यसकारण पो किनेछन् अर्थमन्त्री डा. खतिवडाले जिरीमा जग्गा




काठमाडौं । नेपालको विद्यमान कानुन अनुसार एउटा नेपालीले नेपालको जुनसुकै भागमा पनि जग्गा जमिन किनेर भोगचलन गर्न पाउँछ ।

तर, कुनै समय कसले कहाँ जग्गा किन्यो भन्ने कुराले धेरैको मनमा प्रश्न उठाउन सक्छ । जस्तो कि अहिले अर्थमन्त्री डा. युवराज खतिवडाले दोलखाको जिरीमा किन जग्गा किने भन्ने प्रश्नले बजार तताएको छ ।

डा. खतिवडा जग्गा कारोबारी होइनन् । उनी नयाँ ठाउँमा जग्गा किनेर त्यहाँ लगानी गरी कुनै उद्योग, ब्यवसाय वा सेवा संचालन गर्ने ब्यवसायी पनि होइनन् । उनको स्थायी घर झापा हो भने उनको हालको बसोबास र कार्यथलो काठमाडौं हो । यसैकारण उनले जिरीमा किन जग्गा किने भन्ने प्रश्न आम चासोको प्रश्न बनेको छ ।

कतिपयले माथिल्लो तामाकोशी आयोजनाले दोलखावासीलाई निश्चित कोटा तोकेर प्रतिकित्ता १०० रुपैयाँमा सेयर दिने ब्यवस्था गरेकोले सोही सेयरको लोभमा डा. खतिवडाले जग्गा किनेका होलान् भन्ने प्रकारको सस्तो अड्कलबाजी पनि गरे । तर उनी कर्मचारी संचयकोषका संचयकर्ता भएकोले दोलखाबासीले पाउने भन्दा बढी सेयर कर्मचारी कोषका संचयकर्ताको हैसियतमै पाउँथे ।

केही अड्कलबाजहरुले तत्कालिन एमालेको सबैभन्दा सुरक्षित र पकड क्षेत्र दोलखा भएकोले त्यहाँ जग्गा किनेर एमालेबाट चुनाब लड्ने प्रयोजनको लागि उनले जिरीमा जग्गा किनेका होलान् भन्न पनि भ्याए ।

कतिपयले भने जिरी पर्यटकीय क्षेत्र भएकोले सो ठाउँमा जग्गा किनेर बेच्दा नाफा हुने देखेर डा. खतिवडाले जिरीमा जग्गा किनेका होलान् पनि भने ।

तर, तथ्यले यी र यस्ता धेरै अनुमान र अड्कलबाजीलाई गलत साबित गरिदिएको छ । उनले जिरीमा जग्गा किन्नुको अर्कै कारण रहेको खुलेको छ ।

करिब २ बर्ष अगाडि डा. खतिवडा प्राइम कमर्शियल बैंक र लघुवित्त संस्थाको संयुक्त कार्यक्रममा जिरी पुगेका थिए । उनी त्यसअघि पनि जिरी नपुगेका भने होइनन् ।

त्यो बेला जिरी पुग्दा उनले आफूलाई सो ठाउँ असाध्यै मन परेको बताए । उनको यस्तो भनाइलाई एक स्थानीयले थप अगाडि बढाउन चाहे । र, डा. खतिवडालाई जिरीमा जग्गा किन्न आग्रह गरे ।

‘उहाँ (डा. खतिवडा) ले जिरी असाध्यै मन पर्छ भन्नुभयो, नजिकैको एक स्थानीयले त्यसोभए एउटा घडेरी किनौं न त हजुर भनेर प्रस्ताव गरे, उहाँले मान्नुभयो र एउटा घडेरी किन्नुभएको हो,’ नाम उल्लेख नगर्न आग्रह गर्दै एक स्थानीयले क्लिकमाण्डूसँग भने ।

डा. खतिवडाले आफ्नी श्रीमती कमला खतिवडाको नाममा ४ लाख रुपैयाँमा ९७७५ बर्गफूट जग्गा किनेका छन् । यो भनेको करिब ३ आना जग्गा हो ।

डा. खतिवडाले किनेको जग्गा माथिल्लो जिरी बजार भन्ने ठाउँमा रहेको ती स्थानीयले जानकारी दिए । सो ठाउँलाई हाटडाडा भनिन्छ । तल्लो बजारमा त्यति क्षेत्रफलको जग्गा किन्न एक करोड रुपैयाँ जति लाग्ने स्थानीयको भनाइ छ ।

हाटडाडाबाट तल्लो जिरी बजार र एयरपोर्ट बनाउने भनिएको ठाउँ राम्रोसँग देखिन्छ । जिरीलाई नेपालको स्वीजरल्याण्ड (स्वीजरल्याण्डको जुरिच शहर जस्तै) पनि भनिन्छ । हाटडाडाबाट करिब ३ घण्टाको पैदलयात्रापछि ठूल्नागी पुगिन्छ । ठूल्नागरी भन्ने स्थान हिमालमा पर्छ भने त्यहाँबाट पहाड र तराइ आँखैले देख्न सकिन्छ ।

डा. खतिवडाले किनेको जग्गा विगतमा जिरी माध्यामिक विद्यालयको जग्गा हो । जिरी माध्यामिक विद्यालय दोलखाको चर्चित विद्यालय हो, जसको ब्यवस्थापन सुधारदेखिका काम तत्कालिन नेकपा एमालेबाट २०५१ सालमा सांसद बनेका आइबी डाँगीले हेर्दै आएका छन् ।

२०३२/२०३२ सालतिर सो विद्यालयको नाममा रहेको चौरलाई प्लटिङ गरी सर्बसाधारणलाई बेच्ने र त्यसबाट आएको पैसाले विद्यालयका भौतिक पूर्वाधार बनाउनेदेखि शिक्षकलाई तलब खुवाउनेसम्मका काम गरिएको थियो ।

‘विद्यालयको जग्गा १० वर्गमिटर बाइ १० बर्गमिटर र ५ बर्गमिटर बाइ ५ बर्गमिटरको क्षेत्रफलमा प्लटिङ गरेर घेडरीको रुपमा बेचिएको थियो, त्यस्तो जग्गा स्थानीयले प्रतिघडेरी २ सय रुपैयाँदेखि ४ सय रुपैयाँसम्ममा किनेका थिए, त्यही जग्गा सो समयमा किन्ने ब्यक्तिबाट डा. खतिवडाले किन्नुभएको हो,’ ती स्थानीयले खुलाए ।


क्लिकमान्डु