काठमाडौंको फोहरबाट अब ५ मेगावाटको विजुली उत्पादन हुने



काठमाडौं । काठमाडौं उपत्यकाको सौन्दर्यताको लागि ठूलो समस्या बनेको फोहरबाट अब ५ मेगावाटसम्मको विजुली उत्पादन हुने भएको छ ।

काठमाडौंको फोहर व्यवस्थापन गर्ने कम्पनी छनोट भएको ९ वर्षपछि लगानी बोर्डले आयोजना विकास सम्झौता(पिडिए)को प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको छ ।

पहिलो चरणमा काठमाडौं जिल्लाका काठमाडौं महानगर सहित १० वटा नगरपालिकाको फोहर व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढेको हो ।

लगानी बोर्ड र फोहर व्यवस्थापन गर्न छनोट भएको नेपवेप कम्पनीसँग बोर्डले प्रारम्भिक पिडिए गरेको हो । फोहर व्यवस्थापन हुने सबै नगरपालिकाको सुझाव आएपछि मन्त्रीपरिषद्बाट सम्झौता स्विकृति भएपछि अन्तिम हस्ताक्षर हुने छ ।

बुधवार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र नेप वेस्टकी अध्यक्ष संगीता श्रेष्ठले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरे ।

प्रारम्भिक सम्झौता भएको ९ महिनापछि कम्पनीले आर्थिक प्रस्ताव पेश गर्नुपर्ने हुन्छ ।

कम्पनीले २ वर्षभित्रमा फोहरमैला व्यवस्थापन गर्नुपर्ने हुन्छ । सार्वजनिक निजी साझेदारी अनुसार संचालन हुने परियोजना २० वर्षपछि सरकारको मातहतमा आउने छ ।

पहिलो चरणमा काठमाडौं  महानगरपालिका,दक्षिणकाली,चन्दागिरि,नागार्जुन,तारकेश्वर,टोखा,बूढानिलकण्ठ,गोकर्णेश्वर,कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकाका घरबाट उत्पादन हुने फोहर संकलन गर्ने छ ।

यो परियोजना संकलन गर्नको लागि ५ अर्ब रुपैयाँ लाग्ने छ । सरकारले ३ अर्ब रुपैयाँ रोयल्टीको रुपमा पाउने छ ।
पिडिएमा प्रतिघरले फोहर व्यवस्थापन गरे वापत कम्पनीलाई २१९ रुपैयाँ तिर्नुपर्ने छ ।

कम्पनीले यसरी संकलन हुने फोहर नुवाकोटको बन्चरे डाँडामा लगेर जम्मा गर्ने छ । यसबाट बढीमा ५ मेगावाट सम्मको विद्युत् उत्पादन हुने छ । प्रांगारिक मल पनि उत्पादन गर्ने तयारी कम्पनीको छ ।

लगानी बोर्डले किर्तिपुर नगरपालिका सहित ललितपुर तथा भक्तपुर जिल्लाको फोहर व्यवस्थापनको लागि छनोट भएको क्लिन भ्यालीसँगपनि चाडै पिडिए गर्ने जनाएको छ ।


क्लिकमान्डु