‘सामाजिक मनोविज्ञानले भ्रष्टाचारलाई बढावा दियो’




काठमाडौं । कुनै पनि समाजको चरित्र र त्यसको बनोटले भ्रष्टाचार बढ्ने वा घट्ने कुरालाई प्रभाव पार्ने विज्ञहरुले औल्याएका छन् । प्रा.चैतन्य मिश्र समाज विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागले गते संयुक्त रुपमा आयोजना गरेको समाज र भ्रष्टाचार विषय अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले उक्त कुरा औल्याएका हुन् ।

कार्यक्रममा बोल्दै प्राध्यापक चैतन्य मिश्रले भ्रष्टाचारको कारण व्यक्तिगत नभएर सामाजिक हुने कुरामा जोड दिए ।

‘साधारण रुपमा हेर्दा भ्रष्टाचार व्यक्तिले गर्ने हुनाले यो व्यक्तिगत आचरण तथा लोभको प्रतिफल जस्तो देखिन्छ, तर हामीले मिहिन रुपमा हेर्ने हो भने व्यक्तिगत आचरण तथा लोभ लालसा पनि यही समाजको उत्पादन हो, त्यसैले भ्रष्टाचारको कारण सामाजिक संरचनाको अवस्थालाई विश्लेषण गरेर मात्र थाहा पाउन सकिन्छ,’ मिश्रले भने ।

यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले राजनीतिक क्षेत्र भ्रष्टाचारको प्रमुख मुहान बन्दै गएको औल्याए । उनले पछिल्लो समय भ्रष्टाचारीहरुको सञ्जाल राज्यका हरेक संयन्त्र र संरचनामा फैलिएकोले भ्रष्टाचारीले राज्य कब्जा गर्ने अवस्था सिर्जना भएको बताए ।

यद्यपी नेपाली समाजमै डा. गोविन्द केसी जस्ता व्यक्तिले भ्रष्टाचारको नियन्त्रणको लागि अभियान पनि सञ्चालन गरिरहेकोले नेपाली समाजले भ्रष्ट मात्र उत्पादन नगरि त्यसको नियन्त्रणको लागि योद्धा पनि उत्पादन गरिरहेको उपाध्यायको भनाइ छ ।

कान्तिपुर दैनिकका सम्पादक हरिबहादुर थापाले राणा शासनदेखि गणतान्त्रिक युगसम्मको भ्रष्टाचारको प्रवृत्ति प्रस्तुत गरे । उनले समकालिन नेपाली समाजको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार रहेकोले यसको नियन्त्रणको लागि ठूलो अभियान र सहकार्यको आवश्यकता औल्याए ।

यसैगरी प्रतिष्ठानका अध्यक्ष तथा समाजशास्त्र केन्द्रीय विभागका विभागिय प्रमुख प्रा. तुल्सीराम पाण्डेले भ्रष्टाचारको बारेमा थप अध्ययन गर्न ईच्छुक विद्यार्थीहरुको लागि कार्यक्रम निकै उपयोगी रहेको उल्लेख गरे ।

कार्यक्रमले विद्यार्थीलाई भ्रष्टाचारको बारेमा शोधपत्र लेख्न तथा थप अध्ययन अनुसन्धान गर्नको लागि समेत महत्वपूर्ण योगदान पुर्याएको उनको भनाइ छ । कार्यक्रममा त्रिवि समाजशास्त्र केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरुले कार्यक्रमका वक्ताहरुसँग भ्रष्टाचारका बारेमा प्रश्नोउत्तर गरेका थिए ।

कार्यक्रममा सूर्यनाथ उपाध्याय तथा दिपेश घिमिरेद्धारा लिखित समाज र भ्रष्टाचारः कारण आयाम र परिणाम पुस्तकको लेखकस्व वापत लेखकद्धयले प्राप्त गरेको १ लाख ५ हजार रुपैयाँ प्रा. चैतन्य मिश्र समाज विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिएको थियो ।


क्लिकमान्डु