संस्थागत निक्षेपकर्ताले गर्न थाले यस्तो बार्गेनिङ



काठमाडौं । संस्थागत निक्षेपकर्ताको बार्गेनिङका कारण ब्याजदर अत्याधिक बढेपछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले मुद्दति ११ र बचतमा ८ प्रतिशतभन्दा बढी ब्याज नदिने ‘भद्र सहमति’ गर्यो ।

भद्र सहमतिको उल्लंघन गरेको भन्दै बैंकर्स संघले एनआइसी एशिया बैंकसँग अन्तर बैंक र वैदेशिक मुद्राको कारोबार नगर्ने निर्णय समेत गर्यो । एनआइसी एशिया बैंकले मुद्दतिमा १२ प्रतिशत र बचतमा १० प्रतिशत ब्याज दिने स्किम ल्याएको थियो ।

बैंकर्स संघको निर्णयका कारण अन्य २७ वाणिज्य बैंकबाट एक्लिएपछि एनआइसी एशियाले भद्र सहमतिभन्दा बढी ब्याज दिने स्किम बन्द गरिसकेको छ ।

संस्थागत निक्षेपकर्ताको वार्गेनिङका कारण बैैंकहरुले बढाबढमा ब्याज दिइरहेका थिए । बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) कम भएपछि निक्षेप आकर्षित गर्न बैंकहरुले ब्याजदर बढाउने प्रतिस्पर्धा गरेका थिए ।

पहिले संस्थागत निक्षेपकर्ताहरु बैंकसँग बढी ब्याजको बार्गेनिङ गर्थे । अहिले लामो समय निक्षेप राख्नका लागि बार्गेनिङ गर्न थालेका छन् ।

भद्र सहमति गरेसँगै बैंकहरुले बढाबढमा दिइरहेको ब्याजदर नियन्त्रण त भयो । तर, बैंकहरुलाई फेरि अर्को आपत्त आइलागेको छ ।

यतिखेर बैंकहरुका लागि संस्थागत निक्षेप ‘नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाउको अनुहार’ भनेजस्तै भएको छ ।

बैंकर्स संघको भद्र सहमतिपछि संस्थागत निक्षेपकर्ताले बैंकसँग गर्ने ‘बार्गेनिङ’ को शैली फेरिएको छ ।

पहिले संस्थागत निक्षेपकर्ताहरु बैंकसँग बढी ब्याजको बार्गेनिङ गर्थे । अहिले लामो समय निक्षेप राख्नका लागि बार्गेनिङ गर्न थालेका छन् ।

जसले लामो समयका लागि निक्षेप लिन्छ संस्थागत निक्षेपकर्ताले त्यो बैंकमा निक्षेप राख्न थालेका हुन् ।

‘१ वर्षपछि तरलता सहज हुने विश्वासमा बैंकहरु १ वर्षका लागि मात्रै महंगो ब्याजदरमा निक्षेप लिन चाहन्छन्,’ प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले क्लिकमाण्डूसँग भने, ‘तर, संस्थागत निक्षेपकर्ताहरु जसले बढी समयका लागि निक्षेप लिन्छ, उसैकहाँ निक्षेप राख्न चाहन्छन् ।’

सीइओ शेरचनका अनुसार सबै संस्थागत निक्षेपकर्ताले बार्गेनिङ नगरे पनि आधाभन्दा बढीले यस्तो बार्गेनिङ गरिरहेका छन् । जुन बैंकहरुका लागि नयाँ समस्याका रुपमा अघि देखिएको उनको भनाइ छ ।

‘बैंकहरुले ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरेपछि हामीजस्ता संस्थागत निक्षेपकर्ताहरु ३ वर्षे, ५ वर्षे, ७ वर्षे, १० वर्षे निक्षेप राख्न आकर्षित भएका छौं,’ नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिृकत विबेक झाले क्लिकमाण्डूसँग भने, ‘जुन बैंकले बढी समयका लागि निक्षेप लिन्छ, हामीलाई त्यो बैंकमा पैसा राख्दा फाइदा हुन्छ ।’

आफ्नो कम्पनीले पहिले पनि तरलता अभाव भएकाबेला महंगो ब्याजदरमा ५ देखि १० वर्षे मुद्दति निक्षेपमा पैसा राखेकाले बीमितलाई राम्रो नाफा दिन सकेको झाले सुनाए ।

‘अहिले पनि हामीले कोट गर्दा ५ देखि १० वर्षे निक्षेप राख्नका लागि कोट गरिरहेका छौं,’ उनले भने, ‘अर्को वर्षदेखि ब्याजदर घट्यो भने पनि आफ्नो आम्दानी नघटोस् भन्ने हाम्रो ध्येय हो ।’

त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्सका उपममहाप्रबन्धक सुरेश प्रसाद खत्रीले पनि ५/७ वर्षे मुद्दति निक्षेपमा पैसा राख्नका लागि आफूहरुले बैंकसँग कुरा गरिरहेको जानकारी दिए ।

‘जसले बढी समयका लागि निक्षेप लिन्छ, त्यही बैंकमा पैसा राख्न हामी आकर्षित हुन्छौं,’ खत्रीले सुनाए ।

बैंकहरुमा बीमा कम्पनीको ठूलो निक्षेप छ । बीमा कम्पनीलेहरुले बीमितबाट उठाएको प्रिमियम बैंकमा निक्षेप राख्ने भएकाले उनीहरुसँग बैंकसँग ठूलै बार्गेनिङ गर्नसक्ने क्षमता पनि छ ।

त्यसैगरी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेना, प्रहरी, नेपाल टेलिकम लगायतका सरकारी निकायहरु ठूला संस्थागत निक्षेपकर्तामा पर्छन् ।


पुष्प दुलाल