निजीकरणका नाममा नेताले उद्योग बेचेर खाए: उद्योगमन्त्री




काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सरकारले यसअघि नै निजीकरण गरेका तर अहिले नचलाइएका उद्योग राष्ट्रियकरण गरिने बताएका छन् ।

प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको आर्थिक अबस्थाको बारेमा जारी गरेको श्वेतपत्रमा विगतमा स्थापित नीति मूल्य मान्यता र प्रक्रिया विपरित सरकारी संस्थानहरु निजीकरण गरेको आरोप लगाएको सन्दर्भमा उद्योगमन्त्री यादबको यस्तो धारणा आएको हो ।

उनले चलिरहेका उद्योगलाई भने सरकारले सहयोग गर्ने बताए । विगतमा घाटामा संचालित सरकारी संस्थान र उद्योगहरुमा सरकारले करको रुपमा सर्बसाधारणबाट लिएको रकमले कर्मचारीको तलब भत्ता लगायतका काममा खर्च गर्नुपरेपछि यस्ता उद्योग निजीकरण र खारेजी प्रक्रियामा लगिएको थियो । उद्योगमन्त्री यादबले सरकारले निजीकरण गरेका तर अहिले बन्द अबस्थामा रहेका उद्योगको बारेमा यस्तो बताएका हुन् ।

उनले विगतमा सरकारले निजीकरण गरेका उद्योगको विवरण तयार पार्ने काम भइरहेको र निजीकरणपछि बन्द अबस्थामा रहेका उद्योग सरकारले राष्ट्रियकरण गर्ने बताएका हुन् । नेपालको संविधाले ब्यक्तिको सम्पत्ति राज्यले राष्ट्रियकरण नगर्ने उल्लेख छ ।

‘यसअघि निजीकरण गरिएका उद्योगको विवरण तयार पार्दैछौं, चलेका उद्योगलाई सहयोग गर्छाैं, बन्द अबस्थामा रहेका उद्योगका बारेमा राज्यले ठोस निर्णय गर्छ, त्यो ठोस निर्णय भनेको राष्ट्रियकरण हो,’ मन्त्री यादबले भने ।

उनले विगतमा निजीकरण गरिएका उद्योगहरुमा उद्योगको साइनबोर्ड झुन्ड्याएर ब्यापार गर्ने कार्य भइरहको आरोप पनि लगाए ।

‘निजीकरण गरिएका भनिएका उद्योगमा उद्योगै साइनबोर्ड झुन्ड्याइएको छ, तर त्यहाँ ब्यापार गर्ने काम भइरहेको छ, यो गतल हो,’ मन्त्री यादबले भने ।

मन्त्री यादबले पनि विगतमा निजीकरणका नाममा उद्योगधन्दा बेचेर खाने प्रबृत्ति देखिएको बताए ।

‘चलेका उद्योगलाई विकास गर्ने, आवश्यक सहयोग गर्ने र त्यसलाई चलाउने काममा ध्यान दिइएन, बेचेर खाने काम भयो,’ मन्त्री यादबले भने ।

यसरी सरकारी उद्योग बेचेर खाने कार्यमा राजनीतिक दलकै नेताहरुको सहभागिता रहेको उनको आरोप छ ।

‘उद्योग बेच्दा नेताहरुलाई पनि कमिसन आयो, मेहेनतै नगरी कमिसन आउन थालेपछि नेताहरु नै सरकारी उद्योग बेच्नतिर लागे,’ उनले भने ।

विगतमा निजीकरणको नाममा खुल्ला बजार र निजीकरण, उदारीकरणको गलत प्रयोग भएको पनि उनको भनाइ छ । सरकारी धन देखेपछि जसले पनि लुट्न खोज्ने भन्दै अलिकति खाइहालांै भन्ने मानसिकता हाबी भएकोले उद्योग फस्टाउनन नसकेको मन्त्री यादबले बताए ।

यस्तै उनले सरकारले नयाँ उद्योग शुरु गर्न लागेको पनि बताए । यस्ता नयाँ उद्योगहरुमा आम जनता र विदेशीको पनि लगानी हुनसक्ने उनले संकेत गरे ।

सरकारले तत्काल फलाम उद्योग शुरु गर्न लागेको मन्त्री यादबले जानकारी दिए ।


क्लिकमान्डु