कालिमाटीमा तरकारी पसलः सरकारी भाडा ३ हजार, १० हजार असुल्दै बिचौलिया



काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा सुरुमा एउटाले स्टल लिएको र पछि अर्कै ब्यक्तिलाईलाई भाडामा लगाएर कमिशन खाने घट्ना बढ्दै गएको छ ।

तर, कालिमाटी फलफूल तथा तरकारी बजारले भने एउटाले किनेको स्टल अर्को ब्यक्तिलाई भाडामा दिन नमिल्ने बताएको छ ।

कालिमाटी बजारको खुद्रा बजार भित्र बस्ने व्यवसायीहरुले आफ्नो ठाउँ अनुसार समितिलाई मासिक रुपमा स्टल, फोहोर र बत्तिको भाडा जोडेर मासिक प्रति स्टल ३ हजार देखि ५ हजार रुपैयाँ बुझाउँदै आएका छन् ।

स्टल नम्बर ४४ की अर्पना श्रेष्ठ आफुले बिमला खड्कासँग स्टल भाडामा लिएर बसेको बताउँछिन् ।

उनले यो पसल चलाएको केही महिना मात्र भएको छ । पसल लिनु अधि आफुले ३ महिनाको एक मुस्ट नगद सिदै पसल धनी बिमलालाई बुझाएको उनले बताईन । उनी अहिले स्टलको भाडा प्रतिमहिना १० हजार रुपैयाँका दरले खड्कालाई बुझाउँदै आएकी छन् ।

कालिमाटी फलफूल तथा तरकारी बजार समितिका अध्यक्ष तथा कृषि विकास मन्त्रालयका सहसचिव भने कालिमाटी बजार भित्र भएका स्टललाई कुनै व्यापारीले आफै व्यापार नगरी अन्य दोस्रो ब्यक्तिलाई भाडामा लगाउन नपाइने बताउँछन् ।

‘तरकारी बजार भित्र कुनै व्यवसायीले आफु बिदेश गए वा जानेभए भन्दै अरुलाई स्टल दिएर पैसा असुल गर्न पाउँदैनन्, यदि यस्तो भएको छ भने हामी छानबिन गर्ने र्छौ र कारबाही गर्छौ’ दाहालले क्लिकमाण्डुसँग भने ।

भाडा फरक फरक
१५ वर्षदेखि तरकारी व्यापार गर्दै आएकी २१ नम्बर स्टलकी एसोदा भण्डारी आफुले प्रतिमहिना ४ हजार रुपैयाँ समितिलाई बुझाउदै आएको बताउँछिन् ।

३२ नम्बर स्टलमा व्यापार गर्दै आएकी हिका सरीपुनले भने मासिक ३ हजारका दरले समितिलाई पैसा बुझाउँदै आएका छन् । कालिमाटीमा सुरक्षागार्ड रहेका उनको श्रीमान तरकारी बजारमा आगलागी हुँदा निधन भएको थियो । अहिले उनलाई समितिले नै बजार भित्र स्टल दिएको सरीपुनले बताइन् ।

२७ नम्बर स्टलका व्यवसायी जफुल मिया २० वर्षदेखि तरकारी व्यापार गर्दै आएका छन् ।

‘म कालिमाटी सुरु हुनु अघिदेखि नै यही वरिपरी तरकारी बेच्ने गर्थे, पछि सरकारीले कालिमाटी बजार व्यवस्थित बनाउने भन्दै सबैलाई स्टल दिएको हो, सुरुमा यहाँ बस्दा ५ रुपैयाँ टिकट लाग्थ्यो, पछि १० रुपैयाँ भयो अनी ३ सय रुपैयाँ हुँदै बढेर अहिले ३ हजार रुपैयाँ पुगेको हो’ मियाले भने ।

१७ नम्बर स्टलका अच्युत प्रसाद चापागाँई प्रत्येक महिना समितिलाई ३ हजार ६ सय रुपैयाँ बुझाउने गर्छन् भने, १४ नम्बर स्टलकी पवित्रा अधिकारी आफ्नो स्टलको भाडा प्रतिमहिना ३ हजार ३३ रुपैयाँ तिर्नु पर्ने भएपनि बत्ति र फोहोर गरेर ४ हजार रुपैयाँसम्म तिर्ने गरेको बताउँछिन् ।

२५ वर्षदेखि कालिमाटी बजारमै तरकारी व्यापार गर्दै आएका गुड्डु कालिमाटी बजारमा प्रतिमहिना ५ हजार रुपैयाँ बुझाउने गर्छन् ।


क्लिकमान्डु