बैंकलाई बीमा एजेन्ट बनाउने क्रम बढ्दो, आमा समुह र क्लबहरुलाई पनि बनाउन पाइने




काठमाडौं । बीमा ब्यवसायलाई विस्तार गर्न कम्पनी र नियामकले बैकल्पिक वितरण प्रणालीलाई तिब्रता दिएका छन् । पछिल्लो समय संस्थागत अभिकर्ता बनाएर बीमाको बैकल्पिक वितरण प्रणाली प्रभावकारी बनाउदै लगिएको हो ।

बीमालाई बैंकमार्फत उपभोक्तासम्म लानको लागि विश्वब्यापी रुपमा बैंकासुरेन्स प्रचलनमा छ । तर नेपालमा कानुनको अभावका बैंकासुरेन्स कार्यान्वयन नभएकोले बैंकलाई नै संस्थागत अभिकर्ता बनाएर बीमा गराउने प्रचलन पनि बढेको छ ।

बीमा क्षेत्रको दायरा र सचेतना बढाउन संस्थागत अभिकर्ता बताउने प्रचलन पछिल्लो समय निकै बढेको बीमा समितिका निर्देशक राजुरमण पौडेल बताउँछन् । यस्ता संस्थागत अभिकर्ताको कारण आफ्नो ब्यवसायमा सहयोग पुगेको कम्पनीहरुले बताउँदै आएका निर्देशक पौडेलले जानकारी दिए ।

पछिल्लो समय बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाहरुलाई संस्थागत अभिकर्ता बनाउने प्रचलन असाध्यै बढेको छ । संस्थागत अभिकर्ता बन्नको लागि सो संस्थाको प्रवन्धपत्रमा उदेश्यको रुपमा बीमा अभिकर्ता भइ काम गर्ने भन्ने हुनुपर्ने र संस्थाको संचालकमध्येबाट कम्तिमा एक जनाले अभिकर्ता तालिम लिनुपर्ने ब्यवस्था समितिले गरेको छ ।

बीमा ऐनमा भएको सो ब्यवस्था अनुसार संस्थागत अभिकर्ता बन्न स्थानीयस्तरमा कार्यरत आमा समुह, क्लब जस्ता सामुदायिक संस्थाहरुले पनि पाउने समितिको भनाइ छ ।

बीमा कम्पनीहरुले ब्यक्तिलाई अभिकर्ता बनाउने गरेका छन् । यस्ता अभिकर्ताको संख्या धेरै भएपनि अहिले करिब १ लाख जति ब्यक्तिगत अभिकर्ता कार्यरत रहेको समितिको भनाइ छ ।

चालु आर्थिक बर्षदेखि नै संचालनमा आएका बीमा कम्पनीहरुले पनि संस्थागत अभिकर्ता बनाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको देखिन्छ । केही समय अगाडि मात्रै संचालनमा आएको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले सेन्चुरी कमर्शियल बैंकलाई संस्थागत अभिकर्ता बनाइसकेको छ । यस्तै सानिमा लाइफले भने ४ वटा बाणिज्य बैंक सहित ५ कम्पनीलाई संस्थागत अभिकर्ता बनाएको छ ।

सिटिजन लाइफले पनि सेन्चुरी कमर्शियल बैंकलाई नै संस्थागत अभिकर्ता बनाएको छ । रिलायन्स लाइफले भने संस्थागत अभिकर्ताको संख्या ७ पुर्याइसकेको छ । ज्योती लाइफका संस्थागत अभिकर्ताको संख्या ४ छ । नयाँ बीमा कम्पनी युनियन लाइफले भने ९ वटा संस्थागत अभिकर्ता बनाइसकेको छ ।

अर्काे नयाँ बीमा कम्पनी आइएमइ लाइफको संस्थागत अभिकर्ता १० वटा छन् । पुरानो कम्पनीहरुमध्येमा राष्ट्रिय बीमा कम्पनीका संस्थागत अभिकर्ता ३ वटा छन् । प्राइम लाइफको संस्थागत अभिकर्ता २३ वटा छन् ।

गुरास लाइफले अहिलेसम्म १२ वटा संस्थागत अभिकर्ता बनाएको छ । सूर्य लाइफले २१ वटा, एशियन लाइफले ३७ वटा, एनएलजी इन्स्योरेन्सले २२ वटा, सिद्धार्थ इन्स्योरेन्सले २२ वटा, लुम्बिनी जनरलले २० वटा, शिखर इन्स्योरेन्सले ३० वटा, प्रुडेन्सियलले ३१ वटा र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले सबैभन्दा बढी ४२ वटा संस्थागत अभिकर्ता बनाएको छ ।

अमेरिक लाइफ इन्स्योरेन्सले ३२ वटा, नेपाल लाइफ इन्स्योरेन्सले २९ वटा, आइएमइ जनरलले १६ वटा, सगरमाथाले २७ वटा, प्रभुले १६, नेकोले २६, एभरेष्टले १५, प्रिमियरले २१, युनाइटेडले २१, हिमालयनले ८, ओरियण्टलले ५, नेसनलले ५, नेपाल इन्स्योरेन्सले २४ र नेसनल लाइफले ३१ वटा संस्थागत अभिकर्ता बनाएका छन् ।

यस्ता अभिकर्तामध्ये अधिकांशले बैंक तथा वित्तीय संस्थाहरुलाई अभिकर्ता बनाएका छन् ।


क्लिकमान्डु