सत्तामा बस्नेहरुसँग विकासको सेन्स देखिएन, सडकमा उत्रनुपर्ने हुन सक्छः डा महत




काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. रामशरण महतले सरकारले नराम्रा काम गर्न थालिसकेको र त्यसलाई रोक्न कांग्रेसले सडकमा उत्रिएर पनि विरोध गर्नुपर्ने बताएका छन् ।

नुवाकोटको त्रिशुलीमा आयोजित कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलनको समापनका अवसरमा बोल्दै नेता डा. महतले यस्तो बताएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको दुईदिने सम्मेलनको समापन कार्यक्रमका प्रमुख अतिथि डा. महत थिए ।

‘बूढीगण्डकी आयोजना विना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई निर्माण गर्न दिने तयारी हुँदै छ, यसको विरोधमा सडकमा उत्रिनुपर्ने हुनसक्छ, आयोजनाबारे सबै निर्णय तिनै कम्पनीले गर्ने र सम्पूर्ण बिल भुक्तानी नेपाल सरकारले गर्ने कदापि हुन सक्दैन,’ डा. महतले भने ।

सरकारले राम्रा काम गरे त्यसको समर्थन गर्नुपर्ने उल्लेख गर्दै उनले सरकारमा बस्नेहरुका कुरा सुन्दा विकासको सोच नदेखिएको र उनीहरुलाई विकासको सेन्स नै नभएको महतले आरोप लगाए ।

तुरुन्तै रेससेवा सञ्चालन गरिहाल्ने अभिव्यक्ति दिने एक सरकारी नेतालाई आफूले रेलसेवा सञ्चालन गर्न कति पैसा लाग्छ थाहा छ भनेर प्रश्न गरेको महतले बताए ।

तुरुन्तै रेससेवा सञ्चालन गरिहाल्ने अभिव्यक्ति दिने एक सरकारी नेतालाई आफूले रेलसेवा सञ्चालन गर्न कति पैसा लाग्छ थाहा छ भनेर प्रश्न गरेको महतले बताए ।

रेलसेवा सञ्चालन गर्न खर्बौ रकम लाग्ने र ऋण लिएर सञ्चालन गर्न असम्भव हुने भन्दै उनले त्यसको ब्याज तिर्न नसकेर नेपाल ऋणको पासोमा पर्ने चेतावनी दिए । श्रीलंकाले चीनसँग सहयोग लिएर सञ्चालनमा ल्याएको बन्दरगाह आर्थिक रुपले धान्न नसकिने भएपछि चीनले नियन्त्रणमा लिएर चलाइरहेको उदाहरण पनि उनले दिए ।

नेता डा महतले सर्वहाराको सत्ता ल्याउने उद्घोषका साथ सत्तामा पुगेकाहरु जनतामा भ्रम छर्न सफल भएको र उनीहरु कांग्रेसले लिएको आर्थिक राजनीतिक र सामाजिक सुधारका नीतिकै बाटोमा लागेको बताए ।

‘बजारमूखी आर्थिक नीतिबाट कोही पनि पछि हट्न सक्ने अवस्था छैन, खर्च धान्न नसकेर सन १९८९ मा अन्तराष्ट्रिय मुद्रा कोषमा आफ्नो सुन धरौटी राखेर खर्च चालउन बाध्य भारतले पनि त्यसपछि ब्यापक मात्रामा उदारिकण ग¥यो, चीनले पनि अर्थतन्त्रलाई खुकुलो बनाउदै लगिसकेको छ, अहिलेको उत्तम राजनीतिक विचार भनेको सामाजिक न्यायमा आधारित समाजवाद नै हो, अहिले न पूर्ण पुँजीवादी न पूर्ण साम्यवादी व्यवस्था टिक्न सकेका छन्,’ उनले भने ।

विसं २०४६ को परिवर्तनपछि कांग्रेस नेतृत्वमा गठित सरकारले आर्थिक सुधार गरेर विकासको लहर नै ल्याएको उल्लेख गर्दै पूर्व अर्थमन्त्री डा महतले राजनीतिक संक्रमणकाल, हिंसात्मक द्वन्द्व, अस्थिरताका बीच अर्थतन्त्रमा उल्लेख्य उपलब्धि हासिल भएको दाबी गरे । गरिबी घटेको, नेपाली जनताको औषत आयु बढेको, अर्थतन्त्रको आकार बढेको, राजस्व असूली १२ अर्ब रुपैयाँबाट बढेर ७ सय अर्बभन्दा बढी हुन थालेको, शिक्षा, स्वास्थ्य, सञ्चार, यातायातको उल्लेख्य विकास भएको उनको भनाइ छ ।

डा. महतले आफ्नै पार्टी नेपाली काँग्रेसको रबैयाप्रति पनि टिप्पणी गरे । पार्टीको संगठन कमजोर भएको, आत्मनिन्दामा फँसेको, पार्टीको शक्ति छरपस्ट भएको र पार्टीमा एकलरुपमा मनोमानी निर्णय भएर कमजोर भएको उनको भनाइ छ ।

‘सामूहिकरुपमा अघि नबढी पार्टीको पुरानो शक्ति फर्काउन सकिदैन, पार्टीको नीति कार्यक्रम सबै सही छन्, विगतमा गरेका कामहरु र कांग्रेसको भूमिका तथा योगदानबारे जनसमक्ष पु¥याउन सकेमात्र पनि पुग्छ,’ उनले भने ।


क्लिकमान्डु