अर्थमन्त्री खतिवडाले यो स्तरको झुट बोल्छन् भन्ने लागेकै थिएन
अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय ब्यवस्थापिका संसद मार्फत सार्बजनिक गरेको श्वेतपत्रमा देशको आर्थिक अबस्था निक्कै नराम्रो अबस्थामा रहेको उल्लेख गरिएको छ । स्रोतको ब्यवस्था नै नगरी बजेट विनियोजन गरिएको, वित्तीय अनुशासन गम्भीर रुपमा उल्लघन गरिएको लगायतका आरोप श्वेतपत्र मार्फत लगाइएको छ ।
यस्तै विगतमा गरिएको निजीकरणको अध्ययनबिनै लहडका भरमा गरिएको भन्दै निजीकरण असफल भएको श्वेतपत्रमा उल्लेख छ । तर, नेपाली काँग्रेसका युवा नेता उदयशमशेर राणा अर्थमन्त्रीको यो आरोप सरासर झुट भएको बताउँछन् । निवर्तमान अर्थराज्यमन्त्री समेत रहेका राणासँग सरकारले हालै ल्याएको श्वेतपत्र लगायतका समसामयिक आर्थिक बिषयमा गरिएको कुराकानीः
२०४६ सालको परिवर्तनपछि नेपाली काँग्रेस लामो समय सत्तामा बस्यो, अहिले अर्थमन्त्रीले ल्याउनु भएको श्वेतपत्रमा अर्थतन्त्र खराब अबस्थामा पुगेको उल्लेख गरिएको छ, काँग्रेसले देशको अर्थतन्त्र ध्वस्त बनाएकै हो ?
अहिलेको अर्थमन्त्रीले अर्थशास्त्रमा विद्यावारिधी गरेको हुनुहुन्छ । यस्तो व्यक्तिले यस्तो गैरजिम्मेवार कुरा गर्न, यति झुटा बोल्न र यति अनप्रोफेसनल रुपले प्रस्तुत हुनुहोला भन्ने हामीलाई लागेको थिएन । योभन्दा पहिला कतिपय नेताहरु अर्थशास्त्र नपढेको पनि हुनुहुन्थ्यो । तर, उहाँहरु पनि यति अनप्रोफेसनल रुपमा प्रस्तुत हुनुभएन ।
कसरी अर्थमन्त्री डा. खतिवडा अनप्रोफेसनल हुनुभयो ?
अर्थमन्त्री खतिवडाले अहिले हाम्रो देश टाट पल्टिन लागेको छ, ट्रेजरीमा पैसा छैन भन्ने कुरा गर्नुभएको छ । केही दिन अगाडि नै राष्ट्र बैंकले आधिकारिक रुपमा अहिले हामीसँग रिजर्भ छ, विदेशी मुद्रा पनि छ भन्ने तथ्यांक सार्वजानिक गरेको छ । तर त्यही मन्त्रालय अन्तर्गतको मन्त्रीले एकहप्ता पछि देश ब्यांक्रप्ट छ भन्नु अर्थमन्त्रालय र अर्थमन्त्रीको गैरजिम्मेवारी भयो कि भएन ? दोस्रो कुरा जुन हाम्रो राजस्व संकलन छ, लगभग गत वर्षको भन्दा २० प्रतिशतले वृद्धि भएको छ । र, हाम्रो लक्ष्य अनुसार प्राप्त भइरहेको छ । जब लक्ष्य अनुसार राजस्व संकलन भइरहेको छ भने देश कहीँ टाट पल्टेको हुन्छ ?
तेस्रो कुरा अहिले हाम्रो पुँजीगत खर्च हुन सकिरहेको छैन । पुँजीगत खर्च गर्नका लागि पैसा नपुगेको भए पोे देश टाट पल्टिएको भन्ने कुरा हुन्छ । अर्थतन्त्रका सूचकहरु बलियो हुँदाहुँदै देश कसरी टाट पल्टियो भन्ने कुरा मैले बुझ्न सकिरहेको छैन ।
राष्ट्र बैंकले अर्थतन्त्र बलियो छ भनेर भन्ने अनि त्यही मन्त्रालयको मन्त्रीले अर्थतन्त्र टाट पल्टियो भन्ने यो त ‘ह्वाइटपेपर’ (श्वेतपत्र) होइन, ‘ह्वाइटलाइज’ (सफेद झुट) हो । अर्थमन्त्रीजीले झुटा कुरा गर्नुभयो ।
अर्थनन्त्रीजीले अहिलेको अर्थतन्त्र खत्तमै छ, योभन्दा पहिलेका सरकारले सबैकुरा बिगारेर टाट, कंगाल पारेको अर्थतन्त्र मेरो हातमा आएको छ, अब शून्यबाट शुरु गरेर म अर्थतन्त्रलाई माथितिर लैजान्छु भन्नुभएको छ । यो एउटा अर्थशास्त्र पढेको विद्यार्थीले, विज्ञले यस्तो कुरा गर्दा अलि सुहाउँदैन ।
तपाइले अर्थतन्त्र बलिया छ भन्नु भयो, यसको आधार के हो ?
अहिले हाम्रो अर्थतन्त्रको परिस्थिति हेर्दाखेरी ३ वटा बिषयमा केन्द्रित हुनुपर्यो । पहिलो कूल ग्राहस्थ उत्पादनको वृद्धिदर । हाम्रो आर्थिक बृद्धिदर गत वर्ष ६.९ प्रतिशत छ । यो वर्षको लक्ष्य ७.२ प्रतिशत हो । र, अहिले यही सरकारले बजेटको मध्यावधि समीक्षा गरेको छ । र, त्यसमा ६.१ प्रतिशत हुने उल्लेख गरिएको छ । यो समीक्षामा अहिलेको अर्थमन्त्री डा. खतिवडा आफैंले हस्ताक्षर गर्नुभएको छ । ६ प्रतिशतको जीडीपी ग्रोथरेट २ वर्षसम्म लगातार नभएको लगभग ३० वर्ष भइसक्यो । सन् १९८३ र १९८४ मा बृद्धिदर ६ प्रतिशतभन्दा बढी थियो । यसलाई नराम्रो परिस्थिति छ भनेर कसरी भन्न मल्छि ? मैले त बुझ्नै नसक्ने कुरा उहाँले गर्नुभएको छ ।
निजीकरणमा कमजोरी भएको छ भन्ने यो सरकारलाई लागेको छ भने १ दिनको राजस्वले ती निजीकरण गरेको सबै उद्योगहरु सरकारले लिनसक्ने परिस्थितिको अर्थतन्त्र हामीले बनाइदिएका छौं । लिए भइहाल्यो नि उहाँहरुले । बोलेर मात्रै हुन्छ ?
अर्को मूल्य वृद्धिको कुरा । मूल्यवृद्धि गत वर्ष ४ प्रतिशत थियो भने अहिले ५ प्रतिशत हुने अनुमान गरिएको छ । र, यसलाई हामीले कसरी नराम्रो भन्न सक्ने ? बृहत र सुक्ष्म दुबैरुपमा हेर्दा नेपालको अर्थतन्त्र अहिले बलियो अवस्थामा छ । कांग्रेसले वाम गठबन्धनलाई बलियो अर्थतन्त्र जिम्म लगाएको छ । त्यसैले शून्यबाट होइन, १०० बाट पनि होइन, तर माथिल्लो विन्दुबाट यो अर्थमन्त्रीले शुरु गर्दै हुनुहुन्छ । मेरो आशा के छ भने अर्थमन्त्रीले अर्थतन्त्र अहिलेको परिस्थितिभन्दा तल नझारिदिए हुन्छ । आर्थिक बृद्धिदर र महंगीलाई अर्थमन्त्रीले कायम गर्न सक्नुहुन्छ कि हुन्न । सक्नुहोस् भन्ने कामना छ ।
काँग्रेसले जस लिँदै आएको निजीकरण असफल भएको भन्दै अर्थमन्त्रीले श्वेतपत्र मार्फत यसको औचित्यमाथि नै प्रश्न उठाउनु भएको छ, निजीकरण साँच्चै असफल भएको हो ?
एउटा कुरामा म क्लियर छु । राम्रो पर्फर्मेन्स नगर्ने सार्वजानिक संस्थानमा करदाताको पैसा सरकारले हाल्नु उपयुक्त हुँदैन । र, त्यहाँका कर्मचारीहरुलाई जनताले तिरेको पैसाले तलब खुवाउन उद्योग चलाउनु हुँदैन । उद्योग चलाउने भनेको पर्फर्मेन्स देखाउनका लागि हो । मेरो बिचारमा शुरुमा कुनै पनि क्षेत्रमा सरकारले हात हाल्नुपर्छ । र, पछि आएर निजी क्षेत्रलाई अघि बढाउनु पर्छ । र, निजीकरणको बारेमा अहिलेको अर्थमन्त्रीले भन्दै हुनुहुन्छ कि १४/१५ अर्ब रुपैयाँको कुरा छ । कांग्रेसले गरेको निजीकरण गैरजिम्मेवारीपूर्ण थियो भने निजीकरण गरिएका उद्योगहरु यो सरकारले किने भैहाल्यो नि । आजको दिनमा एकैदिनमा २०/२२ अर्ब रुपैयाँ राजस्व उठ्छ । र, निजीकरणमा कमजोरी भएको छ भन्ने यो सरकारलाई लागेको छ भने १ दिनको राजस्वले ती निजीकरण गरेको सबै उद्योगहरु सरकारले लिनसक्ने परिस्थितिको अर्थतन्त्र हामीले बनाइदिएका छौं । लिए भइहाल्यो नि उहाँहरुले । बोलेर मात्रै हुन्छ ?
दोस्रो, समीक्षा गरौं । निजीकरण गर्दा बिग्रिएका कुन कुन उद्योग हुन्, त्यो खोजौं । कुन ठाउँमा के कमजोरीहरु भएका छन्, त्यो हेरौं । अनि तथ्यांक आधारमा कुरा गरौं ।
निजीकरण गरिएका उद्योगहरुमा सरकारले कति लगानी गरिरहेको थियो र ती उद्योगको अबस्था कस्तो थियो भनेर गहन रुपमा हेरिनुपर्छ ।
हाम्रो पार्टीको मलगायत केही साथी बस्छौं । र, निजीकरणको बिरोध गर्ने एमाले–माओवादीका अर्थतन्त्र बुझेका साथीहरु बसेर नेपाली जनताका अघि खुल्ला बहस गरौं न । म तयार छु, नेपाली कांग्रेस तयार छ । हामीले निजीकरण गर्दा कमी कमजोरीहरु भएका छन् भने प्रमाणसहित ल्याउनुहोस् । हामी कान समाएर माफी माग्न तयार छौं ।
यसअघिको सरकारमा तपाईं पनि अर्थराज्यमन्त्री हुनुहुन्थ्यो । श्वेतपत्रमार्फत अहिलेका अर्थमन्त्रीले स्रोतको सुनिश्चितता नै नगरी बजेट बिनियोजन गरेकाले अहिलेको सरकारलाई व्यवस्थापन गर्न कठिन भयो भन्नुभएको छ, स्रोत नै नभइ किन बजेट बिनियोजन गर्नुभएको ?
अहिलेको अर्थमन्त्रीजी धेरै भ्रममा हुनुहुन्छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री र म अर्थराज्यमन्त्री थियौं । हामीले बजेट ल्याउने मौका पाएनौं । कतिपय कुराहरु हामीभन्दा पहिलेका सरकारले गरेका थिए । हामीले पूरक बजेटमार्फत केही सच्याउन खोजेका थियौं । तर, निर्वाचन आचारसंहिताका कारण हामीले पूरक बजेट ल्याउन सकेनौं ।
यो प्रश्न अर्थमन्त्री खतिवडाले हामीलाई गर्नुभन्दा पनि तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई, अर्थमन्त्री विष्णु पौडेल, अहिलेका सभामुख कृष्णबहादुर महरालाई र योजना आयोगको उपाध्यक्ष आफू स्वयंलाई प्रश्न गर्नु उपयुक्त हुन्छ ।
हाम्रो सरकारको पालामा त्यस्तो एउटा पनि काम भएको छ भने अर्थमन्त्री खतिवडाले कुन योजना रहेछ भनेर प्रमाण देखाइदिनु पर्यो । तर, लगभग ३ देखि ४ सय योजनाहरु केपी ओली प्रधानमन्त्री र विष्णु पौडेल अर्थमन्त्री भएको समयमा र अहिलेको अर्थमन्त्री खतिवडा आफैं योजना आयोगको उपाध्यक्ष भएको समयमा तथा कृष्णबहादुर महरा अर्थमन्त्री भएको समयमा बजेटको स्रोत सुनिश्चितता नगरीकनै आयोजना तथा कार्यक्रमहरु घोषणा गर्नुभएका उदाहारणहरु हामीसँग छन् । त्यसैले यो प्रश्न अर्थमन्त्री खतिवडाले हामीलाई गर्नुभन्दा पनि तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई, अर्थमन्त्री विष्णु पौडेल, अहिलेका सभामुख कृष्णबहादुर महरालाई र योजना आयोगको उपाध्यक्ष आफू स्वयंलाई प्रश्न गर्नु उपयुक्त हुन्छ ।
कांग्रेसले लामो समय शासनसत्ता सञ्चालन गरेपनि छिटफुटबाहेक वित्तीय अनुशासनमा बस्दै आएको थियो । तर, गत मंसिरको आमचुनाब हारिसकेपछि कांग्रेस सभापति देउवा नेतृत्वको सरकारले जथाभावी पैसा बाँड्ने जस्ता काम गरेर गंभीररुमा वित्तीय अनुशासनको उल्लंघन गरेको होइन र ?
तपाईंको प्रश्न पक्कैपनि कांग्रेस सरकाले वृद्ध भत्ताको उमेर घटाउने निर्णयप्रति लक्षित भएको देखिन्छ । यहाँनेर म प्रष्ट पार्न चाहन्छु । वृद्धभत्ता वृद्धलाई दिइन्छ । अहिले नेपालको औषत उमेर ६१ वर्ष हो । र, काठमाडौंमा बस्नेलाई हेरेर वृद्धभत्ता बाँडेको होइन, गाउँमा बस्ने आमाबुबालाई हेरेर दिने दिने निर्णय गरेका हौं । ग्रामीण क्षेत्रमा बस्नेहरुको औषत उमेर काठमाडौंको भन्दा कम छ । काठमाडौंका मान्छेलाई हेरेर हाम्रो निर्णयको विरोध गर्नु राम्रो होइन ।
देउवा सरकारले वृद्धभत्ता दिने निर्णय गरेको चाहीँ हो ?
हाम्रो सरकारले मन्त्रिपरिषदबाटै निर्णय गरेको हो ।
अर्थमन्त्रालयलाई थाहा नै नदिइ यस्तो निर्णय गरिएको हो ?
होइन । प्रस्ताब पठाउनका लागि तत्कालिन उपप्रधानमन्त्री बिजय गच्छेदारको संयोजकत्वमा गठित अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्यमन्त्री दिपक बोहोरा सदस्य रहेको कमिटीले मन्त्रिपरिषदमा प्रस्ताब लगेको हो । कुनै एक मन्त्रालयबाट आएको प्रस्ताब होइन । ३ जना मन्त्रीको कमिटीले प्रस्ताब लगेर प्रधानमन्त्रीको उपस्थितिमा निर्णय भएको हो ।
म पनि नेविसंघ र तरुण दलको राजनीति गर्दै आएको मान्छे हुँ । त्यो बेला कुनै परिस्थितिमा हामी माइन्यूट गायब गर्थ्यौं । मन्त्रिपरिषदको माइन्यूट गायब गर्ने हो ? यो हदसम्मको, तल्लोस्तरमा झर्न सुहाउँछ ?
तर, त्यो निर्णय अहिले हावामै हरायो भन्ने सुनिन्छ । हैन, पर्दामूनि लुकेर किन केपी ओलीले राजनीति गरिरहेका छन् ? कांग्रेसले निर्णय गरेको हो, मलाई उपयुक्त लागेन त्यसैले यो निर्णय कार्यान्वयन गर्दिन भनेर सीधै भन्न किन सक्दैनन् ? किन मूख्यसचिवलाई तर्साइतर्साइ यस्तो गरिन्छ । कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै भएन र यो त । मूख्यसचिव जस्तो मान्छेले फेरि यस्तो गैरजिम्मेवारी गर्न मिल्छ ? माइन्यूटमा पक्कै पनि लेखिएको छ । तर, यो सरकारले माइन्यूट नै गायब गर्यो । म पनि नेविसंघ र तरुण दलको राजनीति गर्दै आएको मान्छे हुँ । त्यो बेला कुनै परिस्थितिमा हामी माइन्यूट गायब गर्थ्यौं । मन्त्रिपरिषदको माइन्यूट गायब गर्ने हो ? यो हदसम्मको, तल्लोस्तरमा झर्न सुहाउँछ ? फेरि यो अन्तिम मन्त्रिपरिषदको बैठक पनि होइन । अन्तिमभन्दा अघिल्लो बैठकले गरेको निर्णय हो । त्यो क्वाबिनेट सकिइसकेपछि सरकारको प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सार्वजानिकरुपमै बोलिसकेको कुरा हो ।
निर्वाचनको परिणाम आइसकेको थियो । सत्तामा बसेको कांग्रेसले जनताको म्यान्डेट पाएको थिएन, अनि जनादेश नभएको पार्टीको सरकारले यस्तो निर्णय गर्न सुहाउँथ्यो र ?
अन्त्यन्तै चाखलाग्दो प्रश्न सोध्नुभयो । धेरैले देउवा सरकारलाई चुनाबपछि कामचलाउ सरकारको संज्ञा दिए । कसरी देउवा सरकार कामचलाउ सरकार भयो ? कमचलाउ सरकार त्यो बेला हुन्छ, जब प्रधानमन्त्रीले राजिनामा दिन्छ र राष्ट्रपतिले अर्को सरकार नआएसम्म तिमीले नै काम चलाउनु भनेको अवस्था हुन्छ ।
चुनाब कांग्रेसले हार्यो । तर, चुनाबको ३ तहको प्रक्रिया थियो । एउटा प्रत्यक्ष निर्वाचनको प्रक्रिया सकिएको थियो, जसमा कांग्रेसको हार भएको थियो । तर, नयाँ संसद गठन गर्न र चुनाबको अन्तिम परिणाम चाहिन्थ्यो । निर्वाचन आयोगले चुनावको अन्तिम परिणाम ननिकालेसम्म हाम्रो सरकार कामचलाउ थिएन । समानुपातिक तर्फको चुनाबी परिणाम आएको भोलिपल्टै नयाँ सरकार आइहाल्यो । त्यसैले हामी काम चलाउन सरकार थिएनौं ।
दुई तिहाइभन्दा बढीको समर्थन पाएर बनेको सरकारको अहिले नै आलोचना गर्ने समय भएको हो र ?
सरकारका अर्थमन्त्रीले श्वेतपत्र सार्वजानिक गर्दा उहाँले झुट बोल्नुभएको छ । पूर्वअर्थमन्त्री डा. रामशरण महतले ‘चेरि पिकिङ’ भनेजस्तै अर्थमन्त्री खतिवडाले कुनै तथ्यांक २ वर्षसँग दाँज्नुभएको छ । कुनै ५ वर्षसँग, कुनै १० वर्ष, कुनै २० वर्ष र कुनै २५ वर्षसँग दाँज्नुभएको छ । जुन तथ्यांकलाई जसरी प्रस्तुत गर्दा नकरात्मक देखाउन सकिन्छ, डा. खतिडवाले त्यसै गर्नुभएको छ । ०४८ सालको बजेट आउँदा नेपालको कूल राजस्व १२ अर्ब रुपैयाँ थियो । आज १ दिनमै २०/२२ अर्ब राजस्व उठिरहेको छ । अर्थमन्त्री खतिवडाले किन त्यो भन्न हिम्मत गरेनन् ? अनि हामीले आलोचना गर्नु परेन ? तपाईं पत्रकारहरु पनि सोच्नुहोस् कि कांग्रेसले अर्थतन्त्र बनाएको हो कि बिगारेको हो भनेर ।
दोस्रो जनआन्दोलनको सफलतापछि सत्तामा आएको कांग्रेस सरकारले आर्थिक सुधार गरेको हो । र, आजको दिनसम्म जो सरकारमा आए पनि त्यही आर्थिक सुधारको नीतिलाई पछ्याइरहेका छन् । यसलाई किन अर्थमन्त्रीले बोल्न नसक्ने ? अब अर्को कुरा, श्वेतपत्र हेर्दा धेरै तुलना १० वर्षको अवधिलाई लिनुभएको छ । वितेका १० वर्षमा को को प्रधानमन्त्री थिए, ककसले शासन गरे ? यो प्रष्ट छैन र ? बितेका ११ वर्षमा सबैभन्दा बढी समय ३३ प्रतिशत माओवादी नेतृत्वमा सरकार थियो । त्योपछि एमाले ३२ प्रतिशत समय सरकारमा बसेको छ । खिलानाथ रेग्मी नेतत्वले सरकार १०/११ प्रतिशत समय सरकार चलायो ।
यो ११ वर्षको अवधिमा २४ प्रतिशत समय मात्रै कांग्रेसले सरकार चलाएको छ । त्यसैले यो ११ वर्षमा जे जस्ता कमजोरीहरु भए त्यसको २४ प्रतिशत जिम्मेवारी कांग्रेसले लिन तयार छ । र, बाँकी लगभग ७० प्रतिशतभन्दा बढी समय अहिलेको दुईतिहाइ बहुमत भएको गठबन्धन सरकारमा बस्यो । यसको जस र अपजस एमाले र माओवादी किन लिँन सकिरहेका छैनन् ?
सरकारले आर्थिक सम्मृद्धिका लागि काम गर्छौं भनिरहेको छ, अहिले नै आलोचना गरिहाल्नुभन्दा काम गर्न दिए हुँदैन र ?
काम गरे भैहाल्यो नि । किन गफ गर्दै अरुलाई गाली गर्दै बस्नु । ३० पेजको श्वेतपत्रमा अब कसरी अघि बढ्ने भनेर १ पेज, एक प्याराग्राप कहीँ उल्लेख भएको देख्नुभयो ? अहँ मैले त देखिँन ।
तपाईंले कांग्रेस नेतृत्वमा धेरै आर्थिक सुधार र विकासका कामहरु भएका छन्, कांग्रेसले अहिले वाम गठबन्धनलाई सबल र बलियो अर्थतन्त्र छाडेर गएको छ, यसबीचमा धेरै राम्रा कामहरु गरेको छ भनेर तपाईंले दाबी गर्नुभयो, कांग्रेसले तपाईंले भनेजस्तै राम्रो काम गरेको हो भने चुनाबमा किन यस्तो इतिहासकै लज्जाजनक पराजय ब्यहोर्यो त ?
कांग्रेसले आफूले गरेका राम्रा कामहरुको प्रचार नै गर्न सकेन । त्यो हाम्रो कमजोरी हो । अहिले देशमा जुन संविधानले काम गरिरहेको छ, यो संविधान सुशील कोइराला प्रधानमन्त्री नभएको भए जारी हुन्थ्यो ? ठूलो विदेशी दबाब थेगेरै भएपनि संविधान त जारी भयो नि ।
त्यसअघि संविधानसभामा कांग्रेस सानो पार्टी थियो । हामीले डिक्टेट गर्न सकेका थिएनौं । जसकारण संविधानसभा संविधान बनाउन नसकी बिघठन भयो । दोस्रो संविधानसभामा हामी सबैभन्दा ठूलो पार्टी थियौं । सबैभन्दा ठूलो दबाब बिपक्षमा भएको एमालेलाई भन्दा सरकारमा भएको कांग्रेसलाई नै थियो होला नि त । अनि हामी राष्ट्रबादी बन्न सकेनौं । अरु बने । शेरबहादुर देउवा प्रधानमन्त्री भएर आइसकेपछि कसैले कल्पना गरेको थियो तराईमा चुनाब हुन्छ भनेर ? तर, शान्तिपूर्वक चुनाब भयो । ८० प्रतिशत मधेसी जनता आएर भोट हालेर चुनाब सम्पन्न भयो ।
अर्को कुरा, चुनाब सार्न यो सरकारलाई दबाब आएको थियो । चुनाबमा हाम्रो परिणाम राम्रो हुँदैन भन्ने जान्दाजान्दै हामीले चुनाब त सारेनौं नि । हामीले देशलाई दाउमा राखेर पार्टीगत राजनीति नगरेका कारण कांग्रेसले चुनाबी परिणाम हारेको हो । आजका दिनमा पपुलर मतको कुरा गर्ने हो भने हामीले चिन्ता गर्नुपर्ने अवस्था छैन । समानुपातिकमा कांग्रेस र एमालेबीच ४०÷४५ हजार मत मात्रै फरक छ । वाम गठबन्धन बनिसकेपछि हामीले त्यसको काउन्टर गर्न सकेनौं । त्यो हाम्रो कमजोरी थियो ।
अर्थतन्त्रलाई आजका दिनसम्म यो अवस्थामा ल्याइपुर्याउने कांग्रेस नै हो । यस अवधिमा बामपन्थीलगायत अन्य राजनीतिक शक्तिले सत्ता चलाए । कांग्रेसले लिएको नीति छुन सकेनन् । यो सरकारको आँट छ भने कांग्रेसले लिएको आर्थिक नीति परिवर्तन गरेर देखाए हुन्छ ।
सरकार गठन भएको दुई महिना हुन लागेको छ, सरकारले केही निर्णयहरु पनि गरिसकेको छ, सरकारको अहिलेसम्मको कार्यशैली हेरेर आगामी दिनमा यो सरकार कसरी अघि बढ्छ भन्ने विश्लेषण गर्नुभएको छ ?
सर्बप्रथम त म यो सरकारलाई शुभकामना दिन चाहन्छु । भ्रमणका लागि प्रधानमन्त्री भारत जानुभएको छ । जे जस्ता सम्झौताहरु हुँदैछन् यसमा प्रधानमन्त्रीलाई हात बलियो बनाउन नेपाली कांग्रेसले सहयोग गरेकै छ । मेरो संगठन तरुण दलले विरोध गर्दागर्दै पनि अहिलेका अर्थमन्त्री नियुक्ति हुँदा मैले खुलेर शुभकामना दिएको थिएँ । हामी यो सरकारको विरोध गर्न चाहँदैनौं । सहयोग गर्न चाहन्छौं । तर, श्वेतपत्रमा यो तल्लोस्तरको नकरात्मक सोच देखिएपछि हामी विरोधमा उत्रिन बाध्य भएका हौं । श्वेतपत्रमा देखिएको नकरात्मक सोचले सरकार आगामी दिनमा कसरी अघि बढ्छ भन्ने कुराको प्रष्ट संकेत गर्छ । कांग्रेस सानो पार्टी होला । हामी शक्तिबिहीन बनिसकेका छैनौं । हामी विरोध गर्नै नसक्ने अवस्थामा छैनौं । पन्चायति ब्यवस्थामा पनि हामीलाई हेप्ने गरिन्थ्यो । राजाको शासनकालमा पनि हामीलाई हेपिएको थियो । तर, लोकतन्त्र र आर्थिक विकासको अवधारणमा हामीले नै नेतृत्व गरेका छौं ।
सरकारको विरोध गर्ने शैली कस्तो हुन्छ त ? अर्थात् सरकारको विरोध गर्ने नाममा कांग्रेसले रेलिङ भाँच्ने, टायर बाल्ने, बन्दहड्ताल तोडफोड गर्नेजस्ता काम गर्छ कि गर्दैन ?
हामी यस्तो अराजक काम गर्दैनौं । विशेष गरेर यस्तो अराजक काम विगतमा पनि बामपन्थी साथीहरुबाटै हुन्थ्यो । अहिले पनि त्यो काम हामी उहाँहरुलाई नै छोडिदिन्छौं । कांग्रेसले सकरात्मक, रचनात्मक र शान्तिपूर्ण तरिकाले सरकारको विरोध गर्छ । कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्छ ।