२९ हजार मेगावाट क्षमताका आयोजना निर्माणका चरणमा



काठमाडौं । मुलुकको कूल जलविद्युत् क्षमतामध्ये २८ हजार ८२३ मेगावाट क्षमताका विभिन्न आयोजना निर्माणका चरणमा रहेका छन् ।  जल तथा ऊर्जा आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकमा नेपालको जलविद्युत्को क्षमता ८२ हजार ८०० मेगावाट रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । कूल क्षमताको ४० प्रतिशत योजना निर्माणको विभिन्न चरणमा रहेका छन् ।

आयोगले नदी बेसिनका आधारमा जलविद्युत्को क्षमता मापन गरेको हो । पूर्ण प्रतिवेदन आउन अझै केही समय लाग्ने बताइएको छ । ऊर्जा मन्त्रालय मातहतकै विद्युत् विकास विभागले १३ हजार ९ सय ५० मेगावाट क्षमताको विभिन्न आयोजनालाई सर्वेक्षणको अनुमति दिएको छ । यस्तै विभागले चार हजार ४३० मेगावाट क्षमताका आयोजनालाई उत्पादन अनुमति दिएको छ ।

उत्पादन अनुमति दिइएका अधिकांश आयोजनामा निजी क्षेत्रको लगानी रहेको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंका अनुसार अझै ५ हजार मेगावाट क्षमताका आयोजना उत्पादन अनुमति लिने तयारीमा छन् । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता (पीपीए) का लागिसमेत प्रतीक्षामा रहेका ती आयोजना सहज वातावरण बन्नेबित्तिकै निर्माणमा जाने तयारीमा रहेका छन् ।

यस्तै सरकारको बास्केट फण्डमा ३ हजार २ सय ४० मेगावाट क्षमताका आयोजना छन् । ती आयोजनालाई सरकारले प्रतिस्पर्धाका आधारमा निजी ऊर्जा उद्यमीलाई निर्माणका लागि दिने गरेको छ । सरकारले अध्ययन गरेका आयोजनाको क्षमता १ हजार २ सय ९४ मेगावाट रहेको छ भने अध्ययन जारी राखेको आयोजनाको क्षमता ५ हजार ९ सय ९ मेगावाट छ । यी सबै आयोजनाको क्षमता २८ हजार ८ सय २३ मेगावाट रहेको छ ।  सरकारले आगामी १० वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भमा अध्ययन हुन बाँकी रहेका आयोजनाको तत्काल अध्ययन गरेर निर्माणका लागि तयारी गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

नदी बेसिनका आधारमा अध्ययन 

सरकारले विभिन्न नौवटा नदी बेसिनका आधारमा जलविद्युत् आयोजनाको क्षमता मापन गरेको छ । कमला, कन्काई, कोशी, वाग्मती, गण्डकी, राप्ती, बबई, कर्णाली र महाकाली नदी बेसिनलाई जलविद्युत् आयोजनाको क्षमताको उपलब्धताको हिसाबले अध्ययन गरिएको हो ।

ऊर्जा मन्त्रालयका अनुसार महाकाली नदी बेसिनमा छ हजार मेगावाट, कर्णाली, बबई र राप्ती नदी बेसिनमा २५ हजार मेगावाट, वाग्मती र गण्डकी नदी बेसिनमा २५ हजार मेगावाट तथा कोशी, कन्काई र कमला नदी बेसिनमा २५ हजार मेगावाट क्षमताका आयोजना रहेका छन् ।

प्रदेश नं ७ जलविद्युत्मा धनी 

संविधानप्रदत्त संघीय नेपालका सातवटा प्रदेशमध्ये प्रदेश नं ७ जलविद्युत्मा सबैभन्दा धनी छ । उक्त प्रदेशको विद्युत् उत्पादन क्षमता १८ हजार १ सय ४९ मेगावाट रहेको छ । देशको कूल जलविद्युत् क्षमतामध्ये २५ प्रतिशत प्रदेश नं ७ मा छ ।  यस्तै, प्रदेश नं २ को सबैभन्दा कम २ सय मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ । जलविद्युत् क्षमताका हिसाबले प्रदेश नं १ को १२ हजार ९ सय ५३ मेगावाट, प्रदेश नं ३ को १२ हजार ६ सय ३१, प्रदेश नं ४ को १० हजार २ सय २८, प्रदेश नं ५ को १४ हजार ३० तथा प्रदेश नं ६ को ११ हजार ८ सय ३ मेगावाट उत्पादन क्षमता रहेको छ ।

प्रदेश नं ४ अगाडि 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्रदेश नं १ मा हालसम्म २ हजार १ सय ३२ मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता भएको छ । विद्युत् खरिद सम्झौता भएका आयोजनाको हकमा प्रदेश नं ४ अग्रस्थानमा छ । सो प्रदेशको ३ हजार ३ सय ७३ मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता भएको छ ।

प्रदेश नं ३ मा २ हजार ८ सय ६१ मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता भएको छ । प्रदेश नं २ मा १८ मेगावाट क्षमताको एउटामात्रै आयोजनाको विद्युत् खरिद सम्झौता भएको छ । प्रदेश नं ५ मा ३६ मेगावाट, प्रदेश नं ६ मा ६ सय ४२ मेगावाट तथा प्रदेश नं ७ मा २ सय ४८ मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता भएको छ ।


क्लिकमान्डु