सुरु भयो रासन कार्ड कार्यान्वयन प्रक्रिया, अब सस्तो मुल्यमा खाद्यान्य किन्न पाइने



काठमाडौं । सरकारले दैनिक उपभोग्य वस्तु सस्तो मुल्यमा बढाउने प्रक्रिया अगाडि बढाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयले रासन कार्डको कार्यान्वयनको प्रतिवेदन चैत महिनासम्ममा सार्वजनिक गर्ने तयारी गरेको छ ।

विगतदेखि चर्चामा आएको रासन कार्ड कार्यन्वयनका लागि प्रक्रिया केही महिना मात्र सुरु भएको हो ।

मन्त्रालयका प्रवक्ता मुकुन्द पौडेलले चैत महिनासम्ममा यसको प्रतिवेदन सार्वजनिक हुने जानकारी दिए ।

मन्त्रालयले रासन कार्ड कार्यन्वयन गर्न सम्भाव्यता अध्ययनको जिम्मेवारी त्रिभुवन विश्व विद्यालय अन्तर्गतको आर्थिक विकास तथा प्रशासन केन्द्र(सेडा)लाई दिइएको छ ।

झन्डै साढे चार वर्ष अघि सरकारले रासन कार्ड कायन्वयनको परामर्शसहितको अध्ययन गर्न सेडालाई जिम्मेवारी दिएको थियो ।

प्रवक्ता पौडेलले भने ‘अब चैत मसान्तसम्म रासन कार्डको आवश्यक्ता, औचित्य र कार्डको सफल कार्यान्वयनका लागि सरकारले अपनाउनु पर्ने आधारका सम्बन्धमा विज्ञको सल्लाह र सुझाबसहितको प्रतिवेदन पत्र आउने छ, अहिले नै भन्न मिल्दैन तर, हामी चाँडै प्रतिवेदन पेस गर्ने तयारीमा छौँ ।’

सेडाले प्राविधिक टोली गठन गरी प्रतिवेदन तयार पार्ने काम सुरु गरिसकेको छ ।
रासन कार्ड कार्यान्वयन प्रक्रिया भित्रै रहेर सेडाले सबै सरोकारवालाहरुसँग छलफल तिब्र गतिमा अघि बढाएको थियो ।

आम उपभोक्तालाई दैनिक अति आवश्यक वस्तु सहज रुपमा उपलब्ध गराउने तयारीका साथ सरकारले रासन कार्ड कार्यान्वयनको कार्यलाई अघि बढाउन सुरु गरेको हो ।

सरकारले रासन कार्ड मार्फत केही थप दैनिक उपभोग्य वस्तु थपेर मट्टितेल, ग्यास सिलिन्डरका साथै खाद्य वस्तुतर्फ नुन, चिनी, चामल उपलब्ध गराउने योजना गरेको छ ।

करिब दुई वर्ष अघि पनि आपूर्ति मन्त्रालयले रासन कार्ड कार्यान्वयनमा ल्याउनको लागि उच्चस्तरीय अध्ययन समिति गठन गरेको थियो । तत्कालीन मन्त्रालय सहसचिव उत्तमप्रसाद नागिलाको संयोजकत्वमा ६ सदस्यसहित समिति गठन गरिएको थियो ।

उक्त समितिले अध्ययन गरी तीन महिना भित्र प्रतिवेदन बुझाउने भनिएको थियो । समितिलाई रासन कार्ड कार्यान्वयनमा ल्याउन छिमेकी मुलुक भारतसहित अन्य मुलुकमा भएका व्यवस्था तथा प्रभावकारिताका विषयमा पनि अध्ययन तथा विश्लेषण गर्ने जिम्मेवारी दिइएको थियो ।

भारतमा सरकारले रासन कार्ड वितरण प्रणालीलाई प्रभावकारी ढङ्गमा अघि बढाउन तथा कार्यान्वयनमा ल्याउन आम्दानीका आधारमा तीन प्रकारको परिवार उपभोक्ता रासन कार्ड वितरण गरेको छ ।

सबैभन्दा बढी गरीब रहेका परिवारलाई अत्यावश्यक भनेर एक प्रकारको रासन कार्ड, गरीबको रेखा मुनि रहेका उपभोक्तालाई बीपीएल तथा मध्य र उच्च आयस्रोत भएका अपभोक्तालाई एपीएल रासन कार्ड वितरण गरेको छ ।

साथै आम्दानीका आधारमा वितरण भएको कार्डमार्फत उपभोक्तालाई बजारभन्दा निकै सस्तोमा चामल, पीठो, दाल, गहुँ, चिनी, नुन, मट्टि तेल र खाना पकाउने ग्यास उपलब्ध गराउँदै आएको छ ।


क्लिकमान्डु