इपीएस हेरेर सेयर किन्ने हो ? यस्तो छ २५ बैंकको इपीएस




काठमाडौं । तपाइले सेयर किनिसक्नु भएको कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) कति छ भनेर हेर्नै पर्ने हुन्छ । किनकि आफूले लगानी गरेको कम्पनीले आफूलाई कति आम्दानी दिन सक्ने रहेछ भनेर जान्न यो जरुरी हुन्छ ।

तपाइ सेयर किन्दै हुनुहन्छ भने फरक कुरा हुन्छ । कुन कुरालाई आधार मानेर सेयर किन्ने भन्ने एकमात्र ‘रामवाण’ यो दुनियामा छैन । विभिन्न आधारहरुको विश्लेषण गरेर सेयर किन्नुपर्ने हुन्छ । कतिपय अवस्थामा ‘स्पेकुलेसन’ प्रयोजनको लागि पनि सेयर किनबेच गर्ने गरिन्छ, जुन सेयर बजारको सामान्य चरित्र नै हो ।

संसारभरकै सेयर विश्लेषक वा विज्ञलाई हतारमा रहेको बेलामा तपाइले ‘कस्तो कम्पनीको सेयर किन्दा फसिन्न’ भनेर प्रश्न सोध्नुभयो भने उनीहरुले ‘जसको इपीएस राम्रो छ, त्यसैको किन्दा हुन्छ’ भन्छन् । यहाँ तपाइले बुझ्नु पर्ने कुरा के हो भने तपाइलाई यस्तो सुझाव दिने ब्यक्ति एकदमै हतारमा थियो र तपाइसँग बढीमा एक वाक्य बोल्ने मात्रै समय उसँग थियो । धेरै बोल्ने समय भएको भए उसले तपाइलाई अरु धेरै कुराको बेलिविस्तार लगाउँथ्यो ।

अर्थात इपीएस राम्रो हुदैमा तपाइले सेयर किनेको कम्पनीले राम्रो प्रतिफल दिन्छ भन्ने ग्यारेन्टी छैन । तर, इपीएस राम्रो हुनुभनेको तपाइले सेयर किन्न आटेको कम्पनीले यतिबेला राम्रो प्रगति गरेको छ भन्ने हो । त्यो कम्पनीले आफ्नो ‘कोर बिजनेस’भन्दा बाहिरबाट तत्कालिक प्रगति गरेको कारणले सो समयमा उसको इपीएस राम्रो देखिएको पनि हुन सक्छ । कम्पनीको रिजर्भ कोषहरुको अबस्था कस्तो छ भनेर हेर्नुभयो भने उसको इपीएस कत्तिको भरपर्दाे छ भनेर सजिलै बुझ्न सक्नुहुन्छ ।

तर, यहाँ हामीले कुन बाणिज्य बैंकको इपीएस कस्तो छ भनेर तपाइलाई जानकारी दिदैछौं । यसमा २५ वटा बाणिज्य बैंक समेटिएका छन् ।

मेगा बैंकको इपीएस ९.४९ रुपैयाँ छ भने एनसीसी बैंकको १५.४८ रुपैयाँ छ । गत वर्ष एनसीसीको इपीएस १०.२४ रुपैयाँ थियो ।

एनबी बैंकको इपीएस १२ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष एनबीको इपीएस ११ रुपैयाँ थियो । प्रभु बैंकको इपीएस १४.४५ रुपैयाँ पुगेको छ भने कुमारी बैंकको १५.७६ रुपैयाँ र सिभिल बैंकको ८.९१ रुपैयाँ छ ।

नबिल बैंकको इपीएस ४६.७० देखि ४६.८३ रुपैयाँ पुगेको छ । गत वर्ष यसको इपीएस ४५.४९ देखि ४५.५७ रुपैयाँ रहेको थियो । यस्तै माछापुच्छ्रे बैंकको इपीएस १३.७५ रुपैयाँ छ । गत वर्ष माछापुच्छ्रेको ११.९४ रुपैयाँ थियो ।

कृषि विकास बैंकको इपीएस २४.२० रुपैयाँ छ । गत वर्ष उसको इपीएस २०.३७ रुपैयाँ थियो । बैंक अफ काठमाडौंको इपीएस १७.५४ रुपैयाँ छ भने एनएमबी बैंकको २८.९६ रुपैयाँदेखि २९.०९ रुपैयाँ छ । गत वर्ष एनएमबीको इपीएस ३१.०२ रुपैयाँदेखि ३१.१८ रुपैयाँ रहेको थियो ।

स्ट्याण्र्डर्ड चाटर्ड बैंकको इपीएस २५.१२ छ । गत वर्ष उसको इपीएस २५.३० थियो । जनता बैंकको ९.५९ रुपैयाँ छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको इपीएस ३५.६० देखि ३५.५५ रहेको छ । गत वर्ष इन्भेष्टमेन्ट बैंकको इपीएस ३४.६२ देखि ३४.४५ थियो ।

यस्तै हिमालयन बैंकको इपीएस २५.८१ छ भने सेन्चुरी बैंकको १०.४२ रुपैयाँ छ । गत वर्ष सेन्चुरीको इपीएस ८.४७ रुपैयाँ थियो । नेपाल एसबीआई बैंकको इपिएस २२.८६ रुपैयाँ छ । प्राइम कमर्सियल बैंकको इपीएस २०.८९ रुपैयाँ छ ।

नेपाल बैंकको इपीएस ४२.५७ रुपैयाँ छ भने सनराइज बैंकको १५.४१ रहेको छ । ग्लोबल आइएमई बैंकको २१.६७ रुपैयाँ छ ।

सानीमा बैंकको इपीएस २०.२२ रुपैयाँ छ । गत वर्ष सानिमाको इपीएस २०.५६ रुपैयाँ थियो । सिद्धार्थ बैंकको २०.५२ रुपैयाँ छ ।

एभरेष्ट बैंकको इपीएस २९.९६ छ । गत वर्ष एभरेष्टको इपीएस २८.४१ थियो । एनआईसी एसिया बैंकको इपीएस यो वर्ष १५.४९ देखि १५.४० रुपैयाँ रहेको छ । गत वर्ष उसको इपीएस १४.२५ देखि १४.२४ रुपैयाँ थियो ।


क्लिकमान्डु