चीन गयो सरकारी टोली, केरुङ–काठमाडौं–पोखरा रेलमार्ग बनाइ दिन प्रस्ताव गर्ने




काठमाडौं । केरुङ–काठमाडौं–पोखरा रेलमार्ग बनाउने विषयमा छलफल गर्न नेपाली टोली चीन प्रस्थान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुधन अधिकारीको नेतृत्वमा ७ सदस्य टोली शनिबार चीन प्रस्थान गरेको हो ।

केरुङ–काठमाडौं–पोखरा रेलमार्गको सम्भावना अध्ययन गर्नका लागि गत कात्तिकमा चिनियाँ उच्च प्राविधिक सहितको २३ सदस्य टोली नेपाल भ्रमणमा आएको थियो ।

चिनियाँ प्राविधिक टोलीले नेपालमा रेलमार्ग बनाउन सम्भव हुने निष्कर्श सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो ।

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले हालैको चीन भ्रमणको क्रममा पनि रेलमार्ग निर्माण सम्बन्धी छलफल गरेका थिए । मन्त्री ज्ञवालीले अनुदानमा रेलमार्ग निर्माणका लागि प्रस्ताव गरेका थिए । चीनले अनुदानमा विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) मात्रै बनाइदिने आश्वासन दिएको थियो ।

२०७२ को भूकम्पपछि चीनले खासा–तातो पानी नाका सञ्चालनमा ल्याएको छैन । तातोपानी नाकाको विकल्पका रुपमा चीनले केरुङलाई अघि सारेको छ । चीनले दीर्घकालीनरुपमा तातोपानी नाका बन्द गरेर केरुङलाई नै नेपालसँग चीन जोड्ने मुख्य नाका बनाउने बताइसकेको छ ।

तातोपानी नाका बन्द भएपछि नेपाल र चीन सरकारले केरुङदेखि रेलमार्ग जोड्ने प्रक्रिया अगाडि बढाएका हुन् ।

चीनको ह्लासा–सिगात्सेहुँदै केरुङ रसुवागढी नाकाबाट नेपाल र चीन रेलमार्गबाट जोडिने छन् ।

गत बर्ष चिनियाँ कम्पनी चाइना रेल वे इन्टरनेशनल ग्रुपले काठमाडौं रसुवागढी रेल मार्ग निर्माणमाका लागि नेपाल सरकारसँग प्रस्ताव पेश गरेको थियो ।

कम्पनीले प्रस्ताव गरेको काठमाडौं–रसुवागढी रेलमार्गको लम्बाई १ सय ५ किलोमिटर हुने उल्लेख थियो । १२० किलोमिटर प्रतिघण्टामा कुद्ने रेलले काठमाडौं–रसुवागढीको यात्रा १ घण्टाभन्दा कम समयमा छोट्याउने सो प्रस्तावमा उल्लेख थियो ।


क्लिकमान्डु