायीहरु मारमा परेका छन् ।


क्लिकमान्डु