कफि शपको डिजाइनः पारखीले खोज्छन् प्रत्येक कपमा बेग्लै कथा




काठमाडौं । युरोपमा कफि घरको बारेमा प्रचलित उखान छ ‘हरेक क्रान्तिको जन्म कफि घरमा हुन्छ ।’

युरोपियन वा पश्चिमा देशमा कफिलाई पेय पदार्थ मात्रै नभई विचारसँग पनि जोडिन्छ । नेपालमा कफि घरबाट क्रान्तिको जन्म होला—नहोला, तर कफि व्यवसायले युवा पुस्ताका लागि व्यवसाय र रोजगारीका नयाँ अवसर भने सिर्जना गरेको छ ।

बर्सेनि लाखौँको संख्यामा युवाहरु अवसरको खोजिमा विदेश पलायन भईरहँदा स्वदेशमै मौलाएको कफि व्यवसायले युवा पुस्तामा साँच्चै नै क्रान्ति ल्याएको छ । नयाँ पुस्ता कफि पिउन मात्रै होइन, कफि व्यवसायमा पनि उत्तिकै तदारुकताका साथ लागेको छ ।

अहिले क्याफे र कफि उद्योगमा पनि युवा पुस्ताको लगानी उलेख्य मात्रामा देखिन थालेको छ । यस्तै एउटा युवा क्याफे व्यवसायी हुन् जनक बुढाथोकी । रामेछाप स्थाई घर भएका जनक बुढाथोकी भर्खर २४ वर्ष पुगेपनि उनी अहिले ८ वटा आउटलेट सहित एउटा क्याफेका मालिक हुन् । ७ वर्ष हिमालयन जाभामा बरिस्ता र कफि रोष्टर (भुट्ने) काम गरेका बुढाथोकी क्याफेमा भविष्य र मनग्गे आम्दानी देखेरै जागिर छाडेर क्याफे सञ्चालन गर्न थालेको बताउँछन् । उनी करिब तीन वर्षदेखि क्याफे सञ्चालन गरिरहेका छन् । उनको क्याफेबाट २४ जनाले रोजगारी पनि प्राप्त गरेका छन् ।

नेपाल कफि व्यवासायी महासंघका अध्यक्ष श्यामप्रसाद भण्डारी पनि कफि व्यवासायबाट मनग्गे आम्दानी गर्न सकिने बताउँछन् । उपत्यका र पोखरा कफि व्यवसायका लागि उपयुत्त स्थल हुन् । यी स्थानमा अहिले ७ सय भन्दा धेरै कफि शप रहेको भण्डारी बताउँछन् ।

एउटा क्याफेमा कम्तिमा पनि ४ देखि ८ जनाले रोजगार पाईरहेका छन् । देशभर कफि खेतिमा संलग्न रहेका २३ हजार घर परिवारको मूख्य आम्दानीको श्रोत नै कफि रहेका भण्डारी बताउँछन् ।

कफि व्यवसायमा रोजगारका धेरै क्षेत्रहरु छन् । हाल देशभरमा करिब ५ सय कफि संकलन केन्द्र छन् । एउटा संकलन केन्द्रमा कम्तिमा पनि २ देखि ४ जनाले रोजगारी पाएका छन् । त्यसैगरी ३० वटा कफि प्रशोधन कारखाना छन् । एक प्रशोधन कारखानामा ३ देखि ४ जनाले काम गर्ने गरेको अध्यक्ष भण्डारी बताउँछन् ।

कफि व्यवसायको पर्याप्त संभावना हुँदाहुँदै पनि विदेशबाट कफि आयात गर्नुपर्ने बाध्यता छ । अहिले बार्षिक डेढ करोड रुपैयाँ बराबरको कफि आयात गर्नु परेको बताउँछन भण्डारी । नेपालमा कफि आयात गर्नुपरे पनि नेपाली कफिको माग पनि अन्तर्राष्ट्रिय बजारमा उत्तिकै छ ।

भण्डारीका अनुसार अहिले युरोपेली देशहरुमा बार्षिक ७ देखि ८ हजार टन नेपाली कफि माग हुन्छ । तर पर्याप्त मात्रामा कफि उत्पादन गर्न नसक्दा यो बजार गुम्ने खतरा बढेकोमा भण्डारी चिन्ता व्यक्त गर्छन् ।

कसरी सञ्चालन गर्न सकिन्छ क्याफे ?
एउटा सामान्य क्याफेमा पनि दैनिक ७ देखि ८ हजारको व्यापार हुने जनक बुढाथोकीको अनुभव छ । क्याफे संञ्चालनको लागि कम्तिमा १५ लाख र बढीमा ५० लाख रुपैयाँसम्म लगानी लाग्ने बुढाथोकी बताउँछन् । क्याफे संचालनको लागि पूर्वाधार, क्षमता, स्तर र लगानीलाई पनि ध्यान दिनुपर्ने अर्का कफि व्यवसायी मानबहादुर श्रेष्ठ बताउँछन् । बानेश्वरमा क्याफे संञ्चालन गरिरहेका श्रेष्ठ क्याफेको पूर्वाधार र क्षमताले लगानी निर्धारण गर्ने बताउँछन् । उनी क्याफे सञ्चालन गर्ने स्थान अनुसार लगानी गर्न अनुरोध गर्छन् ।

क्याफेमा सबैभन्दा धेरै लगानी कफि मेसीन र डिजाईनमा लाग्ने बुढाथोकी बताउँछन् । एउटा कफि मेसिनको न्युनतम मूल्य ५ लाख पर्ने पनि उनले सुनाए । कफि मेसिन सिगंल हेड र डबल हेड गरी दुई प्रकारको हुन्छ ।

क्याफेको इन्टेरियरले पनि ग्राहकलाई आर्कषित गर्छ । क्याफे डिजाईन गर्दा लाईट र कलरमा विशेष ध्यान दिनुपर्नेमा बुढाथोकीको जोड छ ।

‘क्याफेमा मान्छेहरु लामो समय विताउन आउने भएकाले डिजाईन सुन्दर गर्नुपर्छ,’ बुढाथोकी भन्छन् ।

क्याफेको लाईट र रंग धेरै चम्किलो राख्न नहुने पनि उनी सुझाउछन् । कम पावरका धेरै लाईट र डिम तर उज्यालो रंगले क्याफेको सुन्दरता बढाउने बुढाथोकी बताउँछन् । क्याफेका भित्तामा पेण्टिगं झुण्ड्याउने र वाल पेण्टगं गर्ने चलन पनि छ । यसो गर्दा क्याफेमा प्रयोग गरिएको फर्निचर, बारको रंगसँग म्याच गर्ने पेण्टिग र वाल पेन्ट छान्नुपर्ने उनको सल्लाह छ ।

कफि व्यवासायी तथा हाम्रो कफि परियोजनाका कार्यक्रम अधिकृत प्रतिक गुरुङ भने क्याफे खोल्नु अगाडी बजार अध्ययन गर्न सुझाव दिन्छन् । कफिको बजारको बारेमा सम्पूर्ण अध्ययन गरेपछि मात्रै कफिको प्राईस र कष्टिङको बारेमा आईडिया बनाउ सकिने उनको धारणा छ ।

गुरुङ कफिलाई कप र मेसिनसँग मात्र नजोड्न आग्रह गर्दै भन्छन् ‘हरेक क्याफेले ग्राहकलाई आफ्नोपन दिन सक्नुपर्छ र क्याफेलाई सकेसम्म थिम्याटिक नोटमा डिजाईन गर्नुपर्छ ।’

ग्राहकले कफि पिउँदा प्रत्येक कप कफिमा कथा भेटाउने गरी कफि शप डिजाईन गर्नुपर्नेमा उनी जोड दिन्छन् । विदेशको उदाहरण दिदैँ उनी भन्छन ‘विदेशमा कयौँ क्याफे पढ्नको लागि डिजाईन गरिएका हुन्छ, कतिपय क्याफे छलफलका लागि, कतिपय क्याफेहरु गायनका लागि र कतिपय क्याफेहरु प्रविधिका लागि डिजाईन गरिएका हुन्छन् ।’

यसरी नै विभिन्न थिममा रहेर क्याफे संञ्चालन गर्ने हो भने पैसा र नाम दुवै कमाउन सकिने उनको विश्वास छ । ग्राहकले कफि शपमा छिर्दा आफ्नोपन र नौलोपन महसुस गर्नुपर्ने धारणा छ गुरुङको ।

कफि व्यवसाय संञ्चालन गर्नु अगाडी नेपाली कफिको बारेमा अध्ययन गर्नुपर्ने सुझाउँछन । यसका अलवा अन्तर्राष्ट्रिय स्तरको बारिस्ता (कफि बनाउने शीप) तालिम अनिवार्य रुपमा लिनुपर्ने बताउँछन भण्डारी ।

कफि व्यवसायमा पोख्त हुनको लागि वेट र ड्राई कफिको स्वाद पहिचान गर्नसक्ने बारिस्ता हुनु पर्नेमा उनी जोड दिन्छन् । अहिले राजधानीका धेरै क्याफेले न्युनतम १५ हजार रुपैयाँसम्म लिएर बरिस्ता तालिम प्रदान गर्छन् ।

ग्राहकलाई सधै एउटै स्वादको कफि पिलाउनेतर्फ कफि व्यवसायी सचेत हुन पर्नेतर्फ संकेत गर्दै उनी भन्छन ‘कफि स्वादका लागि पिउने हो, त्यही भएर ग्राहकलाई सधै एउटै टेस्टको कफि पिलाउन सक्नुपर्छ ।’

एउटा क्याफेले बार्षिक औसत २० लाख रुपैँयासम्मको कारोबार गर्न सक्ने भए पनि सुरुवातमा थोरै लगानी गरेर क्याफे सञ्चालन गर्न सुझाव दिन्छन् । यसका अलवा कफि वितरक र उत्पादकसँग पनि कुन कफि प्रयोग गर्ने हो पहिल्यै तय गर्न भण्डारी आग्रह गर्छन् ।


क्लिकमान्डु