तपाईंको किचनमा भएको ग्यास सिलिन्डर ‘बम’ हो कि होइन ? यसरी चिन्नुहोस्



काठमाडौं । तपार्इंले आफ्नो भान्सामा ‘किचेन बम’ सेट गरिरहनु भएको छ । त्यो बम सावधानी अपनाउन नसक्दा जुनसुकै बेला विस्फोट हुनसक्छ । सावधानी अपनाउनु भयो भने खतराबाट धेरै हदसम्म जोगिन सकिन्छ ।

यहाँ खाना पकाउन प्रयोग गरिने एलपी ग्यास सिलिन्डरलाई बम भनिएको हो । किनभने ग्यास सिलिण्डर पड्किएर धेरैले ज्यानसमेत गुमाइसकेका छन् । सिलिण्डर लिक हुने, विष्फोट हुने जस्ता घटनाहरु बढिरहेका छन् ।

भारतीय नाकाबन्दीकै बेला ललितपुरमा ग्यास सिलिन्ड विस्फोट हुँदा एउटै परिवारका ३ जना र कालिमाटीमा पनि १ जनाले ज्यान गुमाएका थिए । त्यसयता पनि ग्यास विस्फोटका घटना भइरहेका छन् ।

ग्यास विस्फोटको घटना न्यूनिकरणका लागि भन्दै गुणस्तर तथा नापतौल विभागले ल्याएको सिलिन्डर मापदण्ड पनि पूर्णरुपमा लागू हुन सकेको छैन । ग्यास उद्योगीहरुले सरकारी नियमको उलंघन गरिहेका छन् ।

यस्तो अवस्थामा उपझोता आफैं सचेत हुने हो भने पनि धेरै हदसम्म दुर्घटना कम गर्न सकिन्छ । सर्वसाधारणलाई सिलिण्डरको म्यादका सम्वन्धमा जानकारीको अभाव हुँदा पनि जोखिम मोल्न बाध्य भएका छन् । खाद्य सामानमा जस्तै ग्यास सिलिन्डको पनि म्याद सकिने समय उल्लेख हुन्छ । तर, त्यसका लागि केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । सिलिण्डरको म्याद उपभोक्ताले सहजै हेर्न सक्छन् ।

कसरी हेर्ने ? के-के हेर्ने ?

ग्यास सिलिण्डरको घाँटीमा भएका ३ वटा डण्डीमध्ये एउटामा भित्रपट्टी सिलिण्डरको म्यादलाई जनाउनेगरी कोड उल्लेख गरिएको हुन्छ ।

डण्डीमा उल्लेख गरिएको कोडकै आधारमा ग्यास सिलिन्डको म्याद थाहा पाउन सकिन्छ । सिलिन्डरमा प्रयोग गरिएको डन्डीको घाँटीमा ए, बी, सी र डी कोर्ड नम्बर राखिएको हुन्छ । कोडसँगै १८, १८ २०, २२, २५ आदि अंकहरु हुन्छ । सोही आधारका सिलिन्डरको म्याद पत्ता लगाउन सकिन्छ ।

ए, बी, सी र डीले अंग्रेजी महिनाको क्रमशः ३-३ महिना जनाउँछ । जसमा एले जनवरी, फेब्रुअरी र मार्च महिना जनाउँछ भने बीले अप्रिल, मे, जुन महिनालाई जनाउँछ । सीले जुलाई, अगष्ट र सेप्टेम्बर तथा डीले अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनालाई जनाउँछ । त्यस्तै अंग्रेजी अक्षरपछि लेखिएको अंकले मिति जनाउँछ । जस्तै २२ अंक लेखिएको भएमा त्यसको म्याद २०२२ सम्म हो भन्ने बुझ्नुपर्दछ ।

‘ए २२’ लेखिएको सिलिण्डरको म्याद सन् २०२२ को मार्च सम्म हो भनी बुझ्नुपर्छ । यसैगरी सिलिन्डरमा २८ डी लेखेको छ भने त्यो सिलिन्डरको म्याद सन् २०२८ को डिसेम्बरसम्मको रहेछ भनेर बुझनुपर्छ ।

एउटा सिलिण्डरको म्याद १० वर्षसम्म हुन्छ । १० वर्षपछि हाइड्रोलिक टेष्ट गर्नुपर्ने र ५ वर्ष म्याद थप्न सकिन्छ ।

नेपाल आयल निगमका अनुसा सिलिण्डरको म्याद सकिएपछि वा बीचमै चुहावट भएमा त्यसलाई मर्मत तथा वल्डिङ गरेर प्रयोग गर्न पाइँदैन । सिलण्डरको म्याद मात्रै होइन, सिलिण्डरको तौल पनि धेरैलाई थाहा नभएको हुन सक्छ । फलामको तौल फरक फरक भए पनि त्यसले कुनै प्रभाव भने पार्दैन ।

केही सिलिण्डरको तौल १४ र केही सिलिण्डरको १५ केजीभन्दा बढी तौल हुने गरेको छ । सिलिण्डरको घाँटीमा रहेका तीन डण्डीमध्ये एउटामा वा घाँटीमुनि सुरुमा सिलिण्डरको तौल र त्यसको मुनि ग्यासको तौल १४ दशमलव २ केजी लेखिएको हुन्छ । सिलिण्डरको फलामको तौल जति भए पनि ग्यासको तौल भने १४ दशमलव २ केजी हुनपर्छ ।


पुष्प दुलाल