दरबारमार्ग, न्यूरोड, खिचापोखरी र महाबौद्धमा पसल राख्दा कति भाडा तिर्नुपर्छ ?




काठमाडौं । काठमाडौं उपत्यकाका उपभोक्ताले आफूलाई चाहिने बस्तु खरिद गर्न पहिलो रोजाइमा पर्ने गरेका सिपङ क्षेत्र दरवारमार्ग, न्यूरोड, महाँबौद्ध, खिचापोखरी लगायत हुन् ।

दरबारमार्ग महंगा र ब्राण्डेड सामानको लागि चर्चित छ भने न्यूरोड र खिचापोखरी मध्यमस्तरको मूल्यका बस्तु पाइने ठाउँ भनेर चिनिन्छ । महाबौद्ध भने सस्ता चिनियाँ सामान होलसेल मूल्यमा पाइने ठाउँको रुपमा परिचित छ ।

यी ठाउँका पसलमा ग्राहकको घुइचो लाग्ने गर्छ । जहाँ बढी ग्राहक जान्छन्, त्यहाँको ब्यापार बढी नै हुनुपर्ने हो । ब्यापार बढी भएपछि ब्यापारीले बढी कमाउन सक्छन् नै । यसैले हामीले यी ४ ठाउँको चर्चा गरिरहेका छौं ।

तर, हामी दरबारमार्ग, न्यूरोड, चिखापोखरी वा महाबौद्धका ब्यापारीले कति कमाउँछन् भनेर चर्चा परिचर्चा गर्दै छैनौं । यी ठाउँमा पसल राख्दा मासिक घरभाडा कति तिर्नुपर्ने रहेछ भन्ने कुरा हाम्रो समाचारको बिषय बनेको छ ।

दरवारमार्गको रिबुक स्पोर्टस् प्लाजामा दिलिप केसी भेटिए । उनी त्यहाँको ब्यवस्थापन हेर्ने गर्दा रहेछन् ।

केसीका अनुसार दरवारमार्ग क्षेत्रमा स्क्वायर फिटको आधारमा भाडा तिर्नुपर्छ । प्रतिस्क्वायर फिट २५० रुपैयाँदेखि ६ सय रुपैयाँसम्म भाडा तिर्नुपर्ने केसीले बताए ।

रिबुक स्पोर्टस प्लाजा ६ सयदेखि ७ सय स्क्वायर फिटको क्षेत्रफलमा संचालित छ । उनले दिएको प्रतिस्क्वायर फिटको भाडा र क्षेत्रफललाई आधार मान्दा उनको पसलले नै मासिक १ लाख ५० हजार रुपैयाँदेखि ३ लाख ६० हजार रुपैयाँ भाडा पर्छ ।

यसरी भाडामा घर वा सटर लिनको लागि ब्यापारीले घर वा सटरधनीसँग २ देखि ३ बर्षको कन्ट्रयाक्ट गर्नुपर्छ । र, भाडा भने मासिक रुपमा बुझाउने गरिएको केसीले जानकारी दिए ।

यस्तै दरवारमार्गको म्यारीगोल्ड ज्वेलरीको छेउमा सौगात कोल्ड स्टोर नामक सानो पसल छ । यहाँ चाउचाउ, बिस्कुट, मोबाइलका रिचार्जकार्ड लगायतका सामानहरु विक्रीका लागि राखिएका छन् । यो सानो पसलका लागि यहाँका ब्यापारीले मासिक १५ हजार रुपैयाँ भाडा तिर्ने गरेको बिक्रेता रन्जु कार्कीले बताइन् ।

स्थानीय ब्यापारीहरुका अनुसार दरवारमार्गको मोतिमलको एउटा फ्लोरको भाडा नै ३ लाख रुपैयाँ छ । दरवारमार्गका सुनचाँदी तथा गहना पसलहरुले मासिक कम्तिमा पनि १० लाख रुपैयाँदेखि १२ लाख रुपैयाँसम्म पसल भाडा तिर्ने गरेको बताए ।

रोयल सिनो रेष्टुरेन्ट एण्ड बारले सुरुमा दरवारमार्गमा मासिक २५ हजार रुपैयाँ भाडा तिर्ने गरी यो ठाउँ लिएको म्यानेजर श्रीराम थापाले बताए । अहिले सो रेष्टुरेन्टले मासिक २ लाख रुपैयाँ भाडा तिर्ने गरेको छ । यो पुरानो रेष्टुरेन्ट भएकै कारण यसको भने स्क्वायर फिटको आधारमा नरहेको उनले जानकारी दिए ।

मर्कन्टायल प्लाजाको कर्नरमा रहेको आजु खाजाले सानो स्पेसको मासिक २० हजार रुपैयाँ तिर्ने गरेको त्यहाँका संचालक आकाश क्षेत्रीले बताए ।

दरवारमार्गको केएफसी छेउमा पान, चुरोटलगायतका सामाग्री सहितको सानो पसल राखेर बसेका डम्बर मगरले त्यो ठाउँको मासिक भाडा ८ हजार रुपैयाँ तिर्ने गरेको बताए ।

दरबारमार्गभन्दा न्यूरोडको भाडा केही सस्तो भेटियो । न्यूरोडमा रहेको नेसनल अप्टीकल चस्मा पसलले मासिक ८२ हजार रुपैयाँ भाडा तिर्ने गरेको संचालक उषा श्रेष्ठले बताइन् ।

यस्तै न्यूरोडको न्यूरोड कम्प्लेक्समा रहेको श्री कुमकुम ज्वलर्सले मासिक भाडा ५० हजार रुपैयाँ तिर्ने गरेको संचालक राजु शाहीले जानकारी दिए । उनले चिनेकै मान्छेको कम्प्लेक्स भएकोले आफ्नो लागि यहाँको भाडा सस्तो भएको उनको भनाइ छ । अन्य पसलहरुले मासिक ८० हजार रुपैयाँदेखि ९० हजार रुपैयाँसम्म भाडा तिर्ने गरेको उनको भनाइ छ ।

उनका अनुसार न्यूरोड क्षेत्रमा प्रतिस्क्वायर फिट १ सय रुपैयाँदेखि ५ सय रुपैयाँसम्म भाडा तिर्नुपर्ने गरेको छ ।

खिचापोखरीमा रहेको ए टु जेट फेन्सी पसलले प्रतिमहिना पसल भाडा २० हजार रुपैयाँ तिर्ने गरेको संचालक मनोज बिष्टले बताए । उनका अनुसार खिचापोखरी क्षेत्रमा मासिक ४० हजार रुपैयाँदेखि ८० हजार रुपैयाँ सटर भाडा पर्ने गरेको छ ।

खिचापोखरी क्षेत्रमा ठूला पसलहरुको मासिक भाडा ६० हजार रुपैयाँदेखि ८० हजार रुपैयाँसम्म पर्ने गरेको छ । खिचापोखरी क्षेत्रमा सटर तथा घरको भाडा अग्रिम ३ महिनाको बुझाउनु पर्ने भएपनि केही घरधनीले मासिक रुपमै पनि लिने गरेका छन् ।

यस्तै खिचापोखरीमै ७ वर्षदेखि व्यवसाय गर्दै आएका तेजसिंह गुरुङले खिचापोखरीमा न्यूनतम २५ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँ पसल भाडा रहेको बताए । उनले सुरुमा आफूले मासिक ३ हजार ५ सय रुपैयाँ भाडा तिर्ने गरी सम्झौता गरेका थिए । अहिले उनी नै मासिक ३० हजार रुपैयाँ भाडा तिर्ने गरेका छन् ।

खिचापोखरी क्षेत्रमा अहिले खासै व्यापार नहुने ब्यापारीहरुको भनाइ छ ।

‘पैहिला धेरै मान्छे आउथे, ब्यापार पनि राम्रो हुने गर्थ्यो, मैले पनि सुरुमा माछा पसल खोलेको थिए, व्यापार सुक्दै गयो, अनि कपडा पसल संचालन गरेको छु, यो पनि घट्दै गएको छ, अब कहिलेसम्म पसल रहने हो ठेगान छैन,’ गुरुङले भने ।

अब चिनिया सामानको होलसेलका रुपमा परिचित महाबौद्धको कुरा गरौं ।

महाँबौद्धको झोला पसलका विक्रेता प्रकाश श्रेष्ठले महाँबौद्ध क्षेत्रमा घर तथा सटरको क्षेत्रफल अनुसार भाडा तोकिने गरेको बताए । सो क्षेत्रमा सटरको भाडा प्रतिसटर मासिक ३० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म पर्ने गरेको उनको भनाइ छ ।

यस्तै महाँबौद्धको तिजा कलेसनका संचालक सन्जय बज्रचार्यले पसलको भाडा १० हजार रुपैयाँ प्रतिमहिना तिर्ने गरेको बताए । ४ वर्षदेखि याही व्यवसाय गर्दै आएका उनी २ वर्षमा १० प्रतिशत भाडा बढ्ने गरेको बताउछन् ।

महाँबौद्धको बिनायक मोबाइल पसलका व्यवसायी जयरामले मासिक ५ हजार रुपैयाँ भाडा तिर्ने गरेको बताए ।


क्लिकमान्डु