चालु खाता घाटामा, शोधनान्तर स्थिति ऋणात्मक, वित्तीय अबस्था कसिलोः राष्ट्र बैंक




काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वित्तीय स्थिति ‘कसिलो अबस्थामा’ पुगेको बताएको छ । यो भनेको अहिलेको अबस्थाबाट थप सुधार भएन भने विग्रन्छ भनेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक बर्षको ७ महिना अर्थात माघ मसान्तसम्मको देशको समग्र आर्थिक अबस्थाको आधारमा विश्लेषण गर्दै यस्तो भनेको हो । चालु खाता घाटामा जाने क्रम बढेकोले समग्र शोधनान्तर स्थिति ऋणात्मक रहेको र विदेशी मुद्रा संचितिमा कमी आएकोले वित्तीय अबस्था कसिलो भएको राष्ट्र बैंकको भनाइ छ ।

विदेशी मुद्रा संचिति घट्दै गएपछि विदेशबाट नेपालमा बस्तु तथा सेवा आयात गर्न समस्या उत्पन्न हुन सक्छ ।

‘वित्तीय अवस्था केही कसिलो रहिरहेको छ, बढ्दो चालू खाता घाटासँगै समग्र शोधनान्तर स्थिति ऋणात्मक रहेका कारण विदेशी मुद्रा सञ्चितीमा केही कमी आएकोले वित्तीय अवस्था कसिलो भएको हो,’ राष्ट्र बैंकले भर्खरै सार्बजनिक गरेको चालु आर्थिक बर्षको ७ महिना (माघ मसान्त) सम्मको देशको समग्र आर्थिक अबस्था बारेको विवरणमा उल्लेख गरिएको छ ।

कस्तो छ त चालू खाता एवम् शोधनान्तर स्थिति ?

गत आर्थिक बर्षको माघ मसान्तसम्ममा पनि चालु खाता घाटामै थियो । यद्यपि यस्तो घाटा १० अर्ब ६६ करोड रुपैयाँ मात्रै थियो । तर, यो बर्षको माघ मसान्त आइपुग्दा यस्तो घाटा बढेर १ खर्ब ४१ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।

यो बर्ष आयात तथा विदेशी लगानीको लाभाशं भुक्तानीमा भएको उच्च वृद्धिका कारण चालू खाता उल्लेख्य घाटामा रहेको राष्ट्र बैंकको भनाइ छ । गत बर्षसम्म रोकिएर राखेको एनसेललगायतका बिदेशी लगानीका केही कम्पनीले पाउनुपर्ने लाभांश रकम अदालतको आदेशका कारण यो बर्ष भुक्तानी भएको छ । यसैकारण चालु खाता अझ घाटामा जान सहयोग पुगेको छ ।

समग्र शोधनान्तर स्थिति पनि नकारात्मक भएको छ । गत बर्षको माघ मसान्तसम्ममा समग्र शोधनान्तर स्थिति ३६ अर्ब ९५ करोड रुपैयाँले बचतमा थियो । तर, चालु आर्थिक बर्षको माघ मसान्तसम्म आइपुग्दा समग्र शोधनान्तर स्थिति पनि १८ अर्ब २८ करोड रुपैयाँले घाटामा छ ।

यो बर्षको माघ मसान्तसम्ममा पुँजीगत ट्रान्सफर १० अर्ब ६४ करोड रुपैयाँ भएको छ । गत बर्षको यही अबधिमा यस्तो ट्रान्सफर ९ अर्ब २५ करोड रुपैयाँको भएको थियो ।

चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा प्रत्येक्ष वैदेशिक लगानी भने बढेको छ । चालु आर्थिक बर्षको ७ महिनामा १४ अर्ब ३४ करोड रुपैयाँ बराबरको प्रत्येक्ष विदेशी लगानी आएको छ । जबकि गत बर्षको सोही अबधिसम्ममा ७ अर्ब ६० करोड रुपैयाँ बराबरको मात्रै विदेशी लगानी आएको थियो ।

कति छ त अब नेपालसँग विदेशी विनिमयको सञ्चिति ?
गत असार मसान्तमा १० खर्ब ७९ अर्ब ४३ करोड रुपैयाँ बराबरको कुल विदेशी विनिमय सञ्चिति थियो । यो संचिति माघ मसान्तसम्म आइपुग्दा २.८ प्रतिशतले घटेर १० खर्ब ४९ अर्ब २० करोड रुपैयाँमा सिमित भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तको ९ खर्ब २७ अर्ब २७ करोड रुपैयाँको तुलनामा २०७४ माघ मसान्तमा १ प्रतिशतले वृद्धि भई ९ खर्ब ३६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तमा १ खर्ब ५२ अर्ब १७ करोड रुपैयाँ बराबरको रहेकोमा २०७४ माघ मसान्तमा २५.७ प्रतिशतले कमी आई १ खर्ब १२ अर्ब ९९ करोड रुपैयाँमा सिमति भएको छ । बैंकिङ क्षेत्रमा तरलताको अभाब भएपछि बैंकहरुले आफूसँग भएको विदेशी मुद्रा बेचेका कारण यस्तो कमी भएको हो । २०७४ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.७ प्रतिशत रहेको छ ।

कति सयमको आयात धान्न सक्छ नेपालले ?
आर्थिक वर्ष २०७४/७५ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ११.३ महिनाको वस्तु आयात र ९.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिएको राष्ट्र बैंकको भनाइ छ ।

विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४०.४ प्रतिशत, ८१.९ प्रतिशत र ३७.६ प्रतिशत रहेका छन् । २०७४ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ४१.५ प्रतिशत, ९५.२ प्रतिशत र ४१.६ प्रतिशत रहेका थिए ।

तर यति हुदाहुदै पनि आगामी दिन सहज हुन सक्ने अपेक्षा राष्ट्र बैंकको छ ।

‘आगामी दिनमा सरकारी खर्चमा आउने वृद्धिले विद्यमान वित्तीय अवस्थामा सुधार हुदै जाने देखिन्छ,’ राष्ट्र बैंकले भनेको छ ।


क्लिकमान्डु