किन उस्तै प्रोडक्ट बेचिरहेका छन् बीमा कम्पनीहरु ?




काठमाडौं । जीबन बीमा वा निर्जीबन बीमा गर्न जानुस्, सबै कम्पनीका बीमालेख उस्तै छन् । बीमा कम्पनीको संख्या ३९ पुगेपनि उनीहरुले नयाँ र फरक खालका प्रोडक्ट ल्याउन सकिरहेका छैनन् ।

बीमाको आधारभूत अबधारणा एउटै भएको कारण बजारमा सबै कम्पनीको उस्तै प्रोडक्ट देखिएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झा बताउँछन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीबन बीमा ब्यवसाय गर्छ ।

‘बीमाको फन्डामेन्टल कन्सेन्प्ट (आधारभूत अवधारणा) एउटै हो, यसैले सबै कम्पनीको प्रोडक्ट उस्तै उस्तै लागेको हो,’ झाको भनाइ छ ।

तर पछिल्लो समय यस्ता प्रोडक्टमा विविधिकरण हुन लागेको उनको भनाइ छ । केही बीमा कम्पनीहरुले नयाँ प्रोडक्ट ल्याउने प्रयास गरिरहेको उनले बताए ।

‘हामी पनि हाम्रो प्रोडक्टमा केही विविधिकरण गर्नुपर्यो भनेर लागिररहेका छौं, अरुले पनि यस्तै प्रयास गरेको देखिन्छ,’ उनले भने ।

निर्जीबन बीमा ब्यवसाय गरिरहेको प्रिमियर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधुम्न उपाध्याय प्रमुख बीमा शुल्कको कारण नयाँ प्रोडक्ट आउन नसकेको बताउँछन् ।

‘कुल बजारको ५० प्रतिशत हिस्सा मोटर बीमाको छ, २५ प्रतिशत बजार हिस्सा अग्नी बीमाको छ, यी दुबै बीमाको शुल्क समान भएपछि नयाँ प्रोडक्ट आउने बजार सम्भवना कम भयो,’ उपाध्यायको भनाइ छ ।

उनले बीमा बजारको प्रमुख हिस्सा ओघट्ने सम्पत्तिको बीमा शुल्कमा तलमाथि गर्न पाउने अबस्था आए नयाँ प्रोडक्ट आउन सक्ने बताए ।

बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईँको तर्क योभन्दा फरक छ । उनी बीमा कम्पनीहरु नयाँ प्रोडक्ट ल्याउनको लागि सिर्जनशील बन्न नसकेको बताउँछन् ।

‘हामी बीमाको इतिहास ७० बर्षको भयो भन्छौं, तर सानो पुँजी संरचनामा चलेका बीमा कम्पनीहरु संस्थागत बन्न सकेनन्, रिसर्च एण्ड डेभलपमेन्ट (आरएण्डी) मा कुनै लगानी गर्न सकेनन्, यसले गर्दा परम्परागत र नक्कल गर्न मिल्ने प्रोडक्टहरु नै बजारमा आए,’ अध्यक्ष चापागाईँको भनाइ छ ।

बीमा कम्पनीहरुले सजिलै ब्यवसाय पाएको कारण पनि बजारमा नयाँ प्रोडक्न नआएको देखिन्छ । चालु आर्थिक बर्षदेखि मात्रै संचालनमा आएका ९ वटा नयाँ कम्पनीहरु (जीबन बीमा) ले करिब ३ महिना मात्रै कारोबार गर्न पाएका छन् । यही बीचमा पनि उनहरुले ३० देखि ३० करोड रुपैयाँ जति बीमा शुल्क प्राप्त गरिसकेका छन् । यति सजिलै ब्यवसाय पाउने अबस्था भएपछि कम्पनीहरुले बढी मेहेनत नगर्नु स्वभाविकै हो ।

बीमा समितिले गरेको अध्ययनले एउटा अनौठो तथ्य पनि फेला पारेको छ । जीबन बीमा कम्पनीहरुले २ अर्ब रुपैयाँभन्दा बढीको बीमा शुल्क प्राप्त गरेपछि ब्यवसाय थप विस्तार नगरेर त्यही रकमको उचित ब्यवस्थापन गर्दा पनि सो कम्पनी राम्रोसँग चल्ने अध्ययनले देखाएको हो ।

यो अध्ययनको विश्लेषण गर्दा बीमा शुल्क २ अर्ब रुपैयाँ कटाएपछि जीबन बीमा कम्पनीले बीमा ब्यवसाय बृद्धितिर लाग्नुभन्दा कोष ब्यवस्थापनमै बढी ध्यान दिए हुने देखियो । यसकारण पनि बीमामा नयाँ प्रोडक्ट नआएका हुन सक्छन् ।

नेपाली बीमा बजार सानो भएको कारण पनि नयाँ प्रोडक्ट नआएको हुन सक्ने समिति अध्यक्ष चापागाईँ बताउँछन् । अन्य देशमा पुनर्बीमा कम्पनीहरुले आरएण्डडीमा लगानी गरेर नयाँ प्रोडक्ट पहिचान गर्ने र त्यस्तो प्रोडक्ट बीमा कम्पनी मार्फत बिक्री गर्ने गरिए पनि नेपाली बजार सानो भएकोले हाम्रो सन्दर्भमा त्यस्तो हुन नसकेको चापागाईँको भनाइ छ ।

युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्ण नयाँ प्रोडक्ट आइरहेको बताउँछन् । बजारमा नयाँ कम्पनी थपिएपछिको बढ्दो प्रतिस्पर्धा र विश्व बजारमा आएका नयाँ प्रोडक्ट नेपाली बजारमा पनि आउने गरेको कर्णले बताए ।

‘साबधिक, म्यादी, आजिबन र पेन्सलप्लान जस्ता आधारभूत बीमा प्रोडक्टमै टेकेर नयाँ प्रोडक्ट ल्याउने हो, योभन्दा बाहिर जाने कुरा भएन, यस्तो भएपछि कसैले नयाँ प्रोडक्ट नै ल्यायो भने पनि उस्तै उस्तै लाग्न सक्छ, नयाँ प्रोडक्ट नआएको भने होइन,’ कर्णले भने । युनियन लाइफ चालु आर्थिक बर्षदेखि संचालनमा आएको नयाँ कम्पनी हो ।


क्लिकमान्डु