अब यसो नगरे नेपालमा चल्दैनन् बिदेशबाट ल्याएका मोवाइल



काठमाडौं । अब विदेशबाट ल्याएर दर्ता नगरी प्रयोगमा आएका मोबाइलहरु नेपालमा प्रतिबन्धित हुने भएका छन् । सरकारले नेपालमा दर्ता नभएका र अनुमति नलिई प्रयोगमा आउने कुनैपनि मोबाइल सेटलाई कालो सूचीमा राख्ने भएको हो ।

नेपाल दूरसंचार प्राधिकरणले नेपालमा आईएमईआई दर्ता नभएका मोबाइल सेटहरुको प्रयोगमा प्रतिबन्ध लगाउने गरि कानून निर्माण गरिरहेको छ । सोहि कानूनको आधारमा सरकारले शंकास्पद किसिमका मोबाइल सेटहरुलाई प्रतिबन्ध लगाउन सक्ने भएको हो ।

प्राधिकरणले बनाउन लागेको विनियमावलीअनुसार नेपालमा प्रयोगमा आएका र आउने मोबाइल सेटहरुलाई ३ प्रकारमा विभाजन गरिने प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले जानकारी दिए ।

‘हामीले सबै कार्य सक्न कम्तिमा ६ महिना लाग्दछ, त्यसपछि ह्वाईट लिस्ट, ग्रे लिस्ट र ब्ल्याक लिस्टमा मोबाइल सेटहरु सूचिकृत हुने काम शुरु हुन्छ, उनले क्लिकमाण्डूसँग भने ।

प्राधिकरणले विनियमावली बनाउने क्रममा रहेको र त्यसको आधारमा नै सेयर्ड इक्यूपमेन्ट आइडेन्टिटी रजिस्टर्ड (एसईआईआर) राष्ट्रिय तहमा शुरु गर्ने छ ।

यसको लागि प्राधिकरणले तेस्रो पक्षिय कम्पनीलाई जिम्मा दिने र त्यसको सम्पूर्ण तथ्यांक प्राधिकरणको मातहतमा रहनेछ । सो कम्पनीले नेपाल भित्रने र प्रयोगमा आएका सम्पूर्ण मोबाइल सेटहरुको आईएमईआई दर्ता गर्नेछ र त्यसको लागि ग्लोबल ईआईआर भेरिफिकेसनलाई आधारको रुपमा लिने बताईएको छ ।

त्यसपछि भने प्राधिकरणले स्थानीय सर्भरमा भएको ह्याण्डसेट मात्र प्रयोग हुने जानकारी दिएको छ ।

के हो ह्वाइट, ग्रे र ब्ल्याक लिस्ट ?

प्राधिकरणले मोबाइल ह्याण्डसेटको आईएमईआई दर्तालाई अहिले नै अनिवार्य गरेको छ । यसको लागि मोबाइल आयातकर्ता कम्पनीहरुले प्राधिकरणमा नेपालभित्र आयात गरिने सम्पूर्ण मोबाइल ह्याण्डसेटहरुको आईएमईआई दर्ता गर्नुपर्ने हुन्छ । यसको लागि अनलाईनमार्फत वा प्राधिकरणको कार्यालयमा नै गएर दर्ता गराउन सकिने प्रावधान छ ।

त्यस्तै कसैले व्यक्तिगतरुपमा विदेशबाट ल्याएको ह्याण्डसेटको पनि व्यक्तिगतरुपमा आईएमईआई दर्ता गर्न सकिन्छ । यसको लागि प्रयोगकर्ता आफैंले प्रकृयामा जानुपर्ने हुन्छ ।

प्राधिकरणले एसईआईआर लागु गरेपछि आईएमईआई दर्ता नभएका मोबाइल ह्याण्डसेटहरुका लागि सिम नदिनको लागि विभिन्न मोबाइल अपरेटर कम्पनीहरुलाई निर्देशन दिनसक्नेछ र त्यसको आधारमा दर्ता नभएका मोबाइल सेटहरु स्वत निष्कृय हुनेछन् । जसलाई प्राधिकरणले ब्लाक लिस्टको रुपमा राख्नेछ ।

यस्तो ब्ल्याक लिस्टमा स्वदेशमा नै ब्लक गरिएका मोबाइल सेटहरु, दर्ता नगरिएका मोबाइल सेटहरु तथा कसैले हराएको वा चोरी भएको भनी उजुरी दिएर प्रमाणित भएका मोबाइल सेटहरुलाई राखिने प्रवक्ता अर्यालले जानकारी दिए ।

प्राधिकरणले शंकास्पद मोबाइल सेटहरुलाई भने ग्रे लिस्टमा राख्नेछ । यस्तो लिस्टमा उजुरी परेका मोबाइल सेटहरुलाई राखिने छ र यसको ट्रयाकिङ्ग गरिनेछ । यस्ता सेटहरु निश्चित समयपछि ह्वाइट लिस्टमा वा ब्ल्याक लिस्टमा जानेछन् ।

ह्वाइट लिस्टमा रहेका मोबाइल ह्याण्डसेटहरु भने नेपालमा दर्ता भएका र रेकर्डमा रहेका मोबाइल सेटहरु हुनेछन् । यस्ता सेटहरु प्रयोगकर्ताहरुले सहजरुपमा प्रयोग गर्न खरिद बिक्री गर्नसक्नेछन् ।


पुष्प दुलाल