अग्नी पीडितको प्रश्नः हाम्रो नाममा उठाएको राहत खोइ ?




डोल्पा । ‘हे हजुर तपाई काँदेखि आका हौं, राहत ल्याएर आउने मान्छे भेटाउ कि नाइ, राहत आउँछ भन्छन् तर, कसैले गतिलो सहयोग गरेका नाई, तँमी किन आका हौं,’ डोल्पाको होर्त गाउँमा पुग्ने जो कोही नौलो मानिसलाई सोधिने प्रश्न हो यो ।

आगलागीबाट भग्नावशेष भएको आफ्नो घरमा दिनभर टोलाएर बस्नु र गाउँमा आएका नयाँ मानिसलाई आफ्नो भग्नावशेष घर देखाएर प्रतिप्रश्न गर्नु डोल्पा मुड्केचुला गाउँपालिका ९ होर्तका ३९ वर्षीया दत्त बुढाको आजभोलि दैनिकी जस्तै बनेको छ ।

‘हाम्रो नाममा धेरैले राहत उठाएको सुनेका छौं, तर अहिलेसम्म कसैले पनि राम्रो सहयोग गरेका छैनन्, हाम्रो नाममा उठाएको राहत पनि काठमाडौं लगायतका शहरमा बेचेर खाइसके रे, खै कहिले राहत पाइएला, हामी त घर न घाटका भयांै,’ अर्की आगलागी पीडित नैनासरा बुढाले दुखेसो पोखिन् ।

विसं २०७४ पुस २४ गते भएको भीषण आगलागीबाट मुड्केचुला गाउँपालिका ९ होर्त गाउँका नैन बुढा, दत्त बुढा, कन्नगिरी बुढा, पुन्न बुढा र दलजीत बुढाको पाँचवटा घर पूर्णरुपमा भग्नावशेष बनेका थिए ।

आगलागीबाट घर, घरभित्र राखिएको अन्नपात लत्ताकपडा र चलअचल सम्पत्ती सबै गुमाएर बेघर बनेका अग्निपीडित यत्तिखेर आफन्त र गाउँलेहरुले उठाउँदै आएको मानोपिठोबाट बिहान बेलुकाको गर्जो टार्दै आएका छन् ।

आगलागी भएको ४ महिनासम्म पनि ओत लाग्नेसम्मको टहरो बनाउन नसकेपछि पीडित आफन्तकै घरमा बसेर सहारा लिइरहेका छन् ।

सदरमुकाम दुनैदेखि दुई दिनको पैदलयात्रा पछि पुगिने विकट र पिछडिएको गाउँ होर्तमा बसोवास गर्ने आर्थिक विपन्न समुदायका आगलागी पीडित यत्तिखेर राहतको प्रतिक्षामा छन् ।

जिल्ला प्रशासन कार्यालय डोल्पाबाट अहिलेसम्म आफूहरुले राहतबापत २७ हजार ५ सय रुपैयाँ, नेपाल तरुण दल डोल्पाबाट कम्बल र बालबालिकालाई कपी, कलमलगायतका शैक्षिक सामग्री पाएको पीडितले बताए ।

वडा नं ९ होर्तका अध्यक्ष जयप्रसाद बुढाले आगलागी पीडितको नाममा धेरैले धेरै ठाउँबाट नगद तथा जिन्सी सामग्री उठाएको खबर आफूले पाएको तर अहिलेसम्म कसैले पनि पीडितलाई उपलब्ध नगराएकोले छानबिन थालनी गरिएको बताए ।

कसले कसरी राहत उठाइरहेका छन् भनेर बुझ्नुका साथै उठाएको राहत पीडितकहाँ सजिलोसँग पुगोस् र दुरुपयोग नहोस् भनेर राहत वितरण प्रक्रिया एकद्वार प्रणालीमा ल्याइएको उनको भनाइ छ ।

मुड्केचुला गाउँपालिकाका प्रमुख दत्तबहादुर शाहीले अग्नि पीडितलाई प्रतिघर ७० हजार रुपैयाँका दरले घरको जग उठाउनका लागि राहतस्वरुप सहयोग गरिने नगरसभाले निर्णय गरेको बताए ।

डोल्पा आफैमा विकट तथा दुर्गम भएकाले निर्माण सामग्री जम्मा गर्न समस्या पर्नुका साथै महँगोसमेत भएकाले घर ठड्याउन अग्निपीडितलाई गाह्रो भएको बताउँदै सबै सहयोगी हातको सहयोगको खाँचो रहेको पनि गाउँपालिका प्रमुख शाहीले बताए ।

जिल्ला प्रशासन कार्यालयले राहत वितरण गर्दा आफूहरुलाई अन्याय गरेको अग्निपीडित कन्नगिरी बुढाले बताए ।

‘हाम्रो लागि भनेर विभिन्न निकायबाट राहत उठाइयो तर पूर्णक्षति र आंशिक क्षतिको मूल्यांकन नै नगरी हचुवा र राजनीतिक दबाबमा आगोले पीडित नभएकालाई पनि पूर्णक्षति सरह राहत उपलब्ध गराइयो,’ उनले भने ।

डोल्पालीहरुको वर्षभरिको खर्च आम्दानीको स्रोत मानिने बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनको तयारीमा गाउँले जुटिरहेको बेला अग्निपीडित भने कहिले घर ठड्याउने भन्ने चिन्तामा छन् ।

‘हाम्रो वर्षभरिको आम्दानी गर्ने सिजन यही हो, अहिले कमाइएन भने कहिले कमाउने, बरु घर रहन्छ तर रिन सापट गरेर भए पनि यार्सागुम्बा संकलन गर्न वनमा जाने तयारीमा जुटिरहेका छौ,’ अग्निपीडित पुन्न बुढाले भने ।

जिल्लामा बग्रेल्ती रुपमा मानवीय सेवा गर्ने भनेर दर्ता भएका गैरसरकारी संस्थाका कार्यक्रम सदरमुकाम दुनै र दुनै आसपासका स्थानीय तहमा केन्द्रीत भए पनि मुड्केचुलाका अग्निपीडितको समस्याप्रति भने उनीहरको पनि ध्यान पुग्न सकेको छैन ।

आगलागीबाट बेघर बनिरहेका होर्त गाउँका पीडित र उनीहरुका बालबालिकाको शैक्षिक समस्या समाधानका लागि जिल्ला दैवीप्रकोप उद्धार समिति, जिल्ला रेडक्रस र मानवीय सेवा गर्ने भनेर चर्को नारा दिँदै आएका गैरसरकारीको ध्यान सम्बन्धित पीडित समक्ष पुग्नु जरुरी छ । रासस


क्लिकमान्डु