चिनियाँ जस्तै पैसा ल्याएरै आयोजना बनाउने मुडमा भारतीय कम्पनी




काठमाडौं । चिनियाँ लगानीकर्ता इपिसिएफ मोडलमा एक पछि अर्को गर्दै नेपालको जलविद्युत् आयोजना निमार्मणमा लागिरहेको बेला भारतीय लगानीकर्ता समेत सोही मोडलमा नै आयोजना निर्माणमा लागेका छन् ।

लगानी आफ्नै, प्रविधि आफ्नै, ठेकेदार आफ्नै, निर्माण सम्पन्न भएपछि विद्युत् समेत भारत नै लैजाने गरी भारतीय कम्पनी नेपालका जलविद्युत् आयोजना निर्माणमा लागि जुटेको छ ।

अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माणकर्ता सतजल विद्युत् निगमले निर्माण गर्न लागेको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण ढाँचालाई इपिसिएफ नभने पनि तरिका भने करिब उस्तै देखिएको छ ।

चिनियाँ कम्पनीले खिम्ती दोस्रो र सिद्धकाली पावरले निर्माण गर्न लागेको त्रिशुली गल्छी आयोजनामा इपिसिएफ ढाँचामा आयोजना निर्माण गर्ने सम्झौता गरिसकेको छ ।

भारतीय कम्पनीले शब्दमा इपिसिएफ नभने पनि सारमा भने शतप्रतिशत लगानी नै भारतीय हुने गरी आयोजनाको लगानी संरचना तयार पारेको छ ।

अरुण तेस्रोमा भारतीय बैंक स्टेट बैंक अफ इन्डियाबाट ८० अर्ब रुपैयाँ भित्र्याउने समझदारीमा हस्ताक्षर हुने क्रममा रहेको छ । प्रारम्भिक समझदारीमा भने हस्ताक्षर भइसकेको छ ।

चिनियाँहरु लगानीका लागि आवश्यक पर्ने रकम समेत लिएर धामाधम नेपाल भित्रिरहेको बेला भारतीय समेत करिब करिब त्यही ढाँचामा नेपालमा लगानीका लागि आकृर्षित भएका छन् ।

उनीहरुले शब्दमा जे जे भने पनि लगानी, ठेकेदार, निर्माण सामग्री समेत भारतबाट नै आयात गर्ने तयारी गरेका छन् । संखुवासभा जिल्लामा आयोजना रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको कूल लागत १ खर्ब १६ अर्ब रुपैयाँ रहेको छ ।

अरुण तेस्रोमा निर्माण कम्पनीले स्टेट बैंक अफ इन्डियाबाट ८० अर्ब, पञ्जाव नेशनल बैंकबाट ८ अर्ब र नेपाली बैंबाट छोटो समयका लागि ५ अर्ब रकम ऋण लिन लागेको जनाइएको छ ।

पञ्जाब नेशनल बैंकले नेपालको एभरेष्ट बैंकमार्फत २६८ किलोमिटर ४ सय केभी प्रसारण लाइन निर्माण गर्न ऋण लिने सहमति गरिएको छ ।

कूल ९०० मेगावाट क्षमताको सो आयोजना प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा उनका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितीमा संयुक्त रुपमा शिलान्याश गर्ने भन्दै हल्ला गरिएको थियो ।

तर तयारी पूरा नभएको भन्दै शिलान्याश कार्यक्रम तत्कालका लागि स्थगित समेत भएको थियो ।


क्लिकमान्डु