सेयर ब्रोकरकहाँ २ घन्टाः यस्तो देखियो लगानीकर्ताको मनोविज्ञान



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेदेखि लगातारजसो सेयर बजार परिसूचक (नेप्से) घटिरहेको छ । गत सातामात्रै प्रधानमन्त्री ओलीले योजना आयोगका उपाध्यक्ष तथा गभर्नर बनिसकेका मौद्रिक अर्थशास्त्रका ज्ञाता डा. युवराज खतिवडालाई अर्थमन्त्री नियुक्त गरे ।

सेयर बजारका लगानीकर्ताहरु नयाँ सरकार आएको सेन्टिमेन्टमा बजार बढ्ने र त्यसबाट लाभ लिन भनेर केही समयदेखि कुरेर बसेका थिए ।

नयाँ सरकार पनि बन्यो । देशले अर्थतन्त्रलाई जरैदेखि बुझेको अर्थमन्त्री पनि पायो ।

तर, त्यसको सकरात्मक प्रभाव सेयर बजारमा देखिएन । नवनियुक्त अर्थमन्त्री डा. खतिवडाले फागुन १६ गते बीबीसी नेपाली सेवालाई अन्तर्वार्ता दिँदै सेयर बजार अनुत्पादक भएको बताए ।

नयाँ अर्थमन्त्रीबाट सेयर बजारमैत्री अभिव्यक्तिको अपेक्षा गरेर बसेका लगानीकर्तालाई खतिवडाको उक्त टिप्पणी भयवित बनायो । र, त्यसको प्रभावस्वरुप गत आइतबार एकैदिन नेप्से ४१ अंकले घट्यो । र, सोमबार पनि नेप्से साढे १६ अंकले घट्यो ।

यसरी नेप्से घट्न थालेपछि प्रधानमन्त्री ओलीले अर्थमन्त्री खतिवडालाई बोलाएर नेप्से किन घटेको भनेर प्रश्नसमेत गरेका थिए ।

सेयर बजारमा ठूलो अंकको गिरावट आउन थालेपछि अर्थमन्त्री खतिवडाले आफूले त्यस्तो अभिव्यक्ति दिँदै नदिएको प्रष्टिकरणसमेत दिइसकेका छन् । तर, उनले सेयर बजार अनुत्पादक हो भनेर भनेको कुरा बीबीसी लगायत अन्य मिडियाहरुमा अहिले पनि अडियो सुरक्षित नै छ ।

मंगलबार पनि बिहान बजार खुल्ने बित्तिकै नेप्से घटेको थियो ।

यसरी लगातार नेप्से घट्न थालेपछि लगानीकर्ताको वास्तविक भावना बुझ्न हामी राजधानीका केही ब्रोकर अपिस (जहाँ सेयरको किनबेच हुन्छ) मा पुगेका थियौं । ब्रोकर कार्यालयमा सेयरको किनबेच गर्न आउनेहरुको मनोविज्ञानको विषयमा समेत हामीले अध्ययन गर्ने प्रयत्न गर्यौं ।

ब्रोकर अफिसमा जे देखियो…

करिब १ बजे हामी न्यूप्लाजास्थित कालिका सेक्युरिटीज प्रालि. पुग्यौं । जहाँ करिब डेढ दर्जन लगानीकर्ताहरु नेप्से कारोबारको लाइभ हेरिरहेका थिए । १ बज्दा नेप्से रातो रंगले पोतिएको थियो । आज पनि नेप्से घट्ने भयो भनेर लगानीकर्ताहरु उदास देखिन्थे ।

तर, १०/१५ मिनेटपछि नेप्से बढ्न थाल्यो । सेयर कारोबारको लाइभ हेरिरहेका लगानीकर्ताहरु लोडसेडिङ भइरहेको समय झ्याप्प बत्ति आउँदा खुसी भएझैं देखिन्थे ।

अनुहार हँसिलो बनाउँदै फलानो कम्पनीको बढ्यो, अघि किनेको भए यत्ति फाइदा हुने रहेछ भन्दै आफ्ना साथीहरुलाई सुनाउँदै थिए ।
लगानीकर्ताहरु नेप्से कारोबारको मात्रै लाइभ हेरिरहेका थिएनन् । उनीहरु अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा भइरहेको प्रतिनिधि सभाको बैठकको लाइभसमेत हेरिरहेका थिए ।

संसदमा शक्तिशाली नेताहरुले दिने अभिव्यक्तिले समेत सेयर बजारलाई प्रभावित गर्ने गर्छ ।

फोरमका उपेन्द्र यादवले संसदमा नेपालीमा भाषण गर्न थालेपछि लगानीकर्ताहरु ‘उपेन्द्रले नेपालीमा भाषण गरे त्यसैको प्रभावमा पनि नेप्से बढेको हुनसक्छ,’ भन्दै उनीहरु खासखुससमेत गरिरहेका थिए ।

लगानीकर्ताले जब बाबुरामलाई सम्झिए

२०६५ भदौ १५ गते नेप्से त्यसबेलासम्मकै उच्च बिन्दू अर्थात् ११७५ अंकमा पुगेको थियो । त्यसबेला अर्थमन्त्री थिए तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई ।

त्यसको केही हप्ताभित्रै डा. भट्टराईले एक सार्वजानिक कार्यक्रममा सेयर बजार जुवा घर भएको अभिव्यक्ति दिए । त्यसपछि लगानीकर्ताहरु अत्तालिए । उनीहरुको मनोबल गिर्यो । र, लगातार नेप्से सूचक घट्यो । यतिसम्म घट्यो कि नेप्से ३०० अंकसम्म झर्यो ।

लगानीकर्ताहरुले यो घटनालाई पनि घरिघरि स्मरण गरिरहेका थिए ।

कांग्रेस आउँदा बढ्छ, कम्यूनिष्ट आउँदा घट्छ

केही लगानीकर्ताहरु भने सेयर बजार घट्नुको दोष कम्यूनिष्ट सरकारलाई दिइरहेका थिए । कम्यूनिष्टहरु सेयर बजारप्रति अनुदार हुने गरेकाले कम्यूनिष्टको सरकार आउँदा लगानीकर्ताको मनोवल गिर्ने र नेप्से घट्ने उनीहरुको टिप्पणी थियो ।

स्मरण रहोस् केपी ओली प्रधानमन्त्री र विष्णु पौडेल अर्थमन्त्री भएको वर्ष नेप्से हालसम्मकै उच्च बिन्दू अर्थात् १८८१ अंकसम्म पुगेको थियो ।

१८ वर्षदेखि सेयर कारोबारमा सक्रिय निरज निरौलाले अर्थमन्त्री खतिवडाले सेयर बजार उत्पादनमूलक क्षेत्र भनेपछि त्यसको असर बजारमा देखिएको दाबी गरे ।

‘एकातिर हाम्रो प्रणालीगत समस्या ज्यूँका त्यूँ छ, अर्कातिर अर्थमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले लगानीकर्ताको मनोवल गिराउने अभिव्यक्ति दिएपछि त्यसको असर देखिएको हो,’ निरौलाले क्लिकमाण्डूसँग भने, ‘ कांग्रेसको सरकार आए नेप्से परिसुचक बढ्छ र कम्यिूनिष्टको सरकार आए घट्छ भन्ने सोचले पनि यसमा केही असर पारेको हो ।’

घट्न थालेपछि बिक्री चाप बढ्यो

सेयर बजारमा लगातारजसो गिरावट आउन थालेपछि नयाँ र साना लगानीकर्ताहरु आत्तिएको देखियो । जसकारण नेप्सेमा खरिद भन्दा बिक्री चाप बढेको छ ।

२० लाख रुपैयाँ बोकेर ३ वर्षअघि सेयर बजारमा प्रवेस गरेकी सुमित्रा धिताल सेयर घट्न थालेपछि अत्तालिएकी छिन् । ३ वर्षअघि धितालले २० लाखमा किनेको सेयरको मूल्य घटेर अहिले १३ लाख रुपैयाँमा झरेको छ । उनले प्रतिकित्ता २१०० रुपैयाँ किनेको बीमा कम्पनीको सेयर अहिले १२०० रुपैयाँमा झरेको छ ।

‘यसरी मूल्य घट्न थालेपछि मेरो त मनै खिन्न भएको छ,’ धितालले सुनाइन् ।

तैपनि आशा भने मरेको छैन उनको ।

‘सेयर बजारमा घटबढ भइरहन्छ, अहिले घटे पनि पछि बढ्छ भन्ने आशा छ,’ उनले भनिन् ।

ब्याजदर बढेपछि समस्या

न्यूप्लाजाकै अर्को ब्रोकर क्रिष्टल कञ्चनजंघा सेक्युरिटिजमा भेटिएका नवराज उनको बुझाइ भने अलि फरक छ ।

१५ वर्षदेखि सेयर कारोबार गर्दै आएका उप्रेती बैंकहरुले ब्याजदर बढाएपछि त्यसको प्रभाव सेयर बजारमा परेको बताउँछन् ।

‘बजार बढ्दा धेरै लगानीकर्ताले बैंकबाट ऋण लिएर लगानी गरेका थिए, त्यसबेला बैंकमा तरलता सहज भएकाले ब्याजदर कम थियो, तर अहिले बैंकले अचाक्ली ब्याजदर बढाएका छन्, जसकारण बैंकबाट ऋण लिएर सेयर किन्नेहरु समस्यामा परे,’ उप्रेतीले सुनाए ।

बैंकले निक्षेपमै १२ प्रतिशतसम्म ब्याज दिन थालेपछि धेरैले मुद्दति निक्षेपमा पैसा राख्ने गरेकाले पनि सेयर बजारमा लगानी कम हुने गरेको लगानीकर्ताहरुको भनाइ छ ।

घर बनाउने पैसा सेयरमा डुबेपछि…

क्रिष्टल कञ्चनजंघा मै भेटिएकी किर्तिपुर बस्ने निर्मला पराजुली घर बनाउने तयारी गर्दै थिइन् । सेयरमा लगानी गरे मालामाल कमाइ हुन्छ भनेर साथीभाइले सुनाएपछि उनी ४ वर्षअघि ३० लाख रुपैयाँ लिएर सेयर बजारमा हाम फालिन् ।

आफूले ३० लाखमा किनेको सेयरको भ्यालुएसन अहिले घटेर १२ लाख रुपैयाँमा झरेपछि उनी निकै उदास देखिएकी छन् ।

‘मैले प्रतिकित्ता ५०० रुपैयाँमा किनेको सेयर अहिले घटेर २०० रुपैयाँमा झरेको छ,’ पराजुलीले भनिन्, ‘थोरै लगानी गर्ने हामीजस्ता साना लगानीकर्ताहरुलाई निकै कठिन हुँदो रहेछ ।’

उनको पनि आश भने मरेको छैन ।

त्यस्तै, १३ वर्षदेखि सेयर बजारमा लगानी गर्दै आएकी सम्झना सिल्वाल बैंकबाट ऋण लिएर सेयर किनेका लगानीकर्ताहरु ब्याजदर बढ्न थालेपछि र बजार घट्न थालेपछि समस्यामा परेको बताउँछिन् ।

सिल्वालले प्रतिकित्ता ७०० रुपैयाँ हालेर किनेको सेयर अहिले प्रतिकित्ता १ देखि डेढ सय रुपैयाँमा झरेको छ ।

उनले पनि आशा भने मारेकी छैनन्

त्यस्तै, मिडिया कन्सलटेन्ट चलाउँदै आएका शितल कोइराला क्रिष्टल कञ्चनजंघामा भेटिए । उनले राजनीतिक अस्थिरताका कारण बजार घटेको सुनाए ।

८ वर्षदेखि सेयर कारोबार गरिरहेका उनी आफुले ३ हजारमा किनेको सेयर कित्ता १६०० रुपैयाँमा बेचेको सुनाए ।

आफूले बिबेक पुर्याएर १६०० मै बिक्री गरेको उनले सुनाए । उनले १६०० मा बेचेको कम्पनीको सेयर अहिले १२०० रुपैयाँमा झरेको छ ।

घटेपछि खुसी हुँदै किन्न आए बबिन

कालिका सेक्युरेटिजमै भेटिएका बबिन श्रेष्ठ भने सेयर किन्न आएका हुन् । बजार घटेपछि आफू सेयर किन्न आएको उनले सुनाए । उनले पछिल्लो एक महिनाको अवधिमा श्रेष्ठले ऋणी हाइड्रोपावरको १४० देखि १५० रुपैयाँ प्रतिकित्ताका १५ हजार कित्ता सेयर किनेको सुनाए ।

‘मैले किनेको सेयरको मूल्य १३० रुपैयाँको हाराहारीमा पुगेको छ, त्यो घाटा पुर्ति गर्न उपयुक्त कम्पनीको सेयर किन्न आएको हुँ,’ श्रेष्ठले भने ।

वितेका ४ वर्षदेखि उनी सेयर बजारमा सक्रिय लगानीकर्ताको भूमिकामा छन् । श्रेष्ठले आफूसँग भएको अधिकांश सेयर गत वर्ष नेप्से उच्चतम बिन्दुमा पुगेको बेला बेचेका थिए ।

‘नाफा कमाउनका लागि सेयरमा लगानी गर्ने हो, बजार मूल्य कम भएको समयमा सेयर किन्नु पर्छ र बढी भएको बेला बेच्नुपर्छ भन्ने मेरो मान्यता छ,’ श्रेष्ठले भने ।

सेयर किन्ने मान्छेले हतारिएर नबेच्ने र यसरी घटेको बेलामा राम्रो कम्पनी हेरेर सेयर किन्ने हो भने पनाफा कमाउन सकिने उनको भनाइ थियो ।

जब लगानीकर्ता मुस्काउँदै बाहिरिए

हामी सेयर कारोबार बन्द हुने समय अर्थात् दिउसो ३ बजेसम्म बस्यौं । आज कारोबार बन्द हुँदा नेप्से साढे ८ अंकले बढेको थियो । होटल र अन्य बाहेक सबै उपसूचक बढेर हरियै भएका थिए । २ घन्टाअघिसम्म ब्रोकरको कार्यालयमा अध्याँरो अनुहार लगाएर बसेका लगानीकर्ताहरु मन्द मुस्कानसहित बाहिरिएको देखियो ।


पुष्प दुलाल