ओएसीस कलेजको बदमासीः एक सय विद्यार्थीको भविष्य अन्योलमा



काठमाडौं । ओएसीस मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल चितवनले विद्यार्थीको भविष्य माथि खेलवाड गरेको छ । ओएसीसले नेपाल नर्सिङ परिषद्बाट स्वीकृति नलिई कलेज संचालन गरेपछि सो कलेजमा पढ्ने विद्यार्थीको भविष्य नै अन्योलमा परेको छ ।

नेपाल नर्सिङ परिषद्बाट इजाजत नलिएका कारण ओएसीसमा अध्ययन गर्ने विद्यार्थी नर्सिङ लाइसेन्सको परीक्षामा सहभागी हुनबाट बन्चित भएका छन् ।

२०७० सालदेखि पूर्वान्चल विश्वविद्यालयबाट मान्यता लिएर ओएसीसले बीएससी नर्सिङको अध्यापन गराइरहेको छ । २०७२ सालदेखि कलेजले बीएनको कक्षा पनि संचालन गरिरहेको छ ।

हाल ओएसीसमा १०० विद्यार्थी अध्ययन गरिरहेका छन् । बीएससीमा ७० जना र बीएनमा ३० जना विद्यार्थी अध्ययरत छन् ।

२ विद्यार्थी परीक्षाबाट बन्चित
ओएसीसको लापारबाहीका कारण २ जना विद्यार्थीले नर्सिङ लाइसेन्सको परीक्षाबाट बन्चित हुनु परेको छ । २०७० सालमा पहिलो ब्याचका रुपमा भर्ना भएका तनुजा श्रेष्ठ र शोभा अर्याल नर्सिङ लाइसेन्सको परीक्षाबाट बन्चित भएका हुन् ।

उनीहरु गत फागुन २६ गते नेपाल नर्सिङ परिषद्ले लिएको परीक्षा दिनबाट बन्चित भएका हुन् ।

उनीहरुले अध्ययन गरेको कलेजले नेपाल नर्सिङ परिषद्बाट इजाजत प्राप्त गरेको छैन । परिषद्बाट इजाजत प्राप्त नगरेका कलेजका विद्यार्थीहरुलाई परिषद्ले परीक्षामा सहभागी गर्ने गरेको छैन ।

यस्तो छ विद्यार्थीको आरोप
नर्सिङ लाईसेन्सको परीक्षा दिनबाट वन्चित तनुजा श्रेष्ठ र शोभा अर्याल ओएसीस कलेजले आफ्नो भविष्यमाथि खेलवाड गरेको बताउँछन् ।

‘हामीले ४ वर्षसम्म नर्सिङ पढ्यौं र अहिले लाईसेन्सको परीक्षा दिन पाएका छौनौं, हामी भर्ना हुने बेलामा कलेजले जसरी पनि परिषद्को स्वीकृति लिन्छौं, पढ्दै गर भनेको थियो, तर परीक्षा दिनेबेलासम्म स्वीकृति नदिएपछि हामीले पढेको र तिरेको पैसा खतम भयो,’ विद्यार्थी श्रेष्ठले क्लिकमाण्डूसँग भनिन् ।

कलेजले आफूहरु माथि अन्याय गरे पनि परिषद्ले विद्यार्थीको अधिकार हनन हुन दिनैन भन्ने सोच राखेर परिषद्मा आएको शोभा अर्याल बताउँछिन् ।

‘कलेजले मापदण्ड पूरा नगरेको हामीलाई थाहा भएन, विद्यार्थीको भविष्य अन्धाकार बनाउने काम परिषद्ले गर्दैन भन्ने हामीलाई लागेको छ,’ अर्की विद्यार्थी अर्यालले भिनिन् ।

न्याय खोज्दै काठमाडौंसम्म
ओएसीस कलेजले परिषद्बाट स्वीकृति नलिइ कलेज संचालन गरेको जानकारी पाएसँगै विद्यार्थीहरु न्यायको खोजीमा काठमाडौंमा आएका छन् ।

कलेजमा अध्ययनरत ३१ भन्दा धेरै विद्यार्थी भविष्यको अन्यौल चिर्नका लागि काठमाडौंमा आएका हुन् । न्यायको खोजीमा रहेका उनीहरुको दैनिकी नेपाल नर्सिङ परिषद्को प्राङगडमा बित्ने गरेको छ ।

परिषद् परिसरमा भेटिएकी तेश्रो बर्षमा अध्ययनरत शान्ति रेग्मी भविष्यप्रतिको अन्योल चिर्नका लागि काठमाडौं आएको बताउँछिन् ।

‘२ जना सिनियर दिदीहरुले लाइसेन्सको परीक्षा दिनबाट बन्चित हुनु परेको छ, जागिर खानका लागि लाईसन्सको परीक्षा उत्र्तीण हुनुपर्ने व्यवस्था छ, दिदीहरुको जस्तै हामीले पनि लाईसेन्सको परीक्षा दिन पाएनौं भने आमाबुवाको लागानी र हाम्रो भविष्यम बर्वाद हुनेछ,’ रेग्मीले भनिन् ।

परिषद्ले मानेन उच्च अदालतको आदेश
उच्च अदालत पाटनले विद्यार्थीलाई लाइसेन्स परीक्षामा सहभागी गराउन नेपाल नर्सिङ परिषद्लाई फागुन २३ गते आदेश दिएको थियो ।

अदालतले आफूहरुलाई परीक्षामा सहभागी हुन आदेश दिए पनि परिषद्ले परीक्षामा सहभागी हुन नदिएको विद्यार्थी तनुजा श्रेष्ठको आरोप छ ।

‘कलेजले विद्यार्थीको नाममा परिषद्को विरुद्ध रिट हाल्यो, अदालतले विद्यार्थीको हितमा प्रवेशपत्र दिन आदेश दियो तर परिषद्ले हामीलाई परीक्षा दिन दिएन, हाम्रो भविष्य अनिश्चित बन्यो,’ श्रेष्ठले भनिन् ।

के भन्छ परिषद् ?
नेपाल नर्सिङ परिषद्का रजिष्टार लक्ष्मी राई विद्यार्थीको भविष्यप्रति चिन्तित भएको बताउँछिन् ।

‘हामीले विद्यार्थीको भविष्य माथि खेलबाड गरेको हैन, उनीहरुले अध्ययन गरेको विद्यालयले परिषद्ले तोकेको मादण्ड पूरा नगरेकाले विद्यार्थी मर्कामा परेका हुन्,’ राईले भनिन् ।

नेपाल नर्सिङ परिषद् ऐन २०५२ को दफा ९ मा कुनै पनि नर्सिङ शिक्षण संस्था स्थापना र संचालनको स्वीकृति दिनुपूर्व सम्बन्धित निकायले परिषदसँग परामर्श माग गरि त्यस्तो परामर्श बमोजिम नै गर्नु पर्ने र परिषदको न्युनतम मापदण्ड पूरा गर्नुपर्ने कानुनी व्यवस्था छ ।

परिषद्बाट ओएसीस कलेजको पटक पटक स्थलगत निरिक्षण गरेको रजिष्टार राई बताउँछिन् ।

‘हामीले ३ पटकसम्म ओएसीस कलेजको अनुगम गरेका छौं, उनीहरुले न्युनतम मापदण्ड पनि पुरा गरेका छैनन्,’ राईले भनिन् ।

मापदण्ड पुरा नगरेका कलेजलाइ स्वीकृति दिएमा अन्य संस्थाहरुमा पनि यस प्रकारको विकृति फैलन सक्ने उनको ठम्याई छ । कलेजले न्युनतम मापदण्ड पुरा नगरेको पाइएकाले हाल कलेजबाट अध्यापन भईरहेका बीएन र बीएससी नर्सिङ संचालनका लागि परिषद्बाट अनुमति नपाएको हो ।

के भन्छ विश्वविद्यालय ?
पूर्वान्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा घनश्यामलाल दासले विद्यार्थीहरुको समस्या समाधान गर्नका लागि विश्वविद्यालले समिति गठन गरेको जानकारी दिए ।

‘विद्यार्थीको समस्यालाई विश्वविद्यालयले गम्भिरता पूर्वक लिएको छ, विद्यार्थीलाई विश्वविद्यालयको समितिले अवश्य न्याय दिनेछ,’ दासले भने ।

संचालक सम्पर्क बिहिन
विद्यार्थीका अनुसार कलेजका संचालक मनोज चौधरी सम्पर्क बिहिन छन् । कलेजका २ विद्यार्थीले नर्सिङ लाइसेन्सको परीक्षामा सहभागी नपाएको खबर पाएपछि विद्यार्थीले कलेजका संचालकलाई काठमाडौं पठाउन पहल गरेका थिए । विद्यार्थीकै पहलमा काठमाडौं आएका कलेज संचालक सम्पर्क विहिन भएको विद्यार्थीको आरोप छ । भरतपुर एयरर्पोटबाट काठमाडौं उडेका उनीहरु त्यस दिनबाट सम्पर्क बाहिर रहेको विद्यार्थी बताउँछन् ।


क्लिकमान्डु