गतवर्ष सुनमा २ लाख लगानी गर्ने १० हजार फाइदामा सेयरमा गर्ने घाटामा



काठमाडौं । लगानी के मा गर्दा फाइदा हुन्छ त्यो सधै लगानीकर्ताले सोच्चे विषय हो ।

आफ्नो बचतलाई बढी प्रतिफल आउने क्षेत्रमा लगानी गर्न चाहनु लगानीकर्ताको स्वभाविक मनोविज्ञान हो ।

नेपालमा लगानीका अवसरहरु धेरै नै सिमित छन् । घरजग्गा,सेयर तथा सुनचाँदीमा बचत भएको रकम लगानी गर्ने गरिन्छ ।
सरकारी निकायले अनौपचारिक भनेपनि घरजग्गा र सेयरमा लगानी बढ्दो छ । सुनमा लगानीको आकर्षक यती धेरै छ त्यसको जानकारी नै सरकारी निकायसँग छैन ।

हामीले यसमा गतवर्ष कुन क्षेत्रमा लगानीगर्दा लगानीकर्ताले फाइदा लिए त्यसलाई केलाउने प्रयास गरेका छौ ।

सबैभन्दा पहिला सुनलाई हेरौ । पहेलो धातु सुन परम्परागतदेखि अहिलेसम्मपनि लगानीको लागि महंगो धातु हो । संसारमा जहापनि यसको प्रयोग र माग अत्याधिक हुन्छ ।

गतवर्ष २०७४ बैशाख ३ गते सुन प्रतितोला ५५ हजार ७ सय रुपैयाँ थियो । २ लाख रुपैयाँ लगानीगर्दा ३.५९ तोला सुन खरिद गर्न सकिन्थ्यो ।
२०७४ को वर्षको अन्त्यमा यो प्रतितोला ५८ हजार ५ सय रुपैयाँ पुगेको छ । २०७४ साल बैशाख ३ गते २ लाख रुपैयाँमा सुन किनेको व्यक्तिले २०७४ चैत ३० गते बिक्री गर्दा १० हजार ५२ रुपैयाँ फाइदा गरेको छ ।

अब सेयरलाई हेरौ । २०७४ साल सेयर बजारका लगानीकर्तालाई राम्रो भएन ।

वर्षको सुरुमा १६५१.६१ बिन्दुमा रहेको नेप्से परिसूचक वर्षको अन्तिममा १२८८.५५ बिन्दुमा पुग्यो । एकवर्षको अवधीमा नेप्से परिसूचक ३६३.०६ बिन्दुले घट्यो ।
अब सेयर बजारमा सूचिकृत कम्पनी मध्ये नमुनाको लागि हामीले नबिल बैंकलाई लिएका छौ । नबिल बैंंक अहिले सूचिकृत वाणिज्य बैंकहरुमा सबैभन्दा बढी सेयर मुल्य भएको कम्पनी हो ।

२०७४ बैशाख ३ गते नबिल बैंकको सेयर मुल्य प्रतिकित्ता १५ सय ५६ रुपैयाँ थियो ।

२ लाख रुपैयाँ लगानी गर्दा २०७४ बैशाख ३ गते नबिल बैंकको १२८.५३ कित्ता सेयर खरिद गर्न सकिन्थ्यो ।

नबिल बैंकले यो अवधीमा लगानीकर्तालाई ५० प्रतिशत लाभांश दिएको छ । जसमा ३० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश रहेको छ ।
यस आधारमा २०७४ बैशाख ३ गते नबिल बैंकमा २ लाख रुपैयाँ सेयर खरिद गर्नेसँग वर्षको अन्त्यमा आइपुग्दा नबिलमा उसको सेयर १६७ कित्ता पुगेको छ ।
उसले २० प्रतिशतको दरले नगद लाभांश हिसाब गर्दा २५६० रुपैयाँ नगद लाभांशको रुपमा पनि बुझेको छ ।

अब नबिल बैंकको वर्षको अन्तिम दिनको सेयर मुल्यलाई हेरौ । नबिल बैंकको सेयर मुल्य वर्षको अन्तिम दिन प्रतिकित्ता ९८९ रुपैयाँमा झरेको छ ।
यस आधारले १६७ कित्ता सेयरलाई १ लाख ६५ हजार १६३ रुपैयाँ पुग्छ ।

जसमा २० प्रतिशत नगद लाभांश लिएको हिसाबले उसको लगानीको भ्यालुएसन १ लाख ६७ हजार ७२३ रुपैयाँ पर्छ । यस आधारले हेर्दा गतवर्ष बैशाख ३ मा २ लाख रुपैयाँ सेयर खरिद गर्ने व्यक्ति अहिले ३२ हजार २७७ रुपैयाँले घाटामा छ ।

अन्त्यमा

हामीले माथि दिएको जानकारी मुल्यलाई मात्र आधार मानिएर गरिएको हो । सेयरको विषयमा नबिल बैंकलाई नमुनाको रुपमा लिइएको हो । अरु कुनै कम्पनीमा तथ्यांक भने फरक आउन सक्छ । तर,सेयर बजार २०७४ मा घटेको हुँदा लगानीकर्तालाई घाटा भएको छ ।

नेपालमा व्यवस्थित कमोडिटीज एक्सचेन्जको अहिलेसम्म सुरुवात नभएको हुँदा सुनमा लगानी गर्दा नेपाली रुपैयाँ विदेशिन्छ । जुन अर्थतन्त्रको लागि राम्रो होइन । लगानी के मा गर्ने भन्ने तपाई आफुले गर्ने हो । घाटा लगानीकर्तालाई हुने लगानीकर्ता आफै नै ख्याल गर्नुहोस् । २०७५ सालको शुभकामना


क्लिकमान्डु