दोहोरो अंकको आर्थिक वृद्धिका लागि ऊर्जामा बृहत् लगानी: मन्त्री पुन



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले परिणाम निकाल्ने गरी काम गर्न नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

प्राधिकरणमा आज आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उहाँले प्राधिकरणको प्रणालीमा रहेको चुहावट नियन्त्रण गर्न, लामो समयदेखि रोकिएका आयोजना तत्काल सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गरे ।

सरकारले एकाध वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरेको भन्दै त्यसको आधार ऊर्जा नै भएकाले इमान्दार भएर काम गर्न प्राधिकरणका कार्यकारी निर्देशकलगायत सबै कर्मचारीलाई मन्त्री पुनले निर्देशन दिए ।

‘लामो समयदेखि कुलेखानी तेस्रो निर्माण सम्पन्न हुन सकेको छैन । माथिल्लो त्रिशूली ‘ए’ आयोजनाको अवस्था उस्तै छ । माथिल्लो तामाकोशी आयोजनासमेत लयमा छैन भन्ने सुनेको छु । अब कुनै पनि आयोजना रोकिनु हुँदैन । समयमा सकिनु पर्छ ।’ उनले भने ।

मन्त्री पुनले ऊर्जामा नेपाललाई आत्मनिर्भर बनाउन पनि जलविद्युत् क्षेत्रमा विशेष लगानी जरुरी रहेको स्पष्ट पारे ।

पेट्रोलियम पदार्थ आयातमा मात्रै वर्षेनी १ खर्ब बराबर विदेशिने गरेको तथ्यांक पेश गर्दै उनले नेपाली जनताको चुलोसम्म प्रभाव पर्ने विषयमा गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिए ।

‘वर्षेनी रु एक खर्ब बराबरको पेट्रोलियम पदार्थ आयातमात्रै रोक्न सकियो भने मात्रै पनि व्यापार घाटा कम गर्न सकिन्छ,’ उनले भने ।

दोहोरो अंकको आर्थिक वृद्धिका लागि ऊर्जा क्षेत्रको महत्वपूर्ण योगदान हुने भएकाले सरकारले यसमा विशेष कार्ययोजनाका साथ लगानी गर्ने र प्राथमिकता दिनेसमेत उनको कथन थियो ।

राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड दिने प्रणालीको विकास गरिने उल्लेख गर्दै मन्त्री पुनले सरकारको भावना, जनताको आवश्यकता र चाहनालाई केन्द्रमा राखेर काम गर्न आग्रह गरे ।

बत्ती बालेरमात्रै समृद्धि नआउने भएकाले उनले ऊर्जाको विविधीकरण तथा प्रयोगको दायरासमेत बढाउनुपर्नेमा मन्त्री पुनको जोड थियो । उनले नेपाललाई समृद्ध र आर्थिक रुपमा सबल बनाउनका लागि महत्वपूर्ण भूमिका ऊर्जा क्षेत्रकै हुने भएकाले सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजनाका साथ काम गर्ने उाको कथन थियो ।

आगामी १० वर्षमा कम्तीमा पनि १० हजार मेगावाट विद्युत् उत्पादन गर्नैपर्ने बाध्यता रहेको भन्दै मन्त्री पुनले सबैको सकारात्मक र सार्थक प्रयत्नबाट मात्रै त्यो लक्ष्य हासिल हुने स्पष्ट पारे ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षदेखि पूर्णरुपमा लागू भएको विद्युत्भार कटौतीले सकारात्मक प्रभाव पारेको भन्दै अब व्यवस्थित र विद्युत् विस्तार प्रणालीमा जोड दिनुपर्नेमा जोड दिए ।

उनले सरकारी र निजी क्षेत्रको सकारात्मक प्रयासका कारण मुलुकमा सकारात्मक परिणाम आएकाले आगामी दिनमा थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । रासस


पुष्प दुलाल