निक्षेपको लागत बढ्दा फाइनान्स कम्पनीको नाफा घट्यो



काठमाडौं । राष्ट्र बैंकले लिएको मर्जर तथा पुँजी बृद्धिको नीतिले कसैलाई प्रभाव पर्यो भने त्यो फाइनान्स कम्पनीलाई नै हो ।

कुनै बेला करिब ८० को संख्यामा रहेका फाइनान्स कम्पनी अहिले २५ वटामा झरेका छन् । अघिल्लो वर्षदेखि बैकिङ क्षेत्रमा सुरु भएको लगानी योग्य रकमको अभाव प्रभाव फाइनान्स कम्पनीमा अत्याधिक समस्यामा पारेको देखिन्छ ।

वाणिज्य बैंकहरुमा तरलता सहज हुँदापनि फाइनान्स कम्पनीको निक्षेप लागत त्यसै पनि बढी हुन्थ्यो । विगतमा वाणिज्य बैंकले ६ देखि ७ प्रतिशतसम्म निक्षेपमा ब्याजदर दिदा फाइनान्स कम्पनीले त्यसको दोब्बर ब्याजदर दिएका थिए । अहिले वाणिज्य बैंकले नै १० देखि १२ प्रतिशत ब्याजदरमा निक्षेप उठाउन थालेपछि त्यसको प्रभाव फाइनान्स कम्पनीमा परेको छ ।

पुँजीबृद्धिको नीतिले फाइनान्स कम्पनी टिक्न अत्याधिक नै मुस्किल भयो । फाइनान्स कम्पनीमा सहज पुँजी पुर्याउन सक्ने नारायणी नेशनल फाइनान्स सनराइज बैंकमै गाभियो ।

अहिले २५ वटा फाइनान्स कम्पनी संचालनमा छन् । जसमा अहिलेसम्म १६ वटा फाइनान्स कम्पनीको दोस्रो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक भएको छ ।

सार्वजनिक भएको वित्तीय विवरण अनुसार १६ वटा फाइनान्स कम्पनीले पुस मसान्तसम्ममा ४१ करोड १० लाख रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो वर्ष भने यी कम्पनीको नाफा ७८ करोड १७ लाख थियो ।

वित्तीय प्रतिवेदन प्रकाशित गरेका फाइनान्स कम्पनीमा सबैभन्दा बढी नाफा आइसिएफसी फाइनान्सले कमाएको छ । आइसिफएसी फाइनान्सले पुस मसान्तसम्ममा ७ करोड १८ लाख रुपैयाँ नाफा गरेको छ ।

वित्तीय विवरण सार्वजनिक भएका फाइनान्स कम्पनीमा प्रोग्रेसिभ फाइनान्स पुस मसान्तसम्ममा ८० लाख रुपैयाँले घाटामा गएको छ ।

फाइनान्स कम्पनीमा नाफा,निक्षेप,पुँजी सबै आधारले आइसिएफसी फाइनान्स अगाडि रहेको छ । आइसिएफसीको पुँजी ८८ करोड छ भने पुस मसान्तमा निक्षेप ७ अर्ब ५७ करोड तथा कर्जा ६ अर्ब प्रवाह गरेको छ ।

अघिल्लो वर्षको तुलनामा नाफा घट्ने फाइनान्स कम्पनीमा युनाइटेड,कुवेर मर्चेन्ट,श्री इन्भेष्टमेन्ट,गोर्खाज,मन्टीप्रपोज फाइनान्सको नाफा उल्लेखनिय रुपमा घटेको देखिन्छ । अघिल्लो वर्ष राइटब्याकबाट गोर्खाज र कुवेरको नाफा बढी भएपनि यो पटक भने यस्तो अवस्था छैन ।

वित्तीय विवरण प्रकाशित फाइनान्स कम्पनीको अवस्था रकम हजारमा

अरुको पनि निक्षेपको लागत अत्याधिक बढेको फाइनान्स कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख देखिन्छ ।

वित्तीय विवरण प्रकाशित गरेका फाइनान्स कम्पनीमा केही समय अगाडि समस्याग्रस्तबाट मुत्त भएका बेस्ट,अरुण र कुवेर मर्चेन्टको अवस्थापनि सुधार हुँदै गएको देखाएको छ ।

वाणिज्य बैंकहरुको कर्जा निक्षेप पुँजी अनुपात(सिसिडी रेसियो) ८० प्रतिशतको नजिक पुगेपनि फाइनान्स कम्पनीको भने ७२ प्रतिशत औसतमा सिसिडी रेसियो रहेको छ । यसले फाइनान्स कम्पनीले आक्रामक ढंगले कर्जा विस्तार नगरेको देखाएको छ ।

नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधर वाणिज्य बैंकको तुलनामा फाइनान्स कम्पनीमा तरलताको अवस्था सहज रहेको बताउँछन् । ‘नाफाको बृद्धिदरमा केही असर गरेपनि व्यवसाय विस्तार फाइनान्स कम्पनीले विस्तारै गरिरहेका छन्’,तुलाधरले क्लिकमाण्डूसँग भने ।

औसतमा ७२ प्रतिशतको सिसिडीमा बसेको हुँदा फाइनान्स कम्पनीले बजारको अवस्था हेरेर कर्जा प्रवाहमा जोड दिएको तुलाधर बताउँछन् ।

एक वर्षको अवधीमा फाइनान्स कम्पनीले १० अर्ब रुपैयाँ निक्षेप र ८ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।

पुस मसान्तसम्ममा १६ वटा फाइनान्स कम्पनीले ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने कर्जा प्रवाह ३८ अर्ब रुपैयाँ छ ।

एक वर्ष अगाडि निक्षेप ३४ अर्ब थियो भने कर्जा ३० अर्ब थियो ।


क्लिकमान्डु