नीति तथा कार्यक्रममा महतको टिप्पणीः कम्युनिष्टको हावादारी भाषण, स्वर्णिमको प्रश्न- छलाङ खोइ ?



काठमाडौं । पूर्वअर्थमन्त्री समेत रहेका कांग्रेस नेता डा. रामशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सोमबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम हावादारी भएको टिप्पणी गरेका छन् ।

कार्यान्वयन गर्ने कुनै ठोस आधारहरु उल्लेख नै नगरी आश्वासन मात्रै बाँड्ने काम भएको भन्दै महतले नीति तथा कार्यक्रमलाई हावादारी दस्ताबेजको संज्ञा दिए ।

‘सरकारको नीति तथा कार्यक्रम आकांक्षामूखी छ, सुन्दाखेरी राम्रो तर कार्यान्वयन गर्ने आधार कुनै देखिँदैन, अव्यवहारिक कुराहरु धेरै छन्,’ डा. महतले क्लिकमाण्डूसँग भने ।

नीति तथा कार्यक्रममा भएका धेरै कुराहरु पहिलेकै निरन्तरता भएको बताउँदै अनावश्यक रुपमा लामो नीति तथा कार्यक्रम सार्वजानिक गरिएको उनको टिप्पणी छ ।

त्यस्तै, नीति तथा कार्यक्रम वार्षिक कार्यक्रम भए पनि ५/१० वर्षका कार्यक्रमहरु घोषणा गरिएको भन्दै उनले आश्चर्य व्यक्त गरे ।

‘कार्यक्रमहरु कार्यान्वन हुने कुनै ठोस आधार देखिँदैन,’ महतले भने, ‘वास्तवमा कम्यूनिष्टहरु हावादारी नै हुँदा रहेछन् भन्ने यही नीति तथा कार्यक्रमले प्रष्ट पार्छ ।’

‘५ वर्षमा कृषि उत्पादन दोब्बर पार्ने, रोजगारीका लागि विदेशिनु नपर्ने, १० दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने, प्रतिव्यक्ति आम्दानी दोब्बर पार्ने भनिएको छ,’ महतले प्रश्न गरे, ‘कसरी गर्ने भन्ने कहीँ उल्लेख छैन । किनभने त्यो गर्न असंभव छ । हावादारी गफ मात्रै हो ।’

स्वर्णिम वाग्लेको प्रश्नः छलाङ खोइ ?

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका अर्थशास्त्री स्वर्णिम वाग्लेले चुनाबका बेला बाम गठबन्धनले छलाङ मार्ने सपना बाँडेपनि नीति तथा कार्यक्रममा त्यस्तो छलाङ मार्ने कुनै पनि कुरा उल्लेख नगरेको प्रतिक्रिया दिए ।

‘यो सरकारले इतिहासकै अभूतपूर्व जनमत प्राप्त गरेको छ, यस्तो सुविधाजन स्थितिको सरकाले ठूलै छलाङ मार्छ कि भन्ने अपेक्षा थियो, तर छलाङ मारेन,’ वाग्लेले क्लिकमाण्डूसँग भने, ‘नीति तथा कार्यक्रम पुरानै ढर्राको छ ।’

प्रतिव्यक्ति आय दोब्बर बनाउन ९ प्रतिशतको आर्थिक वृद्धिदर हुनुपर्ने वाग्ले बताउँछन् । जुन आर्थिक वृद्धिदर अहिलेसम्म भएकै छैन ।
‘अबका वर्ष लगातार जसो कसरी ९/१० प्रतिशतको आर्थिक वृद्धि हुन्छ ? त्यसको आधार के ?’ उनले प्रश्न गरे, ‘अनि आधार बिना नै ५ वर्ष प्रतिव्यक्ति आय दोब्बर पार्छाैं भनेर मात्रै हुन्छ ?’

त्यस्तै, कृषि उत्पादनमा सरकारले गरेको घोषणा पनि पूरा हुने आधार नदेखिएको उनलको टिप्पणी छ ।

‘हामीलाई लागेको थियो यो सरकारले अर्थतन्त्रलाई चमत्कारिक कोर्षमा लैजाने छ, तर त्यस्तो कुनै चमत्कार हुने संकेत देखिएन,’ वाग्लेले भने, ‘ अर्थतन्त्रलाई चमत्कारिक कोर्षमा लाने ऐतिहासिक अवसर गुम्ने हो कि भन्ने डर लागेको छ ।’

यद्यपि बजेटसम्म शंकाको सुविधा दिन सकिने उनले बताए । ‘हाम्रो यो डर अर्थमन्त्रीले बजेटमार्फत समाधान गरिदिनु हुनेछ भन्ने अपेक्षा गरौं,’ वाग्लेले भने ।


पुष्प दुलाल