बैंकको ब्याजदर नघट्दासम्म सेयर बजार बढ्दैनः राकेश अडुकिया



राकेश अडुकिया सेयर बजारका लगानीकर्ताको लागि नौलो नाम होइन । कुनैबेला नेपालका सिमित ठूला लगानीकर्तामा पर्ने अडुकिया गोर्खा डेभलपमेन्ट बैंकको घटनापछि ओझेलमा परे । उनले यो बीचमा बीपी कोइरालाको कृति तीन घुम्ती फिल्म पनि निर्माण गरे । सेयर बजारमा उनी अहिले पनि ठूला लगानीकर्तामै गनिन्छन् । पछिल्लो सेयर बजारलाई उनले कसरी हेरेका छन्, त्यो विषयमा रहेर क्लिकमाण्डूका लागि आशीष ज्ञवालीले गरेको कुराकानीः

तपाई केही समययता हराउनुभयो, के गर्दै हुनुहुन्छ ?
म यहीँ छु । सेयर बजारमा लगानी गर्दैछु । हराएको छैन । कुन बैंकले भनेको छ हराएको भनेर । सबैको ऋण तिरेको छु । सबै कुरा यहीँ छ ।

सेयर लगानी गर्दै छु भन्नुभयो, यो बेला कति लगानी गर्नु भएको छ ?
यो क्लियर छैन । यो भन्न मिलेन ।

तपाई कुनैबेला सेयर बजारमा ठूलो लगानीकर्ताको रुपमा हुनुहुन्थ्यो, अहिलेपनि ठूलो नै लगानी छ, बाम सरकारसँग ठूला लगानीकर्ता किन डराएका हुन् ?
अहिले वातावरण नभएको कारण हो । अहिले सन्दर्भ मूल्यको कारण भन्सारमा सामान अड्केको छ । उद्योगीहरुको सामान रोकिएको छ । दुई तिहाई बहुमतको सरकार छ , भोलि के नियम ल्याउला भन्ने छ । यस्तै सम्पत्ति शुद्धिकरण र राजस्व अनुसन्धानको विषय पनि छ । त्यसमा केही आशंका रहेका छन् । तर, यी सबै कुरा डेढ दुईमहिनामा सामान्यकरण भएर जानेछन् ।

प्रारम्भिक रुपमा हेर्दा बाम सरकारसँग लगानीकर्ताको विश्वास नै नभएको हो ?
अहिले भनेको संक्रमणकालिन अवस्था हो । दुई तिहाईको सरकार आएपनि अहिले धेरै व्यवस्था सबैको लागि नयाँ छ । नेपालको राजनीतिक व्यवस्था संघीयतामा गएको छ । तर, कस्तो अधिकार प्रयोग गर्ने भने मुख्यमन्त्री तथा त्यहाँका सासंद् तथा स्थानीय तहका प्रतिनिधि अन्यौलमा छन् । देशनै अन्यौलमा भएपछि व्यवसायी पनि अन्यौलमा हुने नै भए । प्रदेश सरकार र स्थानीय सरकारले पनि आफ्ना कुराहरु सिक्दै छन् । त्यहाँपनि कुराहरु प्रष्ट भएर जान्छ । व्यवसायीहरुमा पनि आंशका हट्छ ।

तपाइ सेयर बजारमा लागेको धेरै वर्ष भयो, यसमा कतिबेला कमाउन सकिने रहेछ ?
सेयर बजारमा कमाउने सिस्टम केही पनि छैन । सेयर बजारको विशेषता भनेको के हो भने तपाईसँग १ हजार रुपैयाँ छ । त्यसले केही पनि व्यवसाय गर्न सक्नुहुन्न । तपाईले हालेको हजार रुपैयाँ १२ सय भयो फाइदा भयो, ९ सय भयो घाटा भयो । आज एउटा रिक्सावाला सेयर बजारमा लगानी गरेर उद्यमशील बन्न सक्छ । सेयर बजारको लगानीले मानिसलाई उद्यमशील बनाउँछ ।

बजारको विशेषता नै बढ्ने र घट्ने हो । सेयर बजार बढ्दै बढ्दै जाँदा सबैले कमाउँछन् । तर, एउटा बिन्दुमा पुगेपछि घट्न सुरु गर्छ । घटिरहेको बेलामा पनि एउटा बिन्दुमा पुगेपछि बढ्न थाल्छ । सेयर बजारको सुन्दरता नै घटबढ हो ।

तपाईले सेयर बजारमा धेरैखालका उतारचढाव देख्नु भएको छ, यो पटकको सेयर बजारको घट्दो क्रम कस्तो खालको हो ?

अहिले सेयर बजार बियरिस ट्रेण्डमा छ । यसमा सबैभन्दा पहिला हामीले लागत कतिले बढेको छ भनेर हेर्नुपर्यो । हाम्रो बैंक तथा वित्तीय संस्था सिइओ बिहिन भएको छ । तपाई एउटा बैंकको सेयर किन्नुहुन्छ । त्यसको व्यवस्थापन कस्तो छ, त्यसको संचालक समिति कस्तो छ, त्यो हेर्नुहुन्छ । बैंकको व्यवस्थापन प्रमुख हुने सिइओ नै छैन भने तपाई त्यस्ता बैंकको सेयरमा किन लगानी गर्नुहुन्छ ?

आजको दिनमा बैंकले १४/१५ प्रतिशत निक्षेपमा ब्याजदर दिएको अवस्था छ । तपाईले बैंकमा ब्याजदर कम भएको बेला लगानी बढाउने हो । १५ प्रतिशत प्रतिफल बैंकले दिएको अवस्थामा कुनै लगानीकर्ताले व्यवसाय गर्ने दुःख किन गर्छ ।

ब्याजदरको बृद्धिले सेयर बजार मात्र होइन, कुनैपनि व्यवसायलाई हित गर्दैन । सेयर बजार भनेको अर्थतन्त्रको ऐना नै हो । त्यही ऐनाले अहिले काम गरेको हो । कहिलेकाही म सुन्छु यो ऐना होइन भनेर भनेको । यहाँ बैंक र बीमा मात्र छ । त्यो कारण होइन भन्छन् । तर, तपाईले ब्यापारमा कमाउनुहोस् या अरु काम गरेर, कमाउने त बैंकलाई ऋण तिरेर नै हो ।

जे गर्दापनि बैंकलाई फाइदा हुने हो । बैंकले १५ प्रतिशतसम्म निक्षेप उठाउन थालेपछि कर्जाको ब्याजदर १८ प्रतिशतभन्दा माथि पुगेको छ । यस्तो अवस्थामा सेयर बजार बढ्दैन ।

भनेको सेयर बजार अहिले घट्नुको मुख्य कारण नै बैंकको ब्याजदर हो ?
अहिले सेयर बजारलाई सहयोग नगरेको मुख्य आधार नै बैंकको ब्याजदर हो । अन्य कुरा बजारलाई प्रयोग गर्नको लागि गरिएको मात्र हो । कति बेला अर्थमन्त्रीज्यूले के भन्नुभयो र बजार घट्यो भनियो । कहिले ल अब सबै कुरा आउने भयो भनेर बढ्यो भनियो । यो मुख्य कारण होइन । मुख्य कारण बैंक ब्याजदर हो । त्यो नघट्दासम्म सेयर बजार बढ्ने आधार हुँदैन ।

बैंकहरुले निक्षेप तान्न गरेको अस्वस्थ प्रतिस्पर्धाले पनि सेयर बजारमा असर गरेको छ । राम्रा र ठूला बैंकले १३ प्रतिशतमा निक्षेप तान्न थालेपछि साना संस्थाले कति प्रतिशतमा ब्याजदरमा निक्षेप लिने ? नयाँ निक्षेप बढेको छैन । त्यही निक्षेप तान्न बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढ्यो । जसको असर सबै बजारमा परेको छ । यहाँ सरकारले के भन्यो भन्दापनि बैंकको ब्याजदरको असर परेको हो ।

शोधानान्तर घाटामा छ, जसले गर्दा बैंकमा पैसा छैन, ब्याजदर घटाउन कसले के गर्नुपर्ने हो ?
यसमा अर्थमन्त्रीज्यूले भनेको बिदेशबाट पुँजी ल्याउने भन्ने कुरा ठिक छ । बजार घट्छ, बढ्छ भनेर अर्थमन्त्रीले भन्ने कुरा पनि हुँदैन । सेयर बजार बढ्ने र घट्ने एउटा प्रक्रिया हो । यसमा अर्थमन्त्रीले भन्ने कुरा होइन । उहाँले जे भन्नु भएको छ त्यो ठिक छ ।

सबैभन्दा पहिला लगानीकर्ताले के बुझ्नुपर्यो भने सेयर भनेको सम्पत्ति हो । हामी कसैले पनि सेयरलाई सम्पत्तिको रुपमा लिएका छैनौं ।

सेयर लगानीकर्ताले सेयरलाई सम्पत्तिको रुपमा लिन नसकेको भन्न खोज्नु भएको हो ?
एउटा उदाहरण बैंक अफ काठमाण्डूलाई लिऊँ । २० वर्ष अगाडि खोलिएको बैंक । तपाईले २० वर्ष अगाडि किनेको जग्गा, अहिले समान मुल्यमा बिक्री गर्नुहुन्छ ? त्यो जग्गाले तपाईलाई लाभांश दिन्छ ? केही दिदैन । त्यो हुँदापनि तपाईले त्यो मूल्यमा बेच्नुहुन्न । नियमित लाभांश दिइरहेको कम्पनीको सेयर मुल्य २० वर्ष अगाडिकै मुल्यमा तपाई किन बेच्नुहुन्छ ?

आज २० वर्ष अगाडिकै मुल्यमा बिओकेको सेयर मुल्य छ । जसले हरेक वर्ष लाभांश दिएको छ । त्यसको मुल्य अहिलेपनि त्यही हुने हुन्छ ?

हाम्रो सेयर बजारको बारेमा सोचाई नै गलत भयो । हामीले गलत तरिकाको शिक्षा लियौं । हाम्रो सेयर बजारको इतिहास त्यती लामो छैन । यहाँ हामीले लाभांश बेस भएन भनेर हेर्छौं । तर,यसको गुडबिललाई कहिल्लै ख्याल गरेनौं ।

अर्को उदाहरण दिऊँ । सोल्टी होटलको चुक्ता पुँजी कति छ ? त्यसले राम्रो लाभांश दिएन भनेर सोल्टी होटल बिक्री गर्दा अहिले राम्रो पैसा आउँछ ।

सेयर बजारमा लगानीकर्ता कम्पनीको व्यवस्थापकबाट बढी निर्देशित छन् । हामी कम्पनीको लगानीकर्ता हो भन्ने सोचाई आएन । त्यो भनेको सम्पत्ति हो ।

सेयर बजारमा केही कम्पनी अहिले डेढसयभन्दा तल झरेको छ । त्यसले ५ वर्ष लाभांश पनि दिदैन भनेर हामीले लगानी गर्छौं । के कसैलाई जागिर दिनको लागि लगानी गर्ने हो ? तलब खुवाउनलाई तपाईले लगानी गरेको हो ?

सेयरमा लगानी गरेपछि लगानीकर्ता वार्षिक साधारणसभामा गएर बोल्नुपर्यो । अहिलेपनि सेयर बजारमा कम्पनी स्थापना भएको कति वर्ष हुँदापनि लाभांश नदिएका कम्पनी छन् । यस्ता कम्पनी किन चाहियो भनेर लगानीकर्ताले नै आवाज उठाउनु पर्यो । सम्पत्ति केही पनि नभएका कम्पनी किन चलाउनु पर्यो ? लगानीकर्ताले आफूले लगानी गरेको कम्पनीको स्वामित्व लिन सकेनन् ।

पछिल्ला वर्षमा सेयर बजारमा लगानी गर्नेको संख्या बढ्यो तर, लगानीकर्ताको चेतना नै नबढेको हो ?
आज सेयर बजारमा धेरै लगानीकर्ता प्रवेश गरे । तर, लगानीकर्ताले बुझेर सेयर बजारमा प्रवेश गरेनन् । यो हाम्रो शिक्षा प्रणालीको दोष हो ।

अहिले हामी अतिकम विकसितबाट माथि उठ्ने प्रयासमा छौं । कुनैपनि संस्थाले आज स्थापना गरेर अर्को वर्ष लाभांश दिन सक्दैन । तर, निश्चित वर्षपछि दिन्छ । २० वर्ष अगाडि खोलेको कम्पनीको सेयर मूल्य आज पनि उही छ । यो भनेको हामीले व्यवस्थापनमा बस्नेलाई जागिर मात्र दियौं भन्ने हो ।

तपाईलाई इच्छा छैन भने त्यसलाई खारेजीमा लैजानुहोस् । लगानीकर्ताले कम्पनीमा मेरो स्वामित्व छ, यसको व्यवस्थापनले कसरी चलाएको छ भनेर प्रश्न गर्नुपर्यो । खाली लगानी गरेर मात्र भएन ।

सेयर बजारमा केहीपनि नदिने कम्पनी खारेज गर्दा हुन्छ भन्नखोज्नु भएको हो ?
जसको सम्पत्ति पनि छैन, लाभाशं केही पनि छैन, भने त्यस्तो कम्पनी सेयर बजारमा राखेर के काम हुन्छ ? यहाँ व्यवस्थापनले बोल्नुपर्यो । कम्पनीलाई ५ वर्षमा यहाँ लैजान्छु भनेर व्यवस्थापनले भन्नुपर्यो । यो कुरा सरकारले भन्ने होइन । कम्पनीको सेयरधनीले भन्ने कुरा हो ।

लगानीकर्ताले आफूले लगानी गरेको कम्पनी सुधार गर्न आफ्नो अधिकार प्रयोग गर्नुपर्यो ।

तपाईलाई एउटा उदाहरण दिऊँ । बिओकेमा कुनैबेला संस्थापकको भन्दा पब्लिकको सेयर लगानी बढी थियो । संस्थापकको झगडा भयो । व्यवस्थापन परिवर्तन भयो । हरेक कम्पनीमा प्रजातान्त्रिक तरिकाले सेयरधनीले आफ्नो अधिकार प्रयोग गर्नुपर्यो ।

सेयर बजारमा कम्पनीको गुडविलको मुल्य भएन भन्नुभयो, के गर्दा गुडविलको भ्यालु हुन्छ ?
२० वर्ष अगाडि र आजको जग्गाको मुल्यमा कति फरक छ ? तर, २० वर्ष अगाडि स्थापना भएको नियमित लाभांश दिने कम्पनीको सेयर मुल्य आजपनि त्यहीँ छ । यो हुनुको पछाडि लगानीकर्ताले कम्पनीमा गरेको लगानी आफ्नो सम्पत्ति हो भन्न नसक्नुको कारण हो ।

आज तपाईले १५ प्रतिशत ब्याज बढ्यो भन्दैमा जग्गा २० वर्ष अगाडिको मूल्यमा बेच्नुहुन्छ । बेच्नुहुन्न । तपाईले जग्गा २० वर्ष अगाडिको मुल्यमा बिक्री नगर्ने, अनि सेयर भने २० वर्ष अगाडिको मुल्यमा बिक्री गर्ने ? यस्तो भएपछि लगानीकर्ताले कसरी सेयरको महत्व बुझे भन्ने मेरो प्रश्न हो ।

सेयर बजारमा लगानीकर्ता लहडको भरमा आउने र जाने मात्र गरेका हुन् ?
लगानकर्ता पछिल्लो समय धेरै कुरा नबुझेर लगानी गर्न आएका छन् । हिजो मसँग एकजना साथी आएका थिए । उनले एउटा कम्पनी सेयर किनेको छु भने । मैले किन किनेको भन्दा त्यो ग्रुपको लगानी छ, त्यो ग्रुपले राम्रो गरेको छ भने । तर, उनलाई त्यो ग्रुपको कुन कम्पनी छ, ग्रुपका लगानीकर्ता कस्ता छन् भन्ने जस्ता केही पनि थाह थिएन । मात्र त्यो ग्रुपको नाम सुनेको भरमा लगानी गरेका छन् । त्यसपछि कतिबेला सेयर घट्छ, अनि उनी आत्तिछन् र सस्तो मुल्यमा सेयर बिक्री गर्छन् ।

तपाईले जसरी जग्गा किन्दा ५० पटक बुझ्ने प्रयास गर्नुहुन्छ । त्यसैगरी सेयर खरिद गर्दापनि बुझेर लगानी गर्नुहोस् । जग्गा खरिद गर्दा छिमेक, बाटो जस्ता कुरा बुझ्नुहुन्छ । त्यस्तै सेयरमा लगानी गर्दा पनि बुझेर लगानी गर्नुहोस् । यो सम्पत्ति जोडेको हो भन्ने कुरा बुझ्नुपर्यो ।

सेयर बजारमा लगानीकर्ता बढे तर, चेतना जगाउने काम कसैले गरेन ?
सेयर बजारमा लगानी बढ्यो । तर, सेयरको बारेमा चेतना जगाउने काम धितोपत्र बोर्डको हो । त्यहाँबाट यो काम भएको छैन । बजार घट्दा सरकारलाई फाइदा हुँदैन । सरकारले त्यहाँबाट राजस्व उठाएको हुन्छ । त्यो राजस्व कमी आउने हो ।
बजार बढ्नु भनेको सरकारलाई फाइदा हो । राजस्व उठाउने ठाउँमा भएको अर्थमन्त्रीले कुनै आधारमा बजार घटाउन लागेको हुँदैन । बजारको विशेषता तलमाथी भइरहेको हुन्छ ।

तपाईले कुनै सेयर १०० मा किन्नुभयो । ५ सयमा बेच्नुभयो । तपाईले सोच्नुभयो कि म निकै बाठो मान्छे हो, ४ सय फाइदा गरेर बेचे । तर, ५ सयमा खरिद गर्ने मान्छे पनि उल्लु त पक्कै होइन । उसले ५ सयमा किनेको सेयर हजार रुपैयाँमा जान्छ भनेर किनेको हो । हजार रुपैयाँमा उसले बिक्री गर्यो, फेरि त्यो बेला किन्ने व्यक्ति उल्लु । यहाँ यस्तै गरी सेयर बजार चलेको छ ।

सेयर बजार यस्तै घटबढको हल्ला चलाएर मात्र चलेको हो ?
सेयर बजारमा यस्तै हल्ला चलेको छ । सेयर बजारमा बुझेर लगानी गर्नेलाई यस्तो हल्लाले केही असर गर्दैन । तर, हल्लाको पछाडि लाग्नेलाई असर गर्छ । हल्ला होइन बुझेर लगानी गर्ने हो । घट्दो बजार लगानी गर्ने अवसर पनि हो । यो कुनै कुनै समयमा मात्र आउँछ ।

घटेको बजार नयाँ लगानीकर्तालाई कस्तो अवसर हो ?
घटेको बजार नयाँ लगानीकर्तालाई लगानी गर्ने अवसर हो । सबै बैंक १५ देखि २० प्रतिशत लाभांश दिने अवस्थामा छन् । तपाई दुनियाको कुनैपनि बैंक देखाउनुहोस् कि फेसभ्यालुको १.५ गुणामा दोस्रो बजारमा सेयर पाइन्छ । आज कमोडिटिज एक्सचेन्ज छ । लाइसेन्सको लागि खर्च भएको हुन्छ ।

अहिले सेयर सित्तैमा पाएको अवस्था छ । २० वर्ष अगाडिको मुल्यमा पाइएको छ । १०० भनेको फेस भ्यालु हो । अहिले २ सयमा पाइएको छ ।

तपाईले आफुले आफ्नो जोखिम व्यवस्थापन कसरी गर्नुहुन्छ, त्यसले बजार घटेरपनि केही असर गर्दैन र बढ्दा पनि केही असर गर्दैन । मुख्य कुरा लगानीकर्ता भएपछि यसको स्वामित्व भने लिनुपर्छ ।

नेपालीसँग दुईवटा मात्र सम्पत्ति छन् । एउटा जग्गा हो, अर्को सेयर हो । नेपालसँग भएको म्यानपावर हामीले निर्यात गरेका छौं ।

अहिले सेयर बजारमा विदेशी लगानी खुल्ला गर्नुपर्ने माग आएको छ, यसको कस्तो असर हुन्छ ?
सेयर बजार फेस भ्यालुको १.५ गुणा आएको छ । यस्तो अवस्थामा विदेशी लगानी भित्र्याउने माग गरेर हामी कसको पक्षमा उभिन खोजेका छौं ? यो भनेको विदेशी लगानीकर्तालाई चिठ्ठा परेको छ । भारतमा एसबिआईको मुल्य १० रुपैयाँको सेयर ३५ सय पुगेको छ । यहाँ सय रुपैयाँको सेयर ६ सय छ ।

घटेको बेला विदेशी लगानी आकर्षित गर्ने माग गर्छौं । घटाएको बेला विदेशी लगानी भित्र्याएर कसलाई फाइदा गर्न खोज्दै छौं ? विगतमा सेयर बजार सुन्निएको भन्ने कुरा आएको छ । सेयर बजार विगतमा बढ्दा नेपाली नै अर्बपति भएका हुन् । १० हजार इन्डेक्स पुर्याए पछि विदेशी लगानी खोल्ने हो । बजारलाई राम्रो होला तर विदेशी लगानी यसरी अहिले खुल्दा यहाँका लगानीकर्तालाई घाटा हुन्छ ।

फोटो/भिडियोः नारायण पौडेल


क्लिकमान्डु