सेयर बजारमा स्टाण्डर्ड चार्टर्डको पहिलो स्थान नबिलले खोस्यो



काठमाडौं । शतप्रतिशत बोनस सेयर नदिदासम्म वाणिज्य बैंकहरुमा सबैभन्दा बढी सेयर मुल्य स्टाण्डर्ड चाटर्ड बैंकको थियो ।

बुक क्लोज अगाडि प्रतिकित्ता २ हजार रहेको स्टाण्र्डर्ड चार्टर्डको सेयर मुल्य बुक क्लोजपछि ९७६ रुपैयाँमा आयो । त्यसपछि प्रतिकित्ता १०८० रुपैयाँसम्म पुगेको चार्टर्डको सेयर मुल्य ८८० रुपैयाँमा आएको छ ।

चार्टर्डपछि सेयर बजारमा वाणिज्य बैंकहरुमा सबैभन्दा बढी सेयर मुल्य नबिल बैंकको थियो । बुक क्लोज अगाडि प्रतिकित्ता १६३० रुपैयाँमा रहेको नबिलको सेयर मुल्य त्यसपछि ११९१ रुपैयाँबाट सुरु भयो । त्यसपछि १२७७ सम्म पुगेको नबिलको सेयर मुल्य अहिले एक हजार १५ रुपैयाँ छ ।

सेयर बजार निरन्तर घट्दो क्रममा छ । विगतमा सेयर बजार घटे वा बढेपनि बैंकिङ क्षेत्रको महंगो सेयर चार्टर्डकै हुन्थ्यो । तर, यो पटक भने नबिलले सेयर मुल्यको आधारमा पनि स्टाण्र्डर्ट चार्टर्डलाई जितेको छ ।

विगतमा चार्टर्डको सेयर सप्लाई कम थियो । त्योभन्दा बढी नबिल बैंकको थियो । चार्टर्डले राष्ट्र बैंकले पुँजी बृद्धिको नीति लिएपछि थप सार्वजनिक निष्कासन गर्यो । जसले सेयर बजारमा चार्टर्डको आपूर्ति एक्कासी बढ्यो । त्यसपछि शतप्रतिशत बोनस सेयरले झन आपूर्ति बढाइदियो ।

नबिल बैंकको विगतमा सेयर आपूर्ति चार्टर्डकोभन्दा बढी थियो । नबिलले चुक्ता पुँजी बोनस सेयर दिएरै ८ अर्ब रुपैयाँ पुर्यायो । विगतमा नबिल चार्टर्ड बैंकको लाभांशको नीति फरक थियो । नबिलले केही प्रतिशत बोनस सेयर दिने र बाँकी नगद लाभांश दिने गरेको थियो । चार्टर्डको नीति भने बोनस सेयरभन्दा नगद लाभांशमा बढी थियो ।

चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुगेपछि अहिले नबिलले सेयर बजारमा चार्टर्डलाई जितेको हो । अर्थात लगानीकर्ताले आगामी दिनमा चार्टर्डभन्दा नबिलबाट बढी लाभांश पाउने आशा गरेका छन् । त्यसमा केही बोनस सेयर आउने अपेक्षा लगानीकर्ताको छ ।

नबिल बैंक र स्टाण्र्डर्ट चाटर्ड शाखाको आधारले फरक बैंक हुन् । नबिलको अहिले ६२ वटा शाखा छन् । जबकि चार्टर्डको शाखा २१ वटा छन् । चार्टर्ड बढी मात्रामा कर्पोरेट बैकिङ र यहाँ भएका दातृ निकाय र दुतावासको बिजनेशमा केन्द्रीत छ ।

उसको काम गर्ने शैली अरुको भन्दा फरक छ । जुन स्वभाविक पनि हो ।

नबिल बैंक नेपालका वाणिज्य बैंकमा सबैभन्दा बढी नाफा कमाउने बैंक हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधीमा नेपाल इन्भेष्टमेन्ट बैंकले नाफाको आधारमा जितेपनि दोस्रो त्रैमासमा भने नबिल नै पहिलो स्थानमा आयो ।

पुस मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार नबिल बैंकको चुक्ता पुँजी ८ अर्ब र रिजर्भमा ७ अर्ब ९० करोड रुपैयाँ छ ।

बैंकको निक्षेप १ खर्ब २१ अर्ब रुपैयाँ छ । निक्षेपको आधारमा नबिल तेस्रो स्थानमा छ । जसमा १० अर्ब रुपैयाँ मात्र विदेशी मुद्रामा भएको निक्षेप छ ।

नविलले पुस मसान्तसम्ममा १ खर्ब रुपैयाँ कर्जा दिएको छ भने १ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको छ ।

नबिलले पुस मसान्तमा ब्याज आम्दानीबाट मात्र २ अर्ब ९५ करोड रुपैयाँ कमाएको छ । अन्य आम्दानी ८८ करोड रुपैयाँ छ ।

नबिलको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ५७ पैसा छ । यस्तै पिइ रेसियो २३.३७ प्रतिशत छ । पुँजीमा प्रतिफल (आरओई) २३.६१ प्रतिशत छ ।

अब चार्टर्डको वित्तीय विवरण हेरौं । चार्टर्ड बैंकको पुँजी ८ अर्ब तथा रिजर्भमा ४ अर्ब ८६ करोड रुपैयाँ छ ।

निक्षेप ६६ अर्ब रुपैयाँ छ । जसमा स्वदेशी मुद्रामा ४२ अर्ब १७ करोड रुपैयाँ तथा विदेशी मुद्रामा २३ अर्ब ८९ करोड रुपैयाँ छ ।

चार्टर्डले ४२ अर्ब ४५ करोड रुपैयाँ कर्जा दिएको छ ।

चार्टर्डले पुस मसान्तसम्ममा १ अर्ब रुपैयाँ नाफा कमाएको छ । जसमा ब्याज आम्दानीबाट १ अर्ब ४६ करोड रुपैयाँ तथा अन्य आम्दानी ७० करोड रुपैयाँ छ ।

चार्टर्डको प्रतिसेयर आम्दानी (इपिएस) २५ रुपैयाँ छ । पिइ रेसियो ४१.०३ रहेको छ । आरओई १५.७१ प्रतिशत छ ।


क्लिकमान्डु