तापक्रमको असरः भारतमा विद्युत् माग बढ्दा नेपालमा के होला ?



काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको तापक्रम लगातार बढिरहेको छ । पछिल्लो रेकर्डअनुसार दिल्लीको तापक्रम ४६ डिग्री सेल्सियस पुगेको छ । तापक्रमको वृद्धि सँगै विद्युत्को माग पनि अत्याधिक मात्रामा बढेको छ ।

भारतको नयाँ दिल्ली लगायत उत्तरी राज्यमा ऊर्जाको माग बढेर १ लाख ७० हजार १२१ मेगावाट पुगेको छ । भारतमा पछिल्लो एक वर्षमा मात्रै ८ प्रतिशतको दरले ऊर्जाको माग बढेको छ ।

उत्तरी, उत्तरपूर्वी तथा पूर्वी भारतमा तापक्रमको वृद्धि सँगै ऊर्जाको माग समेत अत्याधिक बढेको छ ।

उत्तर प्रदेशमा विद्युत्को माग १९ हजार ८२ मेगावाट रहेको छ । दिल्लीको राजधानीमा मात्रै ६ हजार २९ मेगावाट विद्युत् माग रहेको छ ।

यस्तै राजस्थानमा १० हजार ३९५ मेगावाट विद्युत् माग पुगेको छ । गुजरातमा १६ हजार ८२५ मेगावाट र महाराष्ट्रमा मात्रै २३ हजार ६०९ मेगावाट विद्युत् माग पुगेको छ ।
दिल्लीको मात्रै माग ६ हजार मेगावाट पुग्नु हालसम्मकै उच्च हो । दिल्लीलगायत उत्तरी भारतमा एकाएक विद्युत् माग बढ्नुलाई भने बढ्दो गर्मी पनि एउटा कारणको रुमपा लिइएको छ ।

हिमाञ्चल प्रदेश, उत्तर प्रदेश, आन्ध्र प्रदेश, सिक्किम,लगायतका राज्यमा विद्युत् आपूर्तिको जिम्मा लिएका कम्पनीहरु समेत विद्युत्को बढ्दो माग व्यवस्थापनका लागि अब के गर्ने भन्नेमा चिन्तितः देखिएका छन् ।
भुटानबाट आयात हुने विद्युत्ले केही मात्रामा सिक्किम र उत्तरपूर्व भारतलाई भरथेग गर्ने गरी व्यवस्थापन गरिएको छ ।

बढ्दो विद्युत्को माग व्यवस्थापनका लागि विभिन्न कम्पनीले आन्तरिक तयारी मात्रै गरेका छैनन्, उनीहरु इनर्जी बैंकिङलाई पनि आफ्नो योजनामा राखेका छन् ।

भारतका गर्मीको समय विशेष गरी वर्षाको समयमा बढी ऊर्जाको माग हुने गरेको छ । भारतको केन्द्रीय विद्युत् अथोरेटीले ८.८ प्रतिशत बढी हुने प्रक्षेपण गरेको भएपनि बढ्दो मागका कारण त्यस्तो अवस्था भने देखिएको छैन । मे को अन्त्यमै माग बढेर उच्च बिन्दुमा पुगेको छ ।

भारत सरकारले वातावरणमा क्षति पु¥याएको भन्दै कोइलाबाट विद्युत् उत्पादन गर्ने भट्टी बन्द गरेपछि समसया थपिएको छ । कोइलाबाट विद्युत् उत्पादन बन्द भएपछि एकै पटक २० हजार मेगावाट विद्युत् प्रणालीबाट विच्छेद भएको छ । त्यसको असर भारतभर पर्ने देखिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट विद्युत् पुगेको दावी गरेपछि १४ करोड नागरिक अझै अध्यारोमा बस्न बाध्य छन् । आलोचकहरुले मोदीको दावीलाई हचुवा र झुटो बताएका छन् ।

यस वर्षको जुलाईमा मात्रै थप ५५० मेगावाट विद्युत् प्रणालीमा थप भएको छ । त्यसबाट माग धान्न मुस्किल पर्ने अनुमानहरु भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।


क्लिकमान्डु