काङ, बनस्यान र नेकपाको सरकार



६२ वर्षका चिनियाँ विशेषज्ञ काङ झेङजिग र २३ वर्षे चिनियाँ युवती वनस्यान स्योङले देखेको चीनमा धेरै कुराको फरक छ ।

विगत ४० वर्षमा चीनले कस्तो उपलब्धी प्राप्त गर्यो ? यसको साक्षी काङ हुन् । र, यही बीचमा आजको चीनले प्राप्त गरेको उपलब्धीको भोगाई मात्रै थाहा छ बनस्यानलाई ।

चाइना हाइटेक इन्ड्रष्टियल एशोसियनका उपाध्यक्ष रहेका काङले २१ जना नेपाली संचारकर्मी सहभागी भएको सेमिनारमा आफूले भोगेको गरिबीदेखि विकाससम्मका कुरा सुनाउदै थिए । सेमिनार चीनको बेइजिङमा थियो ।

‘४० वर्ष अघि धेरै चिनियाँहरु के खाने भन्ने चिन्तामा हुन्थे, म आफैैपनि त्यस्तै परिवारबाट आएको हूँ, ४० वर्षमा धेरै कुरा परिवर्तन भएको छ,’ उनले भने ।

सन् १९७८ मा तंग स्याउ फिंगले सुरु गरेको खुला नीतिको ४० औं वर्षगाठ मनाइरहेको छ चीन ।

नेपाली संचारकर्मीको टोलीमा अनुवादकको भूमिकामा रहेकी बनस्यान बेइजिङमा अंग्रेजी पढ्दैछिन् । २३ वर्षे बनस्यानले देखेको चीन आधुनिक चीन हो ।

उनी विकसित चीनमा पढे बढेकी हुन् । काङले सांस्कृतिक क्रान्तिदेखि विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको चीनका धेरै आरोह अबरोहहरु देखे भोगेका छन् ।

२१ जना नेपाली संचारकर्मीको टोलीमा अधिकांशको लागि पहिलो चीन भ्रमण थियो । नेपालमा पछिल्लो समय विदेशी लगानी र विदेशी पर्यटकमा पहिलो स्थान ओगटेको चीनले कस्तो आर्थिक प्रगति गर्यो ? त्यो हाम्रो आँखा अगाडि थियो ।

४० वर्षको अवधीमा जेजति परिवर्तन भयो, त्यो तंगको खुला नीतिको देन थियो ।

सन् १९४९ मा माओत्सेतुङले जनक्रान्तिपछि चिनियाँ गणराज्यको स्थापना गर्दै कम्युनिस्ट शासन व्यवस्था सुरु गरेका थिए ।

सन् १९७८ मा तंगले अपनाएको खुलापनले चीनलाई ४० वर्षमा नै विश्वको प्रमुख शक्ति राष्ट्रको अग्र भागमा उभ्याइदिएको छ । चीनले गरेको चामत्कारिक विकास विश्व राजनीति, सैनिक, आर्थिक, कुटनीतिक र अन्य क्षेत्रका महारथी भनिने देशहरुका लागि पनि ‘अपत्यारिलो सत्य’ बनिदिएको छ ।

अझ हामी त लामो समयसम्मको राजनीतिक अस्थिरता, विद्रोह, अविकास, अभाव, विभिन्न प्रयोग र पछौटेपनबाट गुज्रिएका छौं । अहिले संघीय गणतन्त्र कार्यान्वयनमा आइसकेको छ । तीनै तहको निर्वाचन भएको छ । देशमा राजनीतिक स्थीरताको आशा पलाएको छ । यस्तो अबस्थामा हामी जस्तो देशको लागि एउटा सिक्ने पाटो समेत बनेको छ चीन ।

खुला नीतिको ४० वर्षमा कस्तो उपलब्धी हासिल भयो ? हरेक दिन पिपुल्स डेलीले यसै बिषयमा केही न केही सामग्री प्रकाशित गरेको हुन्छ । हरेक दिन ४० वर्षे उपलब्धी र गर्नुपर्ने पाटोलाई सामाग्रीमा केलाइएको हुन्छ ।

४० वर्षे खुलापनको नीतिलाई चीनले आफ्नो किसिमले समीक्षा गरिरहेको बुझ्न सकिन्छ ।

४० वर्षको अवधीमा चीनले पूर्वाधार क्षेत्रमा मारेको फड्को चामत्कारिक नै छ । प्रतिघण्टा ३ सय किलोमिटरभन्दा बढी गतिमा कुद्ने हाइस्पिड रेल, सडक संजाल र हेरिरहु लाग्ने पुलहरु आजको चीनको विकासका बिम्बहरु हुन् ।

खुलापनको ४० वर्षमा चीन विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता देश बनेको छ । विश्वका सबै देशको लगानी चीनमा छ । चिनियाँ उत्पादन नपुगको देश कमै होलान् । विदेशी मुद्रा सन्चिती सबैभन्दा बढी हुने देश पनि चीन नै हो । चीनको चालले विश्व बजारमा अमेरिकी डलरको एक्सचेन्ज दर तल वा माथि हुने गरेको छ ।

४० वर्षको खुलापनको नीतिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्दापनि चीनले सन्तुलित विकास गर्न नसेको चिनियाँहरु आफै पनि स्विकार गर्छन् । नेपाली संचारकर्मीसँगको सेमिनारमा सहभागी भएका चिनियाँ विशेषज्ञ तथा संचारकर्मीले विकास दक्षिण पूर्वी क्षेत्रमा केन्द्रीत भएको तथा ग्रामीण क्षेत्रबाट ठूला सहरमा बसाई सर्ने र गाउँ बृद्धबृद्धा मात्र बस्ने ठूलो समस्याको रुपमा देखिएको बताएका छन् ।

सन् २०१३ देखि चीनको राष्ट्रपति बनेका सि चिन फिङले आधुनिक चीनको विशेषता सहितको विकासको लागि नयाँ योजना अघि सारेका छन् ।

निकै नै महत्वकाक्षीं मानिएको वेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) हालका राष्ट्रपति फिङको सपना हो । अहिले चीनका हरेक नीति बिआरआईसँग जोडिएर आएका छन् । प्राचिन व्यापारको सडक मार्गलाई आधुनिक तरिकाले एशियाबाट युरोपसँग जोड्ने परियोजनाले विश्वमा ठूलो तरंग ल्याइदिएको छ ।

४० वर्षको खुला नीतिमा धेरै कुरामा प्रगति गरेपनि चिनियाँहरुले चिनियाँ विशेषता सहितको विकासमा अगाडि बढ्ने योजना बनाएका छन् ।

४० वर्षे यात्रामा अझैपनि विश्वमा उत्कृष्ट १०० विश्वविद्यालयको सुचीमा चीनका विश्वविद्यालय निकै कम छन् । इन्जिनियरिङमा ठूलो फड्को मारेपनि चिनियाँ ब्राण्डहरु अझै विश्वस्तरमा चर्चित छैनन् । पछिल्ला वर्षमा मोबाइलमा चिनियाँ कम्पनीको आधिपत्य बढ्दै छ ।

अटोमोबाइल्स क्षेत्र वा अन्य क्षेत्रमा आफ्नो ब्राण्डको विकास चिनियाँहरुको सपना रहेको बुझ्न गाह्रो हुदैन । चाहे त्यो मोबाइलमा खेलिने गेममा होस् या सिनेमा या अन्य सांस्कृतिक विषय, जुन बिआरआई मार्फत जोड्न खोजिएको छ ।

१९७८ मा खुला नीतिलाई पनि चिनियाँ विशेषता सहितको खुला नीतिको रुपमा लिइएको थियो । विश्वमा चीन विकासको लागि सबैको चासोको देश हो ।

चीनभित्र आफ्नो विशेषता सहितको खुलापन छ । विश्वमा लोकप्रिय सामाजिक संजाल फेसबुक र ट्वीइटर चीनमा चल्दैनन् । यसले खुलापनको नीतिलाई जिस्काएको जस्तो लाग्न सक्छ । तर, चिनियाँहरु खुलापनलाई चिनियाँ विशेषता सहितको खुलापनको रुपमा लिन्छन् ।

चीनमा सामाजिक संजालमा विच्याट लोकप्रिय छ । विच्याट बिना चीनमा दैनिक जीवनशैली नै चल्न सक्दैन भन्दा हुन्छ । पैसा तिर्नेदेखि लिएर दैनिक जीवनको धेरै काम विच्याटबाट चल्छ । सहरभित्र सार्वजनिक सवारी साधनमा विच्याटमा झुम्मिएका चिनियाँ बनस्यान र काङ पुस्तालाई देख्दा त्यो बिना जीवन चल्न नसकेको अनुभूत हुन्छ ।

हामी चीनमा रहदै गर्दा नेपालमा दुई ठूला कम्युनिष्ट पार्टीहरु एकीकरण भए । सो समयमा ससस्त्र विद्रोह गरेको माओवादी पार्टी माओ विचारधारा त्यागेको घोषणा गरेर शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणमा अगाडि बढ्दै थियो ।

चीनले माओलाई गणराज्यको संस्थापकको रुपमा मात्र लिएको छ । आजका चिनियाँहरुले माओले लिएको सांस्कृतिक क्रान्तिलाई गल्ती भनेका छन् । माओप्रति धेरै सम्मान छ । तर, कार्यान्वयनमा तंगको नीति छ । जसलाई अहिलेका राष्ट्रपति सिले २१ औ शताब्दीको चिनियाँ विशेषता सहितको नीतिको रुपमा अगाडि बढाएका छन् ।

नेपालको इतिहासमा करिब दुई तिहाई मत सहित सरकार बनाएका बामपन्थीले देशको विकासमा फिंगको नीतिलाई कसरी लिन्छन्, त्यो समयले नै देखाउला । अहिलेको संविधानमा समाजबाद उन्मुख अर्थब्यवस्था कार्यान्वयन गरिने भनिएको छ । यसको कार्यान्वयन कसरी हुन्छ ? त्यसले पनि नेपालको आगामी भविष्य निर्धारण गर्न सक्छ । किनभने कम्युनिष्ट र गैरकम्युनिष्टले समाजबादको ब्याख्या फरक ढंगले गर्ने गरेका छन् ।

नेपालको अबको गन्तब्य अर्काे घटनाले पनि संकेत गर्न सक्छ । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको आर्थिक अबस्थाको बारेमा सार्बजनिक गरेको श्वेतपत्रमा ‘विगतमा सार्बजनिक संस्थानहरुको अन्धाधुन्द रुपमा निजीकरण गरिएको’ उल्लेख गरेका छन् ।

अहिलेको नेपाल कम्युनिष्ट पार्टी विगतको माक्र्सबाद लेलिनबाद बोकेको एमाले र माओ विचारधारा बोकेको नेकपा माओबादी केन्द्र मिलेर बनेको छ । लेलिनको देश रसियाले लेलिनबाद त्यागेको निकै बर्ष भयो । माओको देश चीनले माओ बिचारधारा त्यागेर तंगको नीतिमा हिडेको ४० बर्ष पुगेको छ । अब नेकपाको सरकारले आफ्नै नेपाली विशेषता सहितको नीति अबलम्बन गर्छ वा माक्र्सबाद, लेलिनबाद र माओ बिचारधारको फ्यूजन गर्छ, नेपाल र नेपालीको भविष्य त्यसैले निर्धारण गर्ला ।


क्लिकमान्डु